टप्स स्कुलले जित्याे राष्ट्रपति रनिङ सिल्ड

समाधान संवाददाता २०७९ फागुन १० गते ११:०५

पोखरा ।
राष्ट्रपति रनिङ सिल्ड तथा तृतीय मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०७९ को उपाधि टप्स बोर्डिङ स्कुलले उचालेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगितामा कुल ७ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित टप्स च्याम्पियन बनेको हो । टप्सले कुल १३ पदक हासिल गरेको समितिका सदस्य सचिव सुवास खड्काले बताए ।

सैनिक आवासीय मावि ५ स्वर्ण, ४ रजत र ११ कास्यसहित द्वितीय स्थानमा रह्यो । सैनिकले कुल २० पदक हात पार्‍यो । सहिद स्मृति मावि ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित तृतीय भयो । सहिद स्मृतिले कुल ११ पदक पायो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत छात्रछात्राका खेल भएका थिए ।

एथलेटिक्समा टप्सले ७ स्वर्ण, १ रजत र ४ कास्य हासिल गर्‍यो । सैनिकले ५ स्वर्ण ४ रजत र ६ कास्य हासिल गर्दै द्वितीय भयो । त्रिवेणी पब्लिक २ स्वर्णसहित तृतीय हुँदा कास्की मोडनाइज ४ रजत र २ कास्यसहित सान्त्वना भएको खेलकुद विकास समितिले जनाएको छ ।

Advertisement

कराँतेमा शितलादेवी मावि २ स्वर्ण, १ रजतसहित प्रथम भयो । न्य ुमिलिनियम एकेडेमी २ स्वर्णसहित द्वितीय र शिवशक्ति मावि १ स्वर्ण, १ रजत र ३ कास्यसहित तृतीय बन्यो । उसुतर्फ कालिका २ स्वर्णसहित पहिलो भयो । थ्रिएन्जल्स र ग्लोबल कलिजियट समान १ स्वर्णका साथ क्रमशः द्वितीय र तृतीय स्थानमा रहे । उसुमा समान पदक भएपछि अंकका आधारमा द्वितीय र तृतीय छुट्याइएको हो ।

तेक्वान्दोमा ४ स्वर्ण र १ रजतसहित सहिद स्मृति प्रथम भयो । १ स्वर्ण, १ रजत र १ कास्यसहित सैनिक द्वितीय र १ स्वर्णसहित अमरसिंह तृतीय भए । भलिबलको छात्रातर्फ युनिभर्स प्रथक, राष्ट्रिय मावि द्वितीय र स्पाइरल ग्यालेक्सी तृतीय भए । छात्रातर्फ शान्ता मावि प्रथम, जनप्रिय मावि द्वितीय र कन्या मावि तृतीय बने ।

Advertisement

कबड्डी छात्रातर्फ बेथानी प्रथम, कालिका द्वितीय र भवानी मावि तृतीय भए । छात्रातर्फ गौरीशंकर प्रथम, सहिद स्मृति द्वितीय र रामेश्वरी मावि तृतीय भए । प्रतियोगितामा ३० विद्यालयका १ हजार ६ सयभन्दा बढी खेलाडी सहभागी थिए । मंगलबार समारोहमा पोखरा महानगरका मेयर धनराज आचार्यले विद्यालय स्तरमै खेलकुद विकास गर्न नसके खेलकुद क्षेत्रअघि बढ्न नसक्ने बताए ।

महानगरपालिकाले गर्ने खेलकुद प्रतियोगिताको वार्षिक क्यालेन्डर बनाइने उनले बताए । ‘वर्षभर हुने खेलकुदका हामी क्यालेन्डर बनाउँछौं । त्यसले परीक्षामा पनि असर पर्दैन । कुन खेल कहिले हुन्छ भन्ने थाहा पाएर तयारी गर्न पनि सजिलो हुन्छ,’ मेयर आचार्यले भने ।

खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलकुदलाई व्यावसायिक बनाउन विद्यालय तहमै विद्यार्थीलाई उत्प्रेरित गर्न महानगर सक्रिय रहेको बताए ।

तपाईको प्रतिक्रिया