ऋषिराम स्मृति सम्मान घायलश्री र गिरीलाई

समाधान संवाददाता २०७९ फागुन २३ गते १२:५५

पोखरा ।
संघर्षमा कलम साहित्य समाजले हरेक वर्ष अर्पण गर्दै आएको ऋषिराम रानाभाट स्मृति सम्मान २०७८ म्याग्दीका घायलश्री र २०७९ कास्कीकी सावित्री गिरीलाई अर्पण गर्ने भएको छ ।

२०६७ सालदेखि नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील स्रष्टालाई अर्पण गरिँदै आएको यस सम्मानबाट स्याङ्जाका दुर्गाबहादुर शाह बाबा, मिलन समिर, पर्वतकी सरस्वती शर्मा जिज्ञासु, लमजुङका एनजे सागर शाह, कास्कीकी अम्बिका भण्डारी, गुल्मीका कृष्ण अञ्जान ज्ञवाली र मुस्ताङका सुशील थकाली अनुरागी यस अगाडि सम्मानित भइसकेका छन् । सम्मानको राशि नगद ५ हजार पाँच, सम्मानपत्र र दोसल्ला छ ।

कोरोना महामारीका कारण अघिल्लो वर्ष सम्मान अर्पण गर्ने वातावरण नभएपछि समाजद्वारा सञ्चालित बाबा साहित्य साधक सम्मान र ऋषिराम रानाभाट स्मृति सम्मान कोषको ब्याज रकमबाट समाजले राष्ट्रिय अनलाइन कविता प्रतियोगिता सञ्चालन गरेको थियो ।

Advertisement

प्रतियोगितामा सुनसरीका किरण चौलागाई शून्यानन्दले प्रथम स्थान हासिल गर्दै ११ हजार एक सय ११ पुरस्कार हात पारेका थिए । तेह्रथुमका बद्री श्रेष्ठ याक्चा द्वितीय भई ५ हजार ५ सय ५५ प्राप्त गर्न सफल भएका थिए । पर्वतका श्रीकृष्ण शर्मा र कास्कीकी दीक्षा अधिकारी तृतीय हुँदै ३ हजार, ३ सय ३३ नगदसहितको पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय हुन सफल कविको पुरस्कार रकम बैंक खातामा दाखिला भएको र तृतीय हुनु हुने शर्मा र अधिकारीलाई उक्त पुरस्कार सोही सम्मान समारोहबीच पुरस्कार अर्पण गरिने जनाइएको छ ।

Advertisement

यस पटक सम्मानित हुन लागेका घायलश्री कविता, कथा लेखनमा क्रियाशील साहित्यिक अभियन्ता र सञ्चारकर्मी हुन् । गिरी गजलकार तथा चर्चित लोकदोहोरी गायिका हुन् । उनको चञ्चले मन कौरा गीत, मनको छाल लगायतका गीत तथा गजल कृति बजारमा आएका छन् ।

समाजले पुतलीबजार ७ स्याङ्जामा जन्मेका ऋषिराम रानाभाटको स्मृतिमा परिवारद्वारा स्थापित ऋषिराम रानाभाट स्मृति सम्मान र कवि तथा गीतकार दुर्गाबहादुर शाह ‘बाबा’द्वारा स्थापित बाबा साहित्य साधक सम्मान अर्पण, संघर्षमा कलम मुखपत्र प्रकाशनका साथै विविध वाङ्मयिक अनुष्ठान सञ्चालन गर्दै आएको संस्थाका सदस्य सचिव असफल गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया