श्रीमानकाे सम्झनामा वाङ्मय सेवा

समाधान संवाददाता २०७९ फागुन २२ गते ११:३६

पोखरा ।

पोखरा ६ बैदाम निवासी रीता न्यौपाने पहारी पोखराले सधैं सम्झनुपर्ने आदर्श नारी पात्र हुन् । उनले आफ्ना श्रीमान् शिक्षासेवी एवं साहित्यकार हेमराज पहारीको सम्झनामा प्रतिष्ठान मात्रै जन्माइनन्, १ लाख राशिको साहित्यिक पुरस्कार स्थापना गरिन् । हरेक २ वर्षमा एकपल्ट यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।

भनिन्छ– जीवन अनित्य छ, क्षण भंगुर छ अनि अकल्पनीय पनि । यस्तै नियति भोग्नुपर्‍यो रीताले । विसं. २०६६ साल फाल्गुन १७ गते हेमराजको अकल्पनीय एवं अप्रत्यासित रूपमा मृत्यु भयो । यस घटना भएको प्रथम वार्षिकीमा श्रीमान्को सम्झनामा साहित्यिक पुरस्कार प्रदान गर्न कोष राख्ने विचार गरिन् ।

Advertisement

उनले यस पुण्य कार्यमा ढिलो नगरी ०६७ चैत्र ३ जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत् रूपमा हेमराज स्मृति प्रतिष्ठान दर्ता गरिन् । आफैँले संस्थाको नेतृत्व लिइन् र लक्ष्य अनुरूप अघि बढिन् । अहिले कोषमा २० लाखभन्दा बढी रकम जम्मा भएको छ । कोषमा रकम जम्मा गर्ने कार्यमा उनीले कसैसँग हात थापिनन् । संस्थाको लक्ष्य अनुरूप पहिलोपल्ट यो पुरस्कारद्वारा संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मानित गरियो ।

साहित्यकार हेमराज पहारीको योगदानलाई चिरस्थायी बनाउँदै साहित्यको श्रीवृद्धिका लागि उनले १ लाख रुपैयाँको पुरस्कार स्थापना गरेकी छन्

Advertisement

त्यसैगरी दोस्रोपल्ट दाङको राप्ती साहित्य परिषद् र तेस्रोपल्ट धरानको विमल गुरुङ स्मृति पुस्तकालयले पुरस्कार पाए । चौथो पटक लोककवि अलि मियाँलाई (मरणोपरान्त) प्रदान पुरस्कार गरिएको थियो भने पाँचौ पल्ट हेटौंडाको झरना साहित्यिक परिवारलाई १ लाख दिइएको प्रतिष्ठानका अध्यक्ष रीता बताउँछिन् ।

पहिलोपल्ट हेमराज स्मृति पुरस्कार ग्रहण गर्दै सत्यमोहन जोशीले भनेका थिए–२०१० सालमा पति वियोगमा परेकी रानी जगदम्बाले मदन पुरस्कार स्थापनामात्रै गरिनन्, उनकै हातबाट पुरस्कार ग्रहण गरेजस्तै आज रीता नानीको हातबाट पहिलो हेमराज पुरस्कार ग्रहण गर्न पाउनु मेरा लागि ऐतिहासिक क्षण बन्न पुगेको छ ।

सामान्य मान्छेले कृति राख्ने कार्य गर्दैनन् । संसारमा धेरैका पति, पत्नी, सन्तान, बाबुआमा मरेका छन् तर तिनका नाममा सत्कर्म गर्ने हेक्का राख्दैनन् । तर रीताले जुन सत्कार्य गरेकी छिन्, त्यो युग युगका लागि हो । समग्र साहित्य उत्थानका लागि हो । आफ्नै लागि हो ।

पोखरामा आयोजना गरिने हरेक साहित्यिक कार्यक्रममा प्रतिष्ठानको अध्यक्षको हैसियतले उनी पुग्ने गर्दछिन् । साहित्यमा गहिरो रुचि राख्ने र पुस्तक पढ्ने बानी भएकाले फुटकर रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित गरेता पनि पुस्तकाकारको रूप भने दिन भ्याएकी छैनन् ।

उनको साहित्यिक योगदानको कदरस्वरूप २०७६ सालमा उनलाई जनमत राजभाइ सहयात्री सम्मान प्रदान गरिएको थियो । उनी नारी प्रतिभा वाङ्मय प्रतिष्ठान, गोमा फाउन्डेसन, इनर व्हिल क्लब अफ पोखरा, कोपिला नेपाल, सप्तरंगी साहित्य समाज जस्ता संस्थामा पनि संलग्न छिन् । रीता पोखराकी एक साहित्यिक अभियन्ता हुन् ।

उनी प्रतिष्ठानको कोष वृद्धिमा मात्र होइन, साहित्यिक गतिविधिसमेत बढाउने पक्षमा सक्रिय छिन् । प्रतिष्ठानले साहित्यकार हेमराज पहारीका कृति प्रकाशित गर्दै जाने लक्ष्य लिएको छ । अझ विशेष गरी यो प्रतिष्ठानलाई कसरी सक्रिय र जीवन्त राख्न सकिन्छ भनेर प्राय वरिष्ठ साहित्यकारसँग रायसुझाव माग्ने गर्दछिन् ।

साहित्यिक संघ, संस्थालाई स्थानीय निकायमा मात्र दर्ता गर्नुपर्ने सुझाव राख्दै उनी भन्दछिन्–हरेक वर्ष संघ, संस्था दर्ता गर्ने प्रावधानलाई पाँच वर्षमा एकैपल्ट नवीकरण गर्ने व्यवस्था गरिनुपर्दछ किनभने यी संस्था स्वयंसेवी हुन् । साहित्यिक संघ, संस्था दर्ता गर्नुभन्दा चलाउन गाह्रो भन्दै पहारी भन्दछिन्–यो पुरस्कारको इतिहासलाई म कुनै पनि हालतमा मर्न दिन्नँ ।

वि.सं. २०२७ साल आषाढ १९ गते काभे्रको चौरी देउरालीमा जन्मिएका रीताको विसं. २०५० मा पोखराका शिक्षासेवी एवं साहित्यकार हेमराज पहारीसँग विवाह भएको थियो । वि.सं. २००० साल कात्तिक १९ गते जन्मिएका हेमराजले धेरै वर्ष राष्ट्रिय माध्यमिक विद्यालय टुडिखेलमा पढाएका थिए भने पछिल्लो समयमा पर्यटन व्यवसायमा संलग्न उनका थुपै्र साहित्यिक कृति प्रकाशित छन् ।

हेमराजकाका उत्तरी गोलाद्र्धको एक फन्को, देशको अभिभारा आदि लोकप्रिय पुस्तकमा पर्दछन् । रीता पहारीका अनुसार यो प्रतिष्ठानले गण्डकी प्रदेशलाई उपेक्षा गरेको छैन । मदन पुरस्कारलाई दीक्षित परिवारले संरक्षण गरे जस्तै भविष्यमा आफू नरहे पनि यो पुरस्कारलाई निरन्तरता दिने कार्यमा पोखरेली साहित्यपे्रमी पछि पर्ने छैनन् भन्नेमा आफू आशावादी रहेको उनले सुनाइन् ।

तपाईको प्रतिक्रिया