म्याग्दीमा पहिलाे पटक लिग फुटबल

राकेश शर्मा २०७९ फागुन १९ गते १०:४६

म्याग्दी ।
म्याग्दीमा पहिलोपटक लिग फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । म्याग्दी कप फुटबल व्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल संघ म्याग्दीको सहआयोजनामा सुपर लिग फुटबल प्रतियोगिताको आउँदो चैत १ देखि १० गतेसम्म खुल्ला मञ्च बेनीमा प्रतियोगिता हुने भएको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा समिति अध्यक्ष बिक्रम सुवेदीले जिल्लाभित्रका फुटबल प्रतिभाको पहिचानमा समेत सघाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएकोे बताए । प्रतियोगितामा म्याग्दीका ८ र छिमेकी पर्वत जिल्लाका २ क्लबलाई सहभागिताका लागि निमन्त्रणा गरिएको उनले बताए ।

‘फुटबल खेलाडीलाई यो अवसर हो । अब नियमित लिग खेलको वातावरण बन्दैछ,’ अध्यक्ष सुवेदीले भने, ‘प्रतियोगितामा एउटा क्लवले बाहिरी जिल्लाका ३ खेलाडीलाई सहभागी गराउन पाइनेछ । एउटा क्लबले लिग चरणका ४ खेल खेल्न पाउनेछ ।’

Advertisement

बेनी नगरपालिकाका कार्यपालिका सदस्य एवं जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष कृष्णकुमार विश्वकर्माले लिग प्रतियोगिता जिल्लाको फुटबल क्षेत्रमा कोशेढुंगा सावित हुने दाबी गरे । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्यताका लागि समेत अव तीव्र गतिमा काम हुने उनले बताए ।

प्रतियोगिताका कुल १० लाख आर्थिक संकलन गरी प्रतियोगिताको समापनलगत्तै अर्को पटकको आयोजकलाई खेलबाट बचत भएको आर्थिकसहित जिम्मेवारी हस्तान्तरण गरिने विश्वकर्मा जनाए । प्रतियोगिताको विजेताले १ लाख १५ हजार र उपविजेताले ७० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Advertisement

उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलरक्षकलाई ७ हजार ५ सय, सर्वाधिक गोलकर्तालाई ७ हजार ५ सय, उत्कृष्ट युवा खेलाडीलाई ५ हजार, अनुशासित टिमलाई १० हजार र ट्रफी प्रदान गरिने जिल्ला फुटबल संघ म्याग्दीका सचिव कुमार बानियाँले बताए ।

प्रतियोगिताका हरेक खेलमा म्याद अफ दी म्याच घोषित खेलाडीले २ हजार प्रदान गरिनेछ । प्रतियोगितामा प्रति क्लब दर्ता शुल्क २० हजार र धरौटी २ हजार निर्धारण गरिएको आयोजकले जनाएको छ ।

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया