कोरलामा पूर्वाधार बनाउने तयारी

सुन्दरकुमार थकाली २०७९ फागुन १७ गते १०:३९

जोमसोम ।
तिब्बत र नेपालतर्फको उत्तरी कोरला नाकाको सीमा क्षेत्रमा संरचना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सर्भे सुरु भएको छ । उत्तरी चीनसँग व्यापारिक नाका खोल्ने उद्देश्यले कोरलामा आवश्यक संरचना निर्माण गर्न डिपिआर थालिएको हो ।

नेपाल उद्योग वाणिज्य मन्त्रालय, आपूर्ति मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गत कोरला नाकामा भन्सार, सुख्खा बन्दरगाह, अध्यामगन, सुरक्षा पोस्ट, क्वारेन्टाइन लगायतका संरचना निर्माण गर्न सरकारले डिपिआर निर्माणका लागि १ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।

कोरला नाकाको दश गजा क्षेत्रमा भन्सार तथा सुख्खा बन्दरगाह लगायतका भौतिक संरचना निर्माणको डिपिआर निर्माणको जिम्मा सितारा इइटुसिप फुल राइट जेभीले लिएको इन्जिनियर टीकाबहादुर कोइरालाले जानकारी दिए ।

Advertisement

कोरला नाका डिपिआरका लागि टोली अहिले फिल्डमा खटिएको छ । टोलीमा कम्पनी डाइरेन्टर कमलप्रसाद तिमिल्सिना, इ ओमकृष्ण महर्जन, मेकानिकल इन्जिनियर रोशन थापा, निशा श्रेष्ठ, अर्वान प्लानर, स्टक्चर इन्जिनियर डा. रेखा श्रेष्ठ, ट्रान्सफरेसन इन्जिनियर श्रीराम ढकाल, सिभिल इन्जिनियर टीकाबहादुर कोइराला लगायत छन् ।

जग्गा प्राप्ति भएको ३ वर्षपछि नेपालतर्फ पूर्वाधार निर्माणका लागि डिपिआर सुरु

Advertisement


टोलीले कोरला नाकामा रहेर २ महिनासम्म त्यहाँको भौगिोलिक अवस्था, माटो परीक्षण, संरचना लगायतको सर्भे गर्ने सिभिल इन्जिनियर कोइरालाले बताए । ‘हामीले कोरला पुगेर काम सुरु गर्न थालिसकेका छौं, २ महिनासम्म यही बर्सेर अध्ययन गर्छौं । त्यसपछि फर्किएर कोरला नाकामा संरचना निर्माणको विस्तृत प्रतिवेदन तयार गर्न थाल्नेछौं ।’

उनले जति सक्दो छिटो डिपिआर तयार गरी मन्त्रालयलाई हस्तान्तरण गरिने सुनाए । हिउँद यामको चिसो सकिनै लाग्दा कोरला नाकामा डिपिआर अध्ययन सुरु भएको हो । अध्ययन टोलीले आगामी आर्थिक वर्षको पुस मसान्तभित्र डिपिआर तयार गरी सरकारलाई बुझाउने कम्पनी डाइरेन्टर कमलप्रसाद तिमिल्सिनाले बताए ।

डिपिआर गर्ने प्राविधिक टोलीसँग सीमावर्ती क्षेत्र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ, लोघेकर दामोदरकुण्डका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टसहित वडाध्यक्षहरु समेत फिल्डमा छन् । जनप्रतिनिधिसँग सहकार्य गरी डिपिआर गरिने स्टक्चर इन्जिनियर डा. रेखा श्रेष्ठले जानकारी दिइन् ।

लोमान्थाङका अध्यक्ष टसी नर्बु गुरुङले चीनसँग व्यापारिक मार्ग विस्तार गर्ने सरकारको लक्ष्य अनुसार सडकसँगै संरचना निर्माणको डिपिआरसुरु भएको बताए । उनले डिपिआर सुरु हुँदा स्थानीयमा उत्साह पैदा भएको सुनाए । लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष बिष्टले डिपिआर फाइनल भई सरकारलाई हस्तान्तरण भएमा भन्सार, सुख्खा बन्दरगाह लगायतमा बजेट बिनियोजन गर्न सहज हुने अपेक्षा गरे ।

कोरला नाकामा भन्सार, सुख्खा बन्दरगाह, सुरक्षा पोस्ट आदि निर्माणका गर्न १ हजार रोपनी पर्ति जग्गा सरकारको नाममा दर्ता भइसकेको छ । स्थानीय जग्गा सिफारिस समिति, मालपोत, नापी र स्थानीय तहको पहलमा कोरला पूर्वाधारका लागि ३ वर्षअघि नै जग्गा प्राप्ति भइसकेको हो ।

भारतीय नाकाबन्दीपछि तत्कालीन सरकारले चीनसँगको व्यापारिक मार्ग विस्तार गर्ने दीर्घकालीन लक्ष्य अनुसार बेनी जोमसोम कोरला सडक आयोजना सुरु गरेको हो । आयोजना अन्तर्गत अहिले कुल भौतिक प्रगति ७० प्रतिशत छ । बेनी–जोमसोम ४ खण्ड र जोमसोम कोरला ७ खण्डमा सडक निर्माण भइरहेको छ ।

आयोजना अन्तर्गत गत वर्षदेखि मालढुंगा बेनी १३ किमी, बेनी गलेश्वर ३ किमी र जोमसोम कागबेनी १३ किमी कालोपत्र सडकका योजना थपिएका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया