तेस्रो क्रस कन्ट्री दौड कोल्मामा
पोखरा ।
स्याङ्जाको कोल्मामा फागुनको २६ गते तेस्रो संस्करणको क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।
‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने नाराका साथ कोल्मा क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चका अध्यक्ष सुवेदार मेजर जीतबहादुर गुरुङले बताए ।
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ९ को कोल्मा बहाकोटसहित, तनहुको शुक्लागण्डकी र बिरुवा गाँउपालिकालाई समेटेर उक्त क्षेत्रमा रहेको सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।
अध्यक्ष गुरुङले ग्रामीण भेगमा आर्थिक विकास गर्न सकेको खण्डमा गाँउ, बस्ती रित्तिनबाट जोगिन सक्ने बताए । दौडसँगै स्थानीय कला, संस्कृति प्रदर्शन र होमस्टे साँझसमेत उक्त कार्यक्रममा समेटिनेछ ।
२० किलो मिटर खुला पुरुष र २१ वर्ष मुनिका १० किलोमिटर पुरुष गरी २ विद्यामा सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागीले कोल्मा बराहचौरदेखी, काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, तनहुको शुक्ला गण्डकी नगरपालिका ११ बिसाउना, विरुवा गाउपालिकाको खुदी, मड्किना हुँदै कोल्मा बराहचौरमा पुग्नुपर्नेछ ।
प्रतियोगितामा खुला पुरुषतर्फ प्रमथ हुनेले नगद ३५ हजार, दोस्रोले नगद २५ हजार र तृतीय हुनेले नगद २० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । २१ वर्ष मुनिको पुरुष १० किलोमिटर दौडतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश नगद १५ हजार, १० हजार र ७ हजारका साथमा मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा १० औ स्थानसम्म आउने प्रतियोगीलाई मेडल र प्रमाणपत्र दिइने मञ्चका महासचिव मनबहादुर थापामगरले जानकारी दिए ।
अघिल्लो संस्करणको ३१ किलोमिटर खुला पुरुषतर्फ नेपाली सेनाका हवलदार राजन खत्रीले उपाधि चुमेका थिए भने १४ किलोमिटर दौडमा कलमप्रसाद श्रेष्ठ प्रथम बनेका थिए । कार्यक्रममा एनआरएन युके र विदेशमा रहेका कोल्मा बहाकोट चारथुमबासी, स्थानीय संघ, संस्था, युवा क्लब, आमा समस्ह, स्थानीय सरकार, स्वयंसेवक एवं सुरक्षाकर्मीको विशेष सहयोग रहने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया