कम्युनिस्ट आदर्श र नेपाली कम्युनिस्टका कमजोरी

अहिले विश्व कम्युनिस्ट आन्दोलन र राष्ट्रिय कम्युनिस्ट आन्दोलन रक्षात्मक रूपमा रहेको कम्युनिस्टहरूको तर्क छ । अन्तर्राष्ट्रिय रूपमा चीन, क्युवा वा उत्तर कोरियालाई कम्युनिस्ट देशका रुपमा लिने गरिन्छ, तर ती देशमा स्थापित समाजवादी व्यवस्था पुँजवादी संशोधनवादी व्यवस्था हो भन्ने मार्कसवादीहरुको भनाइ छ । पुँजीपति वर्गले भने त्यस्लाई अधिनायकवाद भन्छ ।
प्रजातन्त्र र मानव अधिकारविहीन व्यवस्था भन्दछ । त्यसैले साम्राज्यवादले ती देशलाई रगस्टेट भन्ने गर्दछ । सही माक्र्सवादी, लेनिनवादी विचार, सिद्धान्त र राजनीतिलाई संशोधनवाद र माक्र्सवादले आआफ्नो ढंगले विश्लेषण गरेर त्यसलाई व्यवहारमा प्रयोग गर्नु मुख्य कुरा हो ।
सन् १९१७ देखि नै माक्र्सवादलाई विभिन्न मुलुकले लागु गर्दै जाँदा कहिले दक्षिणपन्थी अवसरवाद, कहिले अराजकतावाद र कहिले वामपन्थी अवसरवादको सामना गर्नुपरेको थियो । आज माक्र्सवादको जुन व्याख्या र व्यवहारिक रुपले संश्लेषण गरिएको छ, त्यो माक्र्सवाद सम्मत नभएर व्यक्ति केन्द्रित अवसरवाद, संशोधनवाद र आफ्नो स्वार्थ अनुकूल गरिएका विश्लेषणमात्र हुन् । १८ औं शताब्दीमा औद्योगिक क्रान्ति चरम रूपमा अगाडि बढेको थियो, त्यसले मजदूर बेरोजगार बने ।
तथापि मजदुर आन्दोलन पनि उत्कर्षमा पुगेको थियो, त्यसवाट पुँजपति पनि भयभित थिए । लामो अनुभव र अध्ययनपछि माक्र्सले मजदूर वर्गका लागि एउटा कार्यक्रम लेखे । उनले घोषणापत्रको नाम समाजवादी घोषणापत्र नराखेर कम्युनिस्ट पार्टीको घोषणापत्र किन राखे भने मजदूर आन्दोलनका लागि समाजवाद शब्दभन्दा साम्यवादी शब्द धेरै व्यापक, मजदूर पक्षीय र शत्रुका विरूद्ध ठूलो प्रहार थियो ।
शान्तिपूर्ण वा हिंसात्मक कम्युनिस्ट आन्दोलनका विषयमा खुलेर बहस गरौं, कार्यकर्तालाई अन्योलमा नपारौं ।
त्यही सैद्धान्तिक आधारमा युरोपमा र अमेरिकामा पनि कम्युनिस्ट आन्दोलनले आकार ग्रहण गर्दै गयो । प्रत्येक पुँजीवादी मुलुकमा कम्युनिस्ट आन्दोलन सुरू भए । सरकार सशस्त्र दमनमा उत्रियो । संसार भरका पुँजीवादीहरू संयुक्त रुपमा माक्र्सवादको विरूद्ध उत्रिए । माक्र्सवादको सार के हो भने सशस्त्र संघर्षद्वारा मजदुर किसानको मुख्यतः राज्यसत्ता कायम गर्नु ।
मानव अधिकार र शान्तिपूर्ण आन्दोलनका नाममा क्रान्तिकारीलाई दमन गरियो । ‘संसारका मजदूर एक हौं’ भन्ने नाराले विश्वव्यापी रूप लियो । विभिन्न देशमा मजदूर आन्दोलन उठे । राष्ट्रिय मुक्ति आन्दोलन र कम्युनिस्ट आन्दोलन समानान्तर रूपमा एकअर्कालाइ सहयोग गर्दै अघि बढे । उपनिवेशवादका विरूद्ध संघर्ष उठ्यो । शोषित, उत्पीडित, मजदूर, किसान, वुद्धिजीवी र दमनमा परेका जनताको आसाको केन्द्र बनेको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन शक्तिशाली बन्दै गयो ।
पुँजीपति वर्ग पनि मजदूर आन्दोलनको विरूद्ध एकगठ भयो । औद्योगिक क्रान्तिले व्यापक रूप लिँदा मजदूरहरू आन्दोलनमा उत्रिए, तत्कालीन समयमा मजदूर आन्दोलन अरू तेज बन्यो । माक्र्सको मृत्युपछि कम्युनिस्ट आन्दोलनको नेतृत्व लेनिनको हातमा गयो । पहिलो सर्वहारा वर्गको अधिनायकत्व रूसमा स्थापित भयो । तर चारैतिरवाट माक्र्सवाद, लेनिनवादमाथि आक्रमण भयो ।
पेरिस कम्युनले शक्ति आफ्नो हातमा नलिनु, बैंक र सेनालाई नियन्त्रण नगर्नु, पुँजीपतिका सम्पति राष्ट्रियकरण नगर्नु र जनतालाई सशस्त्र नबनाउनु जस्ता कारणले पेरिस कम्युन असफल बन्यो । पेरिसका कम्युनार्डहरूको वीरतापूर्ण कार्य अविस्मरणीय छन् । रसियाली सामाजिक जनवादी पार्टीले रूसमा कम्युनिस्ट आन्दोलनलाई संगठित गर्यो । जस्को उद्देश्य सशस्त्र विद्रोहका माध्यमवाट समाजवाद स्थापना गर्नु थियो ।
रसियाली सामाजिक जनवादी पार्टीको जन्मसँगै २ समूह मेन्सेभिक र वोल्सेभिक देखा परे । सशस्त्र विद्रोहमार्फत क्रान्ति सम्पन गर्ने कि शान्तिपूर्ण ढंगले भन्ने विषयमा बहस चलेको थियो । मेन्सेभिकहरू सशस्त्र संघर्षको पक्षमा थिएनन् । पुँजीपति वर्गसँग मिलेर शान्तिपूर्ण संघर्ष उसको उद्देश्य थियो । पुँजीवादी शासन व्यवस्थाप्रति उनीहरू नरम थिए । वोल्सेभिकहरू भने सशस्त्र विद्रोहद्वारा सत्ता कब्जा गर्न चाहन्थे । मेन्सेभिकका नेता मार्तोभ र वोल्सेभिकका नेता लेनिन थिए । साम्राज्यवादी युद्धलाई हेर्ने दृष्टिकोणमा पनि उनीहरूमा भिन्नता थियो ।
साम्राज्यवादी देशका कम्युनिस्टहरूले आफ्नो देशको साम्राज्यवादी युद्धलाई समर्थन गरे र लेनिनको साम्राज्यवादी युद्धको विरोध गर्ने कुरालाई इन्कार गरे । द्वितीय अन्तर्राष्ट्रियका वर्नस्टीन, काउत्स्की र अन्य दक्षिणपन्थीले संसदवादको नारा दिए र साम्राज्यवादी युद्धको खुलेर समर्थन गरे । सासाम्राज्यवादी युद्धमा नै रूसमा समाजवादी क्रान्ति सम्पन्न भयो । दक्षिणपन्थीहरूले युद्धबारे अन्ध राष्ट्रवादी नीति अपनाए । जबकि लेनिनले युद्धलाई गृहयुद्धमा बदल्ने नीति अवलम्बन गरी रूसमा समाजवादी क्रान्ति सम्पन्न गरे ।
यसरी रूस पहिलो समाजवादी मुलुक बन्यो । त्यसलाई रूसी अवसरवादी सामाजिक जनवादीहरुले लेनिनका विरूद्ध माक्र्सवादको नयाँ भाष्य दिन खोजे । रूसी कम्युनिस्टहरूले त्यो संसदवाद र अन्ध राष्ट्रवादको खुलेर विरोध गरे । वर्ग संघर्ष, वर्ग अधिनायकत्व र सशस्त्र संघर्ष माक्र्सवादका आधारभूत प्रस्थापना हुन भन्ने माक्र्सवादको मान्यतालाई लेनिनले साकार रूप दिए । तर त्यस प्रकारको राज्य व्यवस्था पुँजीपति वर्गका लागि अमान्य थियो । तत्कालीन अवस्थामा शान्तिपूर्ण आन्दोलनको कुरा पनि उठेको थियो ।
रुसमा सर्वहारा राज्यसत्ता स्थापनापछि मज्दूर, किसान, विद्यार्थी, सेना, वुद्धिजीवीहरू केन्द्रीय सत्तामा पुगे, तर त्यसलाई भ्रष्टिकरण गर्न प्रतिक्रियावादी शक्ति, राजतन्त्रवादीहरू, मेन्सेभिक, ऐसेर नयाँ राज्यसत्ताका विरूद्ध खनिए । मेन्सेभिक र केही अराजकतावादीले माक्र्सवाद लेनिनवाद समयसापेक्ष नभएकाले त्यसलाई शान्तिपूर्ण ढंगले लैजानुपर्ने दलील पेश गरे । प्रथम विश्व युद्धपछि पूर्वी युरोप, एसिया, अफ्रिका जस्ता देशमा राष्ट्रिय जनआन्दोलन र जनवादी क्रान्ति सम्पन्न हुँदै गए ।
अमेरिकी साम्राज्यवादद्वारा समाजवादी देशमा आन्तरिक र वाह्य रूपमा अगाडि बढेर त्यस्का विरूद्ध हस्तक्षेप गर्दै अगाडि बढ्यो । कम्युनिस्ट आन्दोलनभित्र नै माक्र्सवाद विरोधी तत्व पैदा गराए । यसरी प्रतिक्रान्तिको जन्म भयो । समाजवादी निर्माण सुरूमात्र के गरिएको थियो, मजदूर वर्गका नेता लेनिनको १९२४ मा अवसान भयो । समाजवादी रूसको नेतृत्व स्टालिनको हातमा पुग्यो । उद्योग, शिक्षा, सुरक्षा, कृषि, यातायात, फलाम उद्योग, रेल, पेट्रोल उत्पादनमा समाजवादी रूसले फड्का मार्यो ।
समाजवादी शिविर र पुँजीवादी शिविर खडा भए । ।पहिलो समाजवादी मुलुक भएकाले नेतृत्वका केही गल्ति पनि भए । स्टालिनको पालामा अन्तर्विरोधको राम्रो सञ्चालन पनि भएन, जस्ले गर्दा पार्टीभित्र दरार पैदा भयो । उनी अधिभौतिकवादको सिकार भए । मनोगत चिन्तन हावी भयो । सोभियत संघको स्थापना र माक्र्सवादी दृष्टिकोणमा सोभियत संघ नै प्राधिकार हो भन्ने गलत चिन्तनले काम गर्यो । १९३९ मा द्वितीय विश्व युद्ध सुरू भयो, त्यसबाट जोगिन रूसले प्रयत्न गर्दागर्दै युद्धमा होमिनु पर्यो । पित्तृभूमिको रक्षाका लागि करोडाैं रसियालीले बलिदान दिए । १९४५ मा युद्ध थामियो, फासीवाद र नाजीवादको पतन भयो ।
रूसमा पुनः विकासका कार्यक्रम सुरू गरिए । तर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका धरोहर स्टालिनको पनि अवसान भयो ।
तत्कालै संशोधनवादी, दक्षिणपन्थी गोर्भाचोवको हातमा सोभियत सत्ता गयो । स्टालिनलाइ विभिन्न रुपले गाली गर्न थालियो । उनलाई तानाशाह, जुवाडे, हत्यारा, इभान किसिमको तानाशाह, देशद्रोहीको आरोप लगाइयो । क्रान्तिलाई शान्तिपूर्ण संघर्ष, शान्तिपूर्ण संक्रमण, शान्तिपूर्ण विकासको स्तरमा गिराइयो । त्यसको संरक्षणका लागि सशस्त्र संघर्ष र वर्ग अधिनायकत्वलाई तिलाञ्जली दिइयो । वर्ग संघर्षको सट्टा वर्ग समन्वयको सिद्धान्त लागू गरियो ।
नेपाली कम्युनिस्ट आन्दोलन पनि त्यसबाट अछुत रहन सकेन । त्यसैको आधारमा माक्र्सवादी भाष्यको व्याख्या हुन थाल्यो । शान्तिपूर्ण प्रतिस्पर्धा गर्ने कुरामा जोड दिएर माक्र्सवादी दर्शनलाई व्याख्या गर्दै नयाँ भाष्यमा व्याख्या गर्ने प्रयत्न गरियो । तर माक्र्सवाद, लेनिनवाद सैद्धान्तिक र व्यवहारिक रूपमा अगाडि बढ्यो । त्यसैले पुँजीवादी साम्राज्यवाद कम्युनिस्ट आन्दोलनलाई विभाजन गर्न चाहन्थ्यो ।
चीनमा जनवादी क्रान्ति भएपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नेतृत्व माओको हातमा गयो । चेङकाइसेकसँग मिलेर जापानी साम्राज्यवादलाई माओले पराजित गरे भने ग्रृहयुद्धमार्फत चेङकाइसेकलाई पनि पराजित गरियो । त्यो कार्यनीति र रणनीतिको फ्युजन थियो । चीनका वाङमिङ, लिलिसान वोल्सेभिकहरूले माओको सही कार्यदिशाको विरोध गरे । छन्त्युसुको दक्षिणपन्थी अवसरवाद, अराजकतावाद र संशोधनवादी लाइनको पनि पराजये भएको थियो ।
क्रान्ति कालमा माओले घरेलु प्रतिक्रियवाद, विदेशी प्रतिक्रियावादका विरूद्ध संघर्ष र सैद्धान्तिक, वैचारिक र रणनीतिक रुपले ल्युसाओची र तेङगुठका विरुद्ध पनि माओले संघर्ष गर्नुपरेको थियो । माओको मृत्युपछि कम्युनिस्ट आन्दोलन नाम मात्रमा सीमित रह्यो । माओको निरन्तर क्रान्तिको सिद्धान्त, सांस्कृतिक क्रान्ति र साम्राज्यवादलाई हेर्ने कुरामा पनि कम्युनिस्टबीच सैद्धान्तिक मेल नखाएर नयाँ भाष्यका रूपमा मात्र व्याख्या गरिन थालियो ।
नेपालमा पनि एकथरीले सांस्कृतिक क्रान्तिलाई बेठीक ठहर्याए र त्यसले उग्र क्रान्तिको रुप लियो । आन्दोलनमा माक्र्सवाद, लेनिनवादलाई आफू अनुकूल व्याख्या गर्ने माक्र्सवादका विरुद्ध माक्र्सवादको नै प्रयोग गर्ने जस्ता नवीन भाष्यको प्रयोग गर्न थालिएको छ । नेपालमा जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादको विषयमा पनि त्यही भाष्य प्रयोग भएको छ ।
नेकपा विस २००६ मा स्थापना भयो । संस्थापकहरूले नेपालमा चिनियाँ प्रकारको ग्रामीण छापामार युद्ध गरी जनवादी गणतन्त्र स्थापना गर्ने लक्ष्य लिएका थिए । सुरु सुरुमा किसान आन्दोलन सुरु गरियो, तर त्यसले निर्णायक भूमिका खेलेन । केहीपछि नै पार्टीमा अन्तरविरोध सुरु भयो । नेतृत्वमा होडबाजी चल्यो । मनमोहन, टिएल, पिएल, एमबी र रायमाझीहरूले अन्तरविरोधलाई राम्ररी व्यवस्थापन गर्न सकेनन् ।
शत्रु र मित्र शक्तिको विश्लेषण गरिएन । २०१५ सालको संसदीय चुनावमा नेकपाले भाग लियो र जम्मा ४ सिट जित्यो । २०१७ मा राजाले संसदीय व्यवस्थालाई प्रतिबन्ध लगाएपछि केही नेता भारत पसे भने अन्य मूर्धन्य नेता जेल परे । संघर्षको मैदान खाली भयो । तर पार्टीहरुले पञ्चायत विरोधी आन्दोलनलाई आआफ्ना ढंगले विद्यार्थीमार्फत सञ्चालन गरे । रायमाझीले राजाको संसद विघटनलाई समर्थन गरे र महेन्द्रलाई राष्ट्रवादी राजा भने ।
२०१९ मा भएको तेस्रो महाधिवशनले टिएललाइ महामन्त्री बनाएपछि पिएलले विधिवत रूपमा २०२५ मा अर्को तृतीय महाधिवशन गरी कम्युनिस्ट पार्टीलाई विभाजन गरे । क्रान्तिकारी युवा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन क्रान्तिकारी पार्टीको खोजीमा थिए, त्यस्को परिणाम झापा आन्दोलनको जन्म भयो । तर उनीहरुले संघर्षलाई २ वर्षमा नै शान्तिपूर्ण आन्दोलनमा परिणत गरे । अर्को क्रान्तिकारी संगठन केन्द्रीय न्युक्लिस बन्यो । जसका नेता मोहनविक्रम र निर्मल लामा थिए ।
एमबीले नेपालको अन्तरविरोध भारतीय विस्तारवाद र देशीय सामन्तवाद समान दुश्मन हुन भन्ने गलत व्यख्या गरे । नेपाली कम्युनिस्ट आन्दोलन विभिन्न आरोह अवरोह हुँदै अगाडि बढ्यो । पुष्पलालले संसदको पुनःस्थापनामा कांग्रेससँग एक भएर आन्दोलनअघि बढाउन प्रयत्न गरे, तर वीपीले मानेनन् । यसै सन्दर्भमा पिएललाई गद्दारको उपाधि दिइयो । २०४६ को शान्तिपूर्ण जन आन्दोलनले सफलतापछि कम्युनिस्ट आन्दोलनपछि पर्यो । कोहीले सोभियत संशोधनवादलाई सही माने भने कोही चीनियाँ जनवादी क्रान्तिको मोडेलमा लागे ।
दिल्ली सम्झौता, कोशी गण्डकी राष्ट्रघाती सम्झौता, राष्ट्रिय उद्योगलाई कौडीको मूल्यमा बेच्ने कांग्रेससँग चुनावमा गठबन्धन गर्नु नैतिक रूपले ठीक हुन्थेन । तर सरकार गठनमा भने तत्कलीन रुपमा ठीक हुन्थ्यो । कम्युनिस्टहरूले आफ्नो स्वतन्त्र अडान राख्न सकेनन्, जसरी भये पनि चुनाव जितेर सत्तामा जाने नियतिले राखे । नेपालको राष्ट्रियताको धार भुत्ते हुन गयो । नेपाली राजनीतिमा पश्चिमा र अमेरिकाको हालीमुहाली भयो ।
नेपाली कम्युनिस्टहरु पुँजीवादमा कम्युनिस्ट आदर्श पूरा हुन्छ भन्ने गलत चिन्तनबाट प्रेरित छन् । अमेरिका चीनलाई घेर्ने र एमसिसी पास भएपछि एसपिपी पनि पास गरी उ नेपालमा कसैलाई पनि टेक्न दिदैन । यसमा भारतको पनि सहमति देखिन्छ । नेपाललाई हेर्ने भारतीय दृष्टिकोण वेलायती उपनिवेशवादी जस्तै छ । संवैधानिक राष्ट्रपतिका लागि विदेशी शक्ति हात धोएर लाग्ने र नेपाली नेता आफ्नो स्वतन्त्र निर्णय गर्न नसकेर तिनकै पछि लाग्नु अस्वाभाविक र अपमानजनक कुरा हो ।
विदेशीको सहयोगबाट गणतन्त्र र धर्म निरपेक्षता र समानुपातिक व्यवस्था ल्याएपछि यो स्वभाविक बन्यो । दिल्ली सम्झौतादेखि अहिलेसम्म नेपालले त्यही नियति भोग्नु परेको छ । माओवादीले सशस्त्र युद्ध थालेपछि कम्युनिस्ट आन्दोलनमा नयाँ मोड आयो । संवैधानिक राजतन्त्र विरोधी संघर्ष तीव्र रूपमा अगाडि बढ्यो । जनवादी क्रान्तिबाट जनताले अधिकार प्राप्त गर्ने चाहनामा युवा, महिला, दलित, उत्पीडित, पछाडि पारिएका जनता सशस्त्र संघर्षमा हाम फाले ।
तर जनवादी क्रान्ति सम्पन्न हुन नसकेपछि १२ बुँदे सहमति अनुसार संसदवादी दल र माओवादीको संयुक्त संघर्षबाट संविधान सभा हुँदै गणतान्त्रिक संविधान प्राप्त भयो । तर १० वर्षे जनयुद्धको ध्येय गास, वास, कपास र राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार प्राप्त गर्ने र जनवादी व्यवस्था स्थापना गर्ने एउटा सुनौला भविष्य खोजेका थिए ।
आज नेपालको राष्ट्रियता कमजोर बन्दै गएको छ, हामी विदेशीका गोटी बनेका छौं । कम्युनिस्ट आन्दोलन पुँजीवादी आन्दोलनको घेराभित्र च्यापिएको छ । अहिले कम्युनिस्ट आन्दोलनले संसदीय र पुँजीवादी गणतन्त्रबाट मात्र सन्तुष्ट मान्नुपर्ने हुन्छ । यसलाई संसदीय पुँजीवादी बाटोबाट पनि माक्र्सवादलाई अगाडि बढाउन सकिन्छ भनेर सन्तुष्ट हुन सकिन्छ र त्यो उपलब्धिलाई पनि माक्र्सवादी भाष्यको रुपमा हेर्न सकिन्छ ।
माओवादी आन्दोलनका अग्रजहरूले आन्दोलनलाई जनवादी क्रान्तिमा पुर्याउन सकेनन्, अहिलेको पुँजीवादी गणतन्त्रलाई जनवादी क्रान्ति भन्न सकिएला । क्रान्ति म्ंपन्न नगरेको भनी चन्द र वैद्यहरु माओवादी आन्दोलनबाट अलग बनेका छन् । त्यो भीषण जनयुद्धबाट पुँजीवादी संविधान बन्यो, जसलाई जनवादी संविधानको रुपमा प्रस्तुत गरिएको छ । चन्द र वैद्यहरूले माओवादी आन्दोलनलाई पुनर्जीवित गर्ने प्रयत्न गरे तर उनीहरु पनि आन्दोलनप्रति प्रष्ट देखिएका छैनन् ।
कुरा धेरै र काम थोरै भयो । जनयुद्धका कारण फन्दामा पर्ने त्रासमा माओवादीहरु पश्चिमा राष्ट्रहरूको सेवा गर्ने, भारतसँग लहसिने र चीनसंग टाढा रहने गरेका छन् । वैद्य र चन्दबीच अन्तरविरोध बढ्दै उनीहरु विभाजित भए । क्रान्तिको स्वरूपबारे चन्द र धर्मेन्द्र बास्तोलाबीच पनि एक मत बनेन । ६५ वर्षदेखि कम्युनिस्ट आन्दोलनका धरोहर मोहनविक्रम सिंह अब आफूमात्र बाँकी छन् र आफ्नो लाइन ठीक छ भनी सन्तुष्ट छन् । रोहित पनि शक्तिहीन छन् । सीपी मैनालीको त्यही चाला छ । माओवादी आन्दोलन विभाजित भएर निकै कमजोर छ । नेकपाको कम्युनिस्ट आन्दोलन लगभग दिशाहीन हुँदै गएको छ ।
एमालेले जनताको बहुदलीय जनवादको नाममा आफूलाई खाँटी कम्युनिस्ट ठान्दै आएको छ । अहिलेको परिस्थितिमा कम्युनिस्ट पार्टीले मित्र र दुश्मन छुट्याउन सकेका छैनन् । पुँजीवादी बाटो अवलम्बन गरेका छन् । गणतन्त्र आएपछि पनि राजनीतिमा पहुँचवालाको नै हालीमुहाली छ । समानुपातिकमा धनी चौधरी, दलितमा सुन पसले, जनजातिमा पनि मुखिया, आदिवासीमा गोपालमानहरू, सुदूर क्षेत्रवाट आरजु राणाहरू, खसआर्यवाट जिम्मालहरूको प्रतिनिधित्व भएको छ । तर राउटे, दरै, कुमाले, डोम र मुसहर आदिको अत्तोपत्तो छैन ।
संसदीय चुनावको परिणामले गठबन्धन बन्ने र भत्किने क्रम चलिरहेको छ । त्यसलाई आवश्यकताको सिद्धान्तका रुपमा भाष्य परिवर्तन गरिएको छ ।माओवादी कार्यकर्ताहरू केन्द्रको गठबन्धन अनुसार कहिले रुख र कहिले सूर्यमा भोट हाल्न वाध्य छन । कुन प्रतिगमन, कुन अग्रगमन ? जुनमा पनि विदेशीहरुकै हात देखिन्छ । माक्र्सवादले उत्पीडनको सधै विरोध गर्छ, स्वाधीनताको आन्दोलनमा सक्रिय रहन्छ । माओवादी आन्दोलनलाई जनताको आशा र विश्वास भनिए पनि जनताका माग आंशिक मात्र पूरा भएका छन । आधारभूत माग पूरा भएनन् ।
नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग भए पनि पुँजीवाद र युद्ध पिपासुको पछि लाग्यो । युक्रेन रूस युद्धमा भारत र चीन तटस्थ बस्दा नेपाल युक्रेनको पक्षमा भिनु निश्चय नै साम्राज्यवादको समर्थन हो । केही देशलाई वा हतियार तस्कलाई युद्धबाट फाइदा भयो होला तर घाइते, अपांग, सहिद परिवार, बेपत्ता परिवारको घर जीवन बिग्रिएको छ । अर्थनीति स्वाधीन र राष्ट्रिय हित अनुकूल हुनुपर्छ ।
एमाले र माओवादी केन्द्रका खेल विचार। सिद्धान्तमा भन्दा व्यक्तिगत रिसइबी, छलछाम गरेर माक्र्सवादी आन्दोलनलाई विघटनमा पुर्याउदै छन् । संसदीय चुनावमा भाग लिँदा आफ्नो खुट्टामा उभिनुपर्छ, जसले गर्दा आफ्नो जनसमर्थन कति छ थाहा हुन्छ । संघर्षका बेला संयुक्त मोर्चा गरिन्छ भने सरकार बनाउने बेला गठबन्धन हुन सक्छ ।
भारतीय हस्तक्षेप बढिरहेका बेला भारतीय एउटा परराष्ट्र सचिव नेपाल आउँदा हाम्रा राष्ट्रपति लगायतका नेता त्यही कर्मचारीको पछि लागेर भारतीय हितका लागि काम गरेको देखियो । हामीले पहिलेदेखि नै नेपाल सिक्किम वा फिजी हुन्छ भन्ने शंका गर्दै गर्दा त्यही दिशातिर नेपाल जाने हो कि भन्ने देखिन्छ । यो समग्र स्थितिलाई संश्लेषण गर्दा नेपालको कम्युनिस्ट आन्दोलन सफल हुन सम्भव छैन ।
यही माक्र्सवादी भाष्यले नयाँ रूप लिँदै गएको छ । विचार, राजनीति, सिद्धान्त, नीति, विधि, दर्शन विपरीत गरिने निर्णय र काम माक्र्सवादी भाष्य अन्तर्गत पर्दैनन् । सही माक्र्सवादी बाटो हिड्न नेपालको कम्युनिस्ट आन्दोलनमा बहसको आवश्यकता छ । शान्तिपूर्ण वा हिंसात्मक कम्युनिस्ट आन्दोलनका विषयमा खुलेर बहस गरौं, कार्यकर्तालाई अन्योलमा नपारौं ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया