खोकी नलाग्दा पनि हुन सक्छ क्षयरोग

सञ्जय रानाभाट २०७९ चैत १० गते १०:३६

सञ्जय रानाभाट, पोखरा ।
पोखरा १५ की सोबिता (नाम परिवर्तन) बिहीबार क्षयरोग उपचार केन्द्र पोखरामा महानगरको स्वास्थ्य शाखाकी अहेव अनिता गिरीसँग परामर्श लिँदै थिइन् । छोरालाई गत महिनादेखि क्षयरोग (टिबी) पोजेटिभ देखिएपछि परामर्श लिन उनी अस्पताल आईपुगेकी हुन् । उनले छोराको स्वास्थ्य क्रमिक सुधार भइरहेको सुनाइन् ।

‘औषधी पनि सकिएको थियो । अब के गर्ने, सुधार त भएको छ । कसो गर्दा छिट्टो सञ्चो हुन्छ भनेर आएकी,’ सोबिताले भनिन् ।

लगातार खोकी लाग्न थालेपछि गत महिना उनले छोराको स्वास्थ्य जाँच गराइन् । चेक गर्दा छोरालाई टिबी भएको पुष्टि भयो ।

Advertisement

त्यसपछि डाक्टरको परामर्शमा औषधी खुवाउन थालिएको हो । १७ वर्षका छोरालाई एक्कासी टिबी देखिएपछि उनको मन गह्रुँगो भएको छ । छरछिमेक, आफन्त कसैलाई थाहा दिएकी छैनन् । स्वास्थ्य मापदण्ड अपनाएर नियमित औषधी खुवाएकी छन् । सोबितालाई क्षयरोगको उपचार कसरी हुन्छ, सञ्चो हुन्छ कि हुँदैन भन्ने धैरथोर थाहा छ ।

४ वर्षअघि उनकी छोरीलाई पनि टिबी भएको थियो । नियमित औषधी खाएपछिसञ्चो भयो । ‘मलाई पनि टिबी पोजेटिभ देखिएको थियो । नियमित औषधी आएपछि सञ्चो भयो,’ बिहीबार आमासँग अस्पताल आएकी २१ वर्षीय छोरीले भनिन् ।

Advertisement

नियमित औषधी खाएपछि १ महिनामै टिबी नेगेटिभ आएको उनले बताइन् । ‘औषधी नियमित लिन थालेपछि एक महिनामै रिपोर्ट नेगेटिभ आयो तर, डाक्टरहरुले ६ महिना नियमित औषधी खाएर डोज पुर्‍याउनुपर्छ भनेपछि ६ महिनासम्मै खाएँ,’ छोरीले भनिन् ।

फोक्सो, छाला, आँखा, पाठेघर, मिर्गौला, हड्डीसहित शरीरका कुनै पनि अंगमा टिबी देखिन सक्छ

छोरालाई सुरुमा छाती दुखेपछि चेकजाँज गराएको सोबिताले बताइन् । ‘खोकीमात्र होइन, खाना नरुच्ने पनि हुँदो रैछ ।

छोराछोरी दुवैमा यस्तो लक्षण देखिएको थियो,’ सोबिता भन्छिन् । टिबीबारे पोखरा महानगरले स्वास्थ्य शाखामा परामर्श दिँदै आएको छ । यहाँ ६० देखि ७० जना परामर्श लिन आउने गरेको अहेब गिरी बताउँछिन् । ‘महागरभित्र २१ डट्स सेन्टर छन् ।

यहाँ प्रत्येक दिन ६० देखि ७० जना परामर्श लिन आउनुहुन्छ ।’ क्षयरोग (बिबी) माइक्रोबेक्टेरियम ट्युबरकुलोसिस नामक जीवाणुबाट लाग्ने रोग हो । श्वास नलीबाट, खकारबाट, हाछ्युँ गर्दा र हावाको माध्यमबाट यो रोग सर्छ । फोक्सो, छाला, आँखा, पाठेघर, मिर्गौला, हड्डीसहित शरीरका कुनै पनि अंगमा टिबी देखिन सक्छ । नेपालमा सास फेर्ने नलीबाट फोक्सोमा हुने टिबीको प्रकोप ठूलो छ ।

बोन टिबी भयो भने हड्डी खिइने र हिँड्न नसक्ने अवस्थामा आउन सक्छ । तर, नियमित औषधी खाए यो रोग सञ्चो हुने सामाजिक सुरक्षा तथा स्वास्थ्य निर्देशनालय गण्डकीका प्रमुख डा राजेन्द्रकुमार यादब बताउँछन् । बिहीबार विश्व क्षयरोग दिवसको अवसरमा पत्रकारसँग भएको अन्तक्र्रियामा यादवले यस्तो बताएका हुन् ।

दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागि रहनु, साँझपाखा हल्का ज्वरो आउनु र पसिना आउनु, खाना रुचि नहुनु, खकारमा रगत देखा पर्नु, तौल घट्दै जानु र थकाइ लाग्नु, छाती दुख्नु र सास फेर्न गाह्रो हुनु आदि क्षयरोगका लक्षण हुन् ।

कहिलेकाँही यीमध्ये केही लक्षणमात्र देखिन्छन् । खोकी नलागे पनि टिबी हुन सक्ने यादव बताउँछन् । नियमित रुपमा औषधी खाए क्षयरोग पूर्ण रुपमा निको हुन्छ ।
प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकी र राष्ट्रिय क्षयरोग केन्द्रले तोकेका स्वास्थ्य संस्थामा यसको औषधी निशुल्क पाइन्छ ।

टिबी भएका बिरामीलाई पोषण भत्तासमेत राज्यले दिँदै आएको छ । ‘भत्ताबापत उपचार अवधिभर मासिक ५ सय उपलब्ध हुन्छ । होस्टल बसेर उपचार गरे १ हजार र घरमा बसेर उपचार गरे ३ हजार दिइन्छ,’ यादवले भने ।

नेपालको आधा जनसंख्या क्षयरोगबाट संक्रमित भएको अनुमान उनले सुनाए । जसमध्ये करिब ६० प्रतिशत क्षयरोगी वयस्क छन् । हालै भएको राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्भेक्षणले नेपालमा वार्षिक ६९ हजार नयाँ बिरामी थपिने गरेको जनाएको छ ।

तीमध्ये ३५ हजार हाराहारीमा मात्रै क्षयरोगका बिरामी पत्ता लाग्छन् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको ०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार ३७ हजार ८ सय ६१ बिरामी दर्ता भएको आँकडा छ । तीमध्य ३ प्रतिशतको मृत्यु भएको देखिन्छ ।

गण्डकी प्रदेशमा मात्र गएको आर्थिक वर्षमा २४ सय ४७ जनामा टिबी पोजेटिभ देखिएको छ । तीमध्ये कास्कीमा सबैभन्दा धेरै छन् । कास्कीमा ६ सय ५२ जनामा टिबी देखिएको छ । चालु आर्थिक वर्षको ८ महिनामै गण्डकीमा १ हजार २ सय ५६ जना बिरामीलाई टिबी पोजेटिभ देखिसकेको छ । कास्कीमा ३ सय ६ जनामा टिबी देखिएको छ ।

पोखरा महानगरपालिकामा २ सय ९०, अन्नपूूर्ण गाउँपालिकामा ४, माछापुच्छ्रेमा ७, मादी गाउँपालिकामा ४ र रुपमा गाउँपालिकामा १ जनामा टिबी पोजेटिभ भेटिएको छ । क्षयरोग पोखरा कार्यालयका प्रमुख अरुणकुमार झाका अनुसार एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेपछि तुरुन्तै लक्षण देखिँदैन ।

लक्षण देखिन कम्तीमा ३ हप्ता लाग्छ । ‘३ महिना, ६ महिना, १ वर्षपछि लक्षण देखिन सक्छ । डिप्रेसन, प्रतिरोधात्मक क्षमता कम र शरीरमा पोषण तत्तवको कमी भएपछि लक्षण देखिने हो,’ उनले भने ।

क्षयरोगका बिरामी २०७९/८० (८ महिनामा)
क्रस महिला पुरुष जम्मा
पोखरा महानगरपालिका १२९ १६१ २९०
अन्नपूर्ण गाउँपालिका १ ३ ४
माछापुच्छ्रे गाउँपालिका १ ६ ७
मादी गाउँपालिका ३ १ ४
रुपा गाउँपालिका ० १ १

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया