‘यो पुल कहिले बन्छ ?’

५ वर्षमा पनि काम नसक्ने ठेकेदार कम्पनीलाई असारसम्म म्याद थपिएको छ

रिखिराम जिसी २०७९ फागुन २२ गते १०:२०

रिखिराम जिसी, पोखरा ।
पुलको बायाँपट्टि लेखिएको छ–पुल साँघुरो छ, विस्तारै जानुहोस् । दायाँपट्टि लेखिएको छ –यो पुल कहिले बन्छ ? पोखरा–बागलुङ राजमार्ग अन्तर्गत जिरो–हरिचोक सडक ६ लेनको बनेको वर्षौं भइसक्यो । तर, सोही सडक खण्डको फिर्केपुल भने २ लेनमै सीमित छ ।

पुल निर्माणका लागि सम्झौता गरेको ५ वर्ष बितिसक्दा पनि निर्माण नभएपछि युवा जनस्वयंसेवक, नेपाल कास्कीले विरोध स्वरुप पुलको दायाँपट्टि ‘यो पुल कहिले बन्छ’ लेखेको कालो ब्यानर टाँसेको छ । ६ लेनको सडकमा २ लेनको पुलबाट ओहोरदोहोर गर्न सावधानी अपाउन भनेर ‘पुल साँघुरो छ, विस्तारै जानुहोस्’ लेखिएको बोर्ड राखिएको छ ।

जिरोकिमीदेखि हरिचोकसम्मको सडक खण्ड स्तरोन्नति गरी ६ लेनको बनाएपछि मोटरसाइकल र गाडीहरुको गति बढेको छ । जसै फराकिलो सडकमा गाडी र बाइक तीब्र गतिमा हुइँकिन्छन्, फिर्के पुलमा आउँदा कतिपयले नियन्त्रण गुमाउँछन् । त्यसरी नियन्त्रण गुमाएर भएका दुर्घटना यात्रुको ज्यानै जानेसम्मका घट्ना भएका छन् । पैदलयात्रीलाई ओहोरदोहोर गर्नसमेत उत्तिकै सकस छ ।

Advertisement

उक्त पुल बनाउन साढे ५ वर्षअघि नै सम्झौता भएको थियो । २०७७ चैत ३० गतेसम्म पुल निर्माण सक्ने गरी ठेक्का पाएको लक्ष्यशान्ति आरोग्य जेभी सानेपा, ललितपुरले साढे ५ वर्ष बितिसक्दा पनि पुल निर्माण पूरा गरेको छैन । निर्माण कम्पनीले काम नगर्दा पुल निर्माणमा ढिला भएको सडक डिभिजन कार्यालय कास्कीका सूचना अधिकारी इन्जिनियर उज्वल शर्माले बताए ।

‘७५ सालमै निर्माणको जिम्मा दिएका हौं, निर्माण कम्पनीले सुरुको केही समय कोरोना भाइरस र मुआब्जाको कारण देखाउँदै काम रोक्यो,’ इन्जिनियर शर्माले भने, ‘सुरुका केही समय जग्गा प्राप्तिका लागि मुआब्जा दिने काम भयो, मुआब्जा वितरण गरियो । तर, निर्माण कम्पनीले काम नगर्दा पुल निर्माण हुन सकेन ।’

Advertisement

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नारायणकाजी श्रेष्ठले फागुन ५ गते मात्रै पुलको स्थलगत निरीक्षण गर्दै निर्माण कम्पनीका प्रतिनिधिलाई म्यादभित्रमा पुल सम्पन्न गर्न निर्देशन दिएका थिए । ‘तपाईंले भनेको कुरा रेकर्ड छ । तपाईंले हुन्छ, छिट्टै सक्छु भन्नुभएको छ, समयभित्रै सक्नुहोला,’ मन्त्री श्रेष्ठले निर्माण व्यवसायीका प्रतिनिधि सुमन पौडेललाई सचेत गराउँदै भएका थिए ।

सम्झौता भएको ५ वर्षसम्म पुलको २५ प्रतिशतमात्र निर्माण भएको छ । साढे २ वर्षमा पुल निर्माण सक्ने गरी सम्झौता भएको पुल ५ वर्षवितिसक्दा पनि आधा पनि काम हुन सकेको छैन । हालसम्म पुल निर्माणको काम २५ प्रतिशतमात्र पूरा भएको इन्जिनियर उज्ज्वल शर्माले बताए । ‘कम्पनीलाई बारम्बार पत्रचार गर्‍यौं, ताकेता गर्‍यौं तर, पनि काम हुन सकेन, ५ वर्षबितिसक्दा पनि २५ प्रतिशतमात्र काम भएको छ,’ उनले भने ।

निर्माण कम्पनीलाई चालु आर्थिक वर्षको असार मसान्तसम्मलाई म्याद थप गरिएको सूचना अधिकारी शर्माले बताए । ‘काम एकदमै सुस्त भएको छ । हामीले कम्पनीलाई पत्राचार गर्ने, ताकेता गर्ने काम गरिरहेका छौं,’ उनले भने, ‘अन्तिमपटक निर्माण कम्पनीका सञ्चालक आएर गर्छाैं भनेर भनिसकेपछि चालु आर्थिक वर्षको असारमसान्तसम्मको म्याद दिएका छौं ।’

कम्पनीलाई निरन्तर पत्राचार र ताकेता गरिरहेकाले केही समयमा काम नहुने देखिए ठेक्का रद्दको प्रक्रियामा जाने सडक डिभिजन कार्यालय कास्कीका इन्जिनियर सहनशिला कायस्थले बताइन् । ‘१/२ महिना हेर्छाैं, गर्ने देखियो भने केही समय म्याद थप गरेर नि जान्छांै,’ उनले भनिन्, ‘गरेन भने, नहुने जस्तो देखियो भने ठेक्का रद्द गर्ने प्रक्रियामा जान्छौं ।’

शान्ति आरोग्य जेभीका प्रतिनिधि सुमन पौडेलले भने मुआब्जाका कारणले पुल निर्माण ढिला भएको बताए । मुआब्जाका कारण पुल बनाउन ढिलो भएको हो, गत असोजमा मुआब्जाको काम सकेका छौं, अहिले काम भइरहेको छ, आउँदो दसंैसम्म एक साइड बनाउने गरी काम गरिरहेका छौं,’ पौडेलले भने ।

पुलका लागि देश बाहिरबाट सामान ल्याउँदा समय लागेको पौडेलले बताए । उनले भने, ‘जुन डिजाइनमा पुल बनाउँदै छौं, त्यो नेपालकै पहिलो हो, हामीले पनि अध्ययन गर्नुपर्छ, बाहिरबाट सामानहरु ल्याउँदा समय लागेको हो, सामान आइसकेको छ, अब निरन्तर काम हुन्छ ।’ पुल निर्माणका लागि २०७५ असोज ८ गते शान्ति आरोग्य जेभी सानेपा, ललितपुरले १२ करोड ३२ लाख २६ हजार १७६ रुपैयाँमा जिम्मा लिएको हो ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया