वैदेशिक रोजगारीमा जाने युवाका समस्या समाधान गर्छाैं: प्रधानमन्त्री दाहाल

राष्ट्रिय समाचार समिति (रासस) २०७९ चैत ८ गते १६:३४

काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोजगारीका लागि विदेश जाने युवालाई कुनै पनि किसिमले दुःख दिने, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताएका छन् ।

वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई समाजिक सुरक्षा कोषका योजनामा आबद्ध गराउने कार्यको शुभारम्भ गर्दै उनले भने, “अब दुःख दिने, दुःख पाउने दिन गए । अब सबैको सम्मान हुनेछ, सबैको आत्मसम्मानमा बढोत्तरी हुनेछ, यहाँहरुको योगदानको कदर हुनेछ ।”

उनले वैदेशिक रोजागारीका लागि नयाँ नयाँ अवसर र गन्तव्यको खोजी गर्ने मन्त्रालयको तयारीलाई समेत प्रोत्साहित गर्न चाहेको उल्लेख गर्दै श्रम सम्झौता हुन बाँकी देशहरुसँग सम्झौता गर्ने, भइसकेका सम्झौतालाई समय सापेक्ष बनाउने कार्यलाई अगाडि बढाइने बताए । उनले विदेशमा रहेका नेपालीको हकहित, सुविधा बढोत्तरी गर्ने र त्यसबाट हुने लाभलाई गुणात्मक रुपमा बढाउने विषय सरकारको प्राथमिकतामै रहेको जानकारी दिए ।

Advertisement

प्रधानमन्त्रीले अध्यागमनमा हुने रोजगारीका लागि श्रम स्वीकृति लिएर जाने युवाप्रति हुने फरक व्यवहार गरिने व्यवस्था अन्त्य भएको बताउँदै सरकारको प्राथमिकता भनेको जनतामुखी सेवा प्रवाह नै हो भन्ने विश्वास दिलाउन चाहेको स्पष्ट पारे ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया