
रिखिराम जिसी, पोखरा ।
नामः मनोज गुरुङ । वतनः दाङसिङ गाविस वडा नम्बर ७ कास्की । यो उनको एउटा परिचय हो । अर्को परिचय चाहिँ नाम केसर गुरुङ र ठेगाना पोखरा महानगरपालिका वडा नम्बर १ बगर छ । दुइटा फरकफरक नाम र फरकफरक ठेगानामात्रै होइन उनीसँग दुवैथरी नामबाट नागरिकता र पासपोर्ट पनि थिए ।
तर, जब एकैजना व्यक्तिका दुई/दुईवटा नागरिकता र राहदानी रहेको भेउ खुल्यो, तब उनी प्रहरी फन्दामा परे । कास्की जिल्ला अदालतको फैसलाअनुसार डेढ वर्ष जेल र १५ हजार जरिवानाको सजाय पनि भोगे । कारबाही स्वरुप सजाय भुक्तान गर्दासमेत हातमा एउटा पनि नागरिकता र राहदानी भएन । पहिलो प्रहरी अनुसन्धानका क्रममा खोसिएको थियो, दोस्रोचाहिँ अदालतले रद्द गरिदियो ।
दुवै नागरिकता र राहदानीविहीन भएका मनोजले पहिलोपटक बनाएको आफ्ना ती परिचयपत्र फिर्ता पाऊँ भनी अदालत नै गुहार्नुपर्यो । जिल्ला गुहार्दा फिर्ता हुन्न भन्ने आदेश आयो । अनि फेरि पुनरावेदन गर्दै उच्च गए । उच्चले चाहिँ बिहीबार मनोजका पहिलाका सक्कली नागरिकता र राहदानी फिर्ता गरिदिनू भनेर सम्बन्धित अधिकारीका नाममा आदेशसहितको फैसला सुनाएको छ ।
कास्कीका एक व्यक्तिले झुठा विवरण पेस गरी बनाएका नागरिकता र राहदानी रद्द भएपछि सक्कली फिर्ता लिन अदालतकै सहारा लिनुपरेको छ
गुरुङले २०५८ साउन १६ गते पहिलोपटक नागरिकता प्राप्त गरेका थिए । त्यसमा उनको जन्ममिति २०३८ माघ २८ थियो । ११७००७ नम्बरको नागरिकतामा ठेगानाचाहिँ दाङसिङ गाविस कास्की थियो । सोही नागरिकताका आधारमा उनले २०६३ साउन ७ गते पहिलोपटक ३१०८६६६ नम्बरको राहदानी लिए ।
गुरुङले पहिलो नागरिकता लिएको १२ वर्षपछि दोस्रोपटक नागरिकता लिएको प्रहरी अनुसन्धानले देखाएको छ । नाममात्रै होइन ठेगाना र जन्ममितिसमेत फरक थियो । गुरुङले २०७० फागुन ४ गते केशर गुरुङको नाममा नागरिकता लिए । ‘त्यसका लागि २०७० माघ २६ गते केशर गुरुङ नाम राखी जन्मदर्ता गराएका थिए,’ प्रहरी अनुसन्धानमा छ ।
त्यसपछि जन्ममिति २०५२ माघ २६ गते, जन्मस्थान पोखरा महानगरपालिका १ बगर र नाम केसर गुरुङ नाम राखेर ४६–०१–७०–०९२८३ नम्बरको नागरिकता लिए । उनले सोही नागरिकताको आधारमा दोस्रोपटक २०७० फागुन १२ गते राहदानी बनाए ।
प्रहरी अनुसन्धानका अनुसार उनले दोस्रोपटक नागरिकता र राहदानी बनाउनुको कारण उद्देश्य अमेरिका जाने उद्देश्य थियो । गुरुङले २०७५ सालमा नेपालस्थित अमेरिकी राजदुतावासमा प्रवेशाज्ञा (भिसा)का लागि कागजातहरु पेस गरे ।
दुतावासले उनका कागजातमा कैफियत शंका गर्यो । र नेपाल प्रहरीलाई जानकारी गरायो । प्रवेशाज्ञा आवेदन फारमको छायाँकपी लगायतको शैक्षिक प्रमाणपत्रहरुको छायाँकपीहरु अमेरिकी दुतावासले नेपाल प्रहरीलाई जानकारीसहितको पत्र पठायो । त्यसपछि प्रहरीले गुरुङलाई २०७५ वैशाख १८ गते अमेरिकी दुतावास अगाडिबाटै पक्राउ गर्यो ।
काठमाडौंमा पक्राउ परेको गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याएर अनुसन्धान गरियो । अनुसन्धानपछि जिल्ला अदालत कास्कीले झुठा विवरण पेस गरी दोहोरो नागरिकता र राहदानी लिएको भन्दै १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना गर्ने फैसला गरेको थियो ।
नागरिकता ऐन २०६६ को दफा २१ को ७ बमोजिम कसुर हुँदा दफा १२ बमोजिम गुरुङलाई २०७७ फागुन २५ गते सो सजायको फैसला गर्यो । उक्त फैसलाको विरुद्ध नेपाल सरकार र गुरुङ दुवैले उच्च अदालत पोखरामा पुनरावेदन गर्न गर्न निवेदन दिए । नेपाल सरकारले २०७८ कात्तिक २८ गते र गुरुङले २०७८ भदौ १३ गते उच्च अदालत पोखरामा निवेदन दिए ।
२०७९ कात्तिक २९ गते उच्च अदालतबाट जिल्ला अदालतको आदेश परिवर्तन गर्दै ६ महिना कैद र १० हजार जरिवानाको फैसला सुनायो । झुठा कागजात पेस गरी लिएको नागरिकता र राहदानी रद्द हुने फैसला उच्च अदालतले गर्यो ।
गुरुङ पुन जिल्ला अदालत कास्कीमा सक्कल नागरिकता र राहदानी फिर्ता माग गरी निवेदन दिए । तर, जिल्ला अदालतले २०७९ पुस १ गते दिन नमिल्ने भन्दै फैसला गर्यो । उक्त फैसलाको विरुद्ध गुरुङले उच्च अदालत पोखरामा यही माघ १६ गते निवेदन दिए ।
उच्च अदालत पोखराले बिहीबार जिल्ला अदालत पोखराको फैसला बदर गर्दै पहिलो नागरिकता र राहदानी दिन आदेश दिएको जानकारी अदालतका उपरजिस्ट्रार विष्णुप्रसाद आचार्यले दिए । न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले गुरुङलाई नागरिकता र राहदानी फिर्ता गर्न आदेश दिएको हो ।
‘अब निजलाई साविक मिति २०५८ साउन १६ मा लिएको निजको नाउँको नागरिकता र मिति २०६३ साउन ७ मा लिएको निजको नाउँको राहदानी कानुनको निजको रित पुर्याई फिर्ता दिई कानुन बमोजिम गर्नुहोला,’ आदेशमा भनिएको छ ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्
तपाईको प्रतिक्रिया