२ महिने हिउँदे बिदा पछि खुले मुस्ताङका विद्यालय

सुन्दरकुमार थकाली २०७९ फागुन १० गते १६:२३

जोमसोम ।
मुस्ताङका विद्यालय फागुनदेखि खुलेका छन् । बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय दुई महिना लामो हिउँदे बिदापछि पठन/पाठन संञ्चालन गरिएको हो ।

हिउँदयाममा मुस्ताङका विद्यालयलाई दुई महिना बिदा दिने गरिन्छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गत विद्यालय भने हिउँदयाममा साविक स्थान छोडेर पोखरामा घुम्ति कक्षा संञ्चालन गरी पठन/पाठन नियमित राख्छन् । हिउँदयामको पुस र माघ महिनामा हिमपात र अत्यधिक चिसो हुँने भएकाले विद्यार्थीलाई लामो हिउँदे बिदा दिने चलन छ ।

मुस्ताङमा ३४ सामुदायिक विद्यालय र केही गुम्बा विद्यालय छन् । जसमध्ये घरपझाङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका २४ वटा विद्यालय मध्ये २२ वटा सामुदायिक विद्यालयको शैक्षिक पठन/पाठन दुई महिनापछि सुरु गरिएको हो ।

Advertisement

बारागुङ मुक्तिक्षेत्रको जननर्मल माध्यमिक छुसाङ र लुप्रा आधारभुत लुप्रा भने घुम्ति कक्षाका लागि पोखरामा रहेको गाउँपालिकाकी प्राविधिक सहायक रेखा पन्तले बताइन् । ३ स्थानीय तहका १२ सामुदायिक विद्यालय घुम्तिका लागि पोखरामा छन् ।

मुस्ताङको थासाङ गाउँपालिकामा फागुन १ गते शैक्षिक पठन/पाठन सुरु गरिएको छ। बारागुङ मुक्तिक्षेत्रमा फागुन ८ गते र घरपझोङ गाउँपालिकामा फागुन १० गते देखि शैक्षिक पठन/पाठन संञ्चालनमा आएको शिक्षा विकास तथा समन्वय ईकाईका सूचना अधिकारी चन्द्रसिंह विकले जानकारी दिए । उनका अनुसार त्यसबाहेक जाडो छल्न बेसी झरेका घुम्ती विद्यालय भने वैशाख महिनामा साविककै स्थानमा शैक्षिक पठन/पाठन सञ्चालन हुँनेछ ।

Advertisement

मुस्ताङमा हिउँदे बिदा दिईएका विद्यालयले चालु आर्थिक वर्षको शैक्षिक सत्रको परीक्षा विद्यालय बन्द हुनु अगावै सकेका थिए। हिउँदे बिदापछि उनीहरुले नयाँ शैक्षिक सत्रको पठन/पाठनको तयारी भईरहेको र नयाँ भर्ना अभियान सुरु गरिएको घरपझोङ गाउँपालिकाका शिक्षा शाखा अधिकृत हिमलाल शर्माले जानकारी दिए। मुस्ताङका सामुदायिक विद्यालयमा ३ हजार ८७५ जना विद्यार्थी छन् ।

मुस्ताङमा दुई महिना लामो हिउँदे बिदाका लागि ४५ दिन वार्षिक बिदा र १५ दिन सट्टा बिदा गरी कुल ६० दिन विद्यालयको शैक्षिक पठन/पाठन स्थगित गरिने गरिन्छ।

हिउँदयाममा मुस्ताङका अधिकांश बुद्धिष्ट गुम्बा विद्यालयपनि जाडो छल्न बेसीमा छन्। घुम्तीमा झरेका घुम्ती गुम्बा विद्यालय पनि वैशाख लागेपछि साविककै स्थानमा पठन/पाठन सुरु गरिने बताइएको छ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया