सम्पादकीयः राष्ट्रपतिको रेस

समाधान संवाददाता २०७९ फागुन ११ गते १२:००

देशको मर्यादाक्रममा राष्ट्रपति एक नम्बरमा छन् । अब २५ गते नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदै छ । आलंकारिक मानिएको यो पदमा आफूलाई सहज हुने पत्र पुर्‍याउन दलहरु अनेक चलखेलका व्यस्त छन् । यही १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता हुँदै छ । अहिले सत्ता गठबन्धन र विपक्षी कांग्रेस र मधेसवादी दलहरु समेत यो दौडमा छन् । पूर्वप्रधानमन्त्रीहरू पनि राष्ट्रपतिको दौडमा देखिएका छन् । राष्ट्रपति पदकै कारण दुई महिनाअघि बनेको सत्ता समीकरणसमेत धर्मरमा परेको छ ।

अझै निर्णायक दलहरू राष्ट्रपतिका उम्मदेवारका हकमा निर्णयमा पुगेका छैनन् । कसलाई बनाउँदा आफू अनुकूल होला भन्ने अनुमान गरिरहेका छन् । राष्ट्रपति जस्तो मर्यादित संस्थामा दलहरूले कठपुतली वा रबर स्टाम्प जस्तो व्यक्ति खोजेको देखिन्छ । राष्ट्रिय एकताको प्रतीकका रूपमा रहने र संविधानको संरक्षक बन्ने राष्ट्रपति सबैको स्वीकार्य व्यक्तित्व हुनुपर्छ । मुलुककै स्वार्थ निम्ति निर्णय दिन सक्ने र विवेक प्रयोग गर्ने व्यक्तित्व चुन्नुपर्छ ।

विगतमा नेपालका राष्ट्रपति संविधानका संरक्षक बन्न नसकेको कतिपयको गुनासो छ । त्यो संस्था प्रयोग गरी कहिले कुनै दलले त कहिले अर्काे दलले फाइदा लिए । राष्ट्रपतिको राजनीतिक पृष्ठभूमिकै कारण संस्था विवादित बनेको र विवादित खालका निर्णय भएको कतिपयको भनाइ छ । राष्ट्रपति संविधान र कानुनतः सञ्चालित भएको भए, यस्तो अवस्था आउने थिएन ।

Advertisement

गएका कार्यकालमा दलीय झगडा या दलभित्रको आन्तरिक विवादमा राष्ट्रपति कार्यालय प्रयोग भएकै देाियो । यसले सम्मानित राष्ट्रपति संस्थाकै कद घटाएको छ । राष्ट्रपति चयनमा दलहरूले तत्कालको फाइदा नभई दीर्घकाललाई विचार गर्नुपर्छ ।
राष्ट्रपति बनेपछि राजनीतिक व्यक्तिले पनि स्वतन्त्रतापूर्वक निर्णय लिन सक्दै नसक्ने होइनन् ।

तर, नेपाल त्यो स्तरका व्यक्तित्व देखिएका छैनन् । अहिले संविधान कार्यान्वयनकै चरणमा छ, संविधानतः निर्माण हुनुपर्ने कतिपय अझ कानुन बनिसकेका छैनन् । मुलुकमा अनेक खाले समस्या छन्, ती समस्याको निकास निम्ति बाधक बन्न सक्ने र कुनै दल वा नेताबाट सञ्चालित हुन सक्ने राष्ट्रपति अब बनाइनु हुँदैन । मुलुककै हितमा विवेक र निर्णय गर्न सक्ने व्यक्तित्व चाहिन्छ ।

Advertisement

राष्ट्रपतिले हस्तक्षेपकारी होइन कि सहयोगी भूमिका देखाउन सक्नुपर्छ । विगतमा राष्ट्र प्रमुखको रुपमा रहेका राजा दोस्रो जनआन्दोलनबाट हटेका छन् । अहिले दलहरुको खिचातानीले कतिपयले राजा नै ठीक भन्न थालेका छन् । गणतन्त्रको शैशव कालमै राजतन्त्र ठीक भन्ने अवस्था आउनु नेपालको भविष्यका लागि राम्रो संकेत होइन ।

राष्ट्रपति देशको अभिभावक बन्न सक्ने, विवेकसम्मत निर्णय लिन सक्ने व्यक्तित्वलाई बनाउन जरुरी छ । जनताको नाममा सत्तामा पुगेका दलहरु अनुकूलका पात्रलाई पदमा लैजाने, नियुक्ति दिने, सरकार बनाउने र गिराउने खेलमा लाग्नुभन्दा देशको समृद्धि र जनताको हितमा दत्तचित्त हुनु आवश्यक छ ।

तपाईको प्रतिक्रिया