
दमौली ।
तनहुँको अग्लो स्थानमा रहेको छिम्केश्वरीमा साहित्यिक तथा पर्यटन मेला आयोजना गरिएको छ । समुद्र सतहबाट २ हजार १ सय ३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका ५ छिम्केश्वरीमा फागुपूर्णिमाको अवसरमा साहित्यिक तथा पर्यटन मेला भएको हो ।
‘गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्य छिम्केश्वरी जाऔँः राष्ट्रिय फूल लालीगुरॉससँग होली मनाऔँ’ भन्ने नाराको साथ आँबुखैरेनी वाङ्मय परिषद्को आयोजना, आबुखैरेनी गाउँपालिकाको संरक्षण, वडा नं ५ र छिम्केश्वरी युवा क्लबको सहआयोजनामा मेला भएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले छिम्केश्वरीको पर्यटन प्रवद्र्धनका लागि सरकारले सहयोग गर्ने बताए । पर्यटनबाट समृद्धि सम्भव रहेकाले ग्रामीण पर्यटन प्रवद्र्धनमा स्थानीय सरकारको अभियानमा प्रदेश सरकारले साथ दिने उनको प्रतिज्ञा छ ।
आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले युवालाई स्थानीय स्तरमा उत्पादन गर्न जोड दिँदै उत्पादित वस्तुलाई बजारीकरण गर्न समस्या नहुने जनाए । छिम्केश्वरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको आँबुखैरेनी वाङ्मय परिषद्का अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए ।
मेलामा स्थानीयस्तरमा उत्पादन भएका सामग्री बिक्रीका लागि स्टलमा राखिएको थियो । अन्य स्थानबाट आयात गरिएका सामग्री बिक्रीका लागि प्रतिबन्ध गरिएको मेलामा स्थानीय परिकार, उत्पादनको प्रदर्शनी र धनुषवाण, भाला, छेलो हान्ने खेल खेलाइएको थियो । स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति र राष्ट्रिय कविको साहित्य वाचनले कार्यक्रममा रौनक थपेको थियो ।
त्यस क्रममा ३ हजारभन्दा बढी आन्तरिक पर्यटक छिम्केश्वरी उक्लिएका थिए । गण्डकी प्रदेश सरकारले घोषणा गरेको १ सय १० पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत छिम्केश्वरी, यहाँ रहेको छिम्केश्वरी माई र छिम्कालेक मन्दिर, यहाँका धार्मिक तथा सांस्कृतिक रीतिरिवाजको प्रचार–प्रसार गर्ने उद्देश्य राखिएको छ ।
गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास छ । ७ देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित देख्न सकिन्छ । छिम्केश्वरीबाट धवलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रे लगायतका हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।
गाउँपालिकाले छिम्केश्वरीमाई मन्दिर पुनःनिर्माण गरेको छ । मन्दिर पुग्न गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा ४१ लाख ६३ हजार ७ सय ६ रुपैयाँ लागतमा ४ सय ८६ मिटर ढुंगाको सिँढी निर्माण भएको छ । आर्थिक वर्ष २०७६/७७ मा ३५ लाख ९९ हजार १ सय ४१ लागतमा ३ सय ५ मिटर ढुंगाको सिँढी र रेलिङ निर्माण गरिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।







तारकाङमा डेंगी अभिमुखीकरण
पोखरा १५ मा नागरिक सुनुवाइ
पर्वतकी रानी जोगाउने प्रयास
भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया