बागलुङको निसीखोलामा आठ झोलुंगे पुल थपिँदै

राष्ट्रिय समाचार समिति (रासस) २०७९ फागुन ४ गते १६:२६

ढोरपाटन ।
बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९/८० मा आठ झोलुंगे पुल बन्दै छन् । अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुंगे पुल निर्माण गरिएका थिए ।

संघीय सरकारको ८७ तथा निसीखोलाको १३ प्रतिशत लगानीमा आठ पुल निर्माण गर्न लागिएको गाउँपालिकाका इन्जिनियर समुन्द्र शाहीले जानकारी दिए। “आगामी असार मसान्तसम्म सबै पुल निर्माण सम्पन्न हुनेछन् ।” वडा नं १ को सेलाखेतघाट र आठबारेघाट, वडा नं ७ को खनिबास–राजकुट कुँडुला जोड्ने, वडा नं ४ र ५ जोड्ने कारीखोला, वडा नं ५ को यारीखोला, वडा नं ६ मगरघाटखोला, वडा नं ३ को गतारेघाट तथा वडा नं २ र ३ जोड्ने गरी खग्रेनीघाटमा पुल निर्माण गरिँदै छ,” उनले भने ।

स्थानीय प्रेमबहादुर कुँवरले पुल नहुँदा स्थानीयले समस्या भोग्नुपरेको बताए । पुल बनेपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य हुने छ । “स्कूल पारी छ, खोला नतरेसम्म त्यहाँ पुग्न सकिन्न, केटाकेटीलाई स्कूल पठाउनै डर छ”, उनले भने।

Advertisement

अघिल्लो वर्ष निसीखोलाको–६ को सेबाङघाट, सरिटारघाट, चुसाङघाट र वडा नं ७ को कुतखोलाघाट, वडा नं ३ र ४ जोड्ने ढुवाँखोरघाट पुल, वडा नं १ को माराघाट तथा वडा नं २ धौलेघाटमा पुल निर्माण गरिएको थियो । दुई करोड पाँच लाखको लागतमा ती पुल निर्माण गरिएका गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । यस वर्ष तीन करोड ६४ लाखको लागतमा आठ पुल निर्माण भइरहेका छन् ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया