मार्फा र टुकुचेमा ठूला कोल्ड स्टोर

सुन्दरकुमार थकाली २०७९ चैत २१ गते १०:५१

जोमसोम ।
स्याउको राजधानी मानिएका मुस्ताङमा स्याउ संकलन, प्रशोधन, गे्रडिङ र ताजा राख्न ठूलो लगानीमा २ कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण गरिने भएको छ । आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजित गण्डकी प्रदेशको कृषि विकास निर्देशानालयको ‘स्याउ बिशेष’कार्यक्रम अन्तर्गत मुस्ताङको घरपझोङ २ मार्फा र थासाङ १ टुकुचेमा सय/सय टन क्षमताका कोल्ड स्टोर निर्माणको तयारी अघि बढेको हो ।

कृषि विकास निर्देशनालयको स्याउ विशेष कार्यक्रम अन्तर्गत मागका आधारमा मार्फाको मार्फा कृषि सहकारी संस्था र टुकुचेका स्यालम बहुउद्देश्य सहकारी संस्थालाई ८५ प्रतिशत अनुदान दिने गरी कोल्ड स्टोर निर्माण गर्ने तयारी भएको हो । कृषि विकास निर्देशनालय पोखराका निर्देशक वासुदेव रेग्मीले एक कोल्ड स्टोरलाई चाहिने सबै पूर्वाधार निर्माण गर्न अधिकतम १ करोड २५ लाख रुपैयाँसम्म अनुदान दिइने जनाए ।

कोल्ड स्टोर निर्माणका लागि कृषि फार्म, समूह र सहकारीले १५ प्रतिशत लगानी गर्नुपर्ने छ । निर्देशनालयको पूरै तोकिएको अनुदान सहुलियत पाउन अनुदान प्राप्त कृषि संस्थाले १ करोडढ ४७ लाख लागतको पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ । यद्यपि अनुदान प्राप्त संस्थाले त्यसभन्दा कम लागतमा पूर्वाधार निर्माण गरेमा लागत अनुसार तोकिएको अधिकतम लागत अनुदान घटेर ८५ प्रतिशतले अनुदान पाउने कृषि विकास निर्देशक रेग्मीको भनाइ छ ।

Advertisement

मुस्ताङमा निर्माण हुने कोल्ड स्टोर अहिलेसम्मकै ठूलो लागतको हो । यसको क्षमता १ सय टनसम्म हुनेछ । यो कोल्ड स्टोर निर्माण भएमा घरभपझोङ र थासाङका स्याउ किसान लाभान्वित हुने छन् । स्याउ विशेष कार्यक्रम अन्तर्गत राष्ट्रिय योजना आयोगले कृषकलाई स्याउको बजारीकरण गर्न बर्सेनि कृषि विकास निर्देशनालयलाई सशर्त बजेट उपलब्ध गराउने गर्छ ।

कोल्ड स्टोरमा गण्डकी सरकारको ८५ प्रतिशत अनुदान र कृषि फार्म, समूह र सहकारीको १५ प्रतिशत लगानी हुने

Advertisement

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशले चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट ठूलो क्षमताका २ कोल्ड स्टोरका अलावा अरु थप ५ वटा स्याउ भण्डारण गर्ने कोल्ड रुम (चिस्यान कक्ष) निर्माण गर्ने योजना छ । चालु आर्थिक वर्ष निर्माण हुने १० देखि १५ टन क्षमताको कोल्ड रुमका १० लाखसम्म अनुदान दिइनेछ ।

१० देखि १५ टन क्षमताको कोल्ड रुपमा निर्माणका लागि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र २ को अम्बे अर्गानिक कृषि फार्म , घरपझोङ ५ को मुस्ताङ हिमालयन एग्रो प्रालि, घरपझोङ ५ ठिनीको मुस्ताङ भ्याली अर्गानिक एग्रिकल्चर, घरपझोङ–२ मार्फाको मार्फा मितेरी कृषि सहकारी संस्था र वारागुङ मुक्तिक्षेत्रको मुक्तिक्षेत्र २ को मुक्तिक्षेत्र दोधाङ कृषक समूहले अनुदान पाउने छन् । उनीहरुलाई ८५ प्रतिशत अनुदान दिइनेछ ।

चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन इकाइ स्याउ जोनले मुस्ताङमा १०/१० टन क्षमताका २ कोल्ड रुम निर्माण गर्ने जनाइएको छ । यसका लागि अनुदान सिफारिससमेत भइसकेको छ ।

मुस्ताङमा स्याउ विशेष कार्यक्रम आर्थिक वर्ष २०७६/०७७ देखि कार्यान्वयनमा आएको हो । हालसम्म १ निजीसहित ७ कोल्ड रुप निर्माण भई सञ्चालनमा आईसकेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख बस्ताकोटीले जानकारी दिए । मुस्ताङमा ५ देखि २० टनसम्मका स्याउ कोल्ड रुम बनेका छन् ।

यसअघि मुस्ताङको पान्डा खोलामा १, घरपझोङको सम्लेमा १, मार्फामा ३ र टुकुचेमा १ गरी ६ कोल्ड रुम सरकारी अनुदानमा निर्माण भएका हुन् । थासाङ १ मा पनि स्थानीय सरोज तुलाचनले निजी लागनीमा कोल्ड रुम निर्माण गरेका छन् । अहिलेसम्म निर्माण भएका ७ वटा कोल्ड रुमको क्षमता ८० टन रहेको कार्यालय प्रमुख बस्ताकोटीले उल्लेख गरे ।

मुस्ताङमा बेमौसममा पनि स्याउ बिक्री गरी कृषक समूह, फार्म र सहकारीले आम्दानी लिन सकून् भनी कोल्ड स्टोर /कोल्ड रुम निर्माणमा सरकारले चासो दिएको हो ।

मुस्ताङमा पुस/माघ महिनामा स्याउ बगैचा व्यवस्थापन र नयाँ विरुवा लगाउने गरिन्छ । यसरी स्याउ बगैचा व्यवस्थापन गरेपछि भदौ/असोज महिनामा स्याउ टिप्न सुरु हुन्छ ।

झन्डै ६ हजार मेट्रिक टनसम्म उत्पादन हुने स्याउ मंसिर नलाग्दै मुस्ताङमा सकिन्छ । स्थानीय बजार र स्याउ व्यापारीले ठेक्का लिएर यहाँको स्याउ पोखरा/काठमाडौ पुर्‍याउँछन् । तर, मुस्ताङमा सिजनको बेलामात्र होइन, अफ सिजनमा पनि मुस्ताङमा आउने पर्यटक स्याउ पारखीलाई ताजा स्याउ बिक्री गर्न र स्याउको बजार व्यवस्थापन गर्न कोल्ड स्टोर निर्माणले योगदान पु¥याउने मार्फाका किसान दीपक लालचन बताउँछन् ।

अहिले केही स्थानमा साना क्षमताको कोल्ड स्टोरमा भण्डारण गरिएका स्याउ जोमसोम बजारमा फुटकर बिक्री भइरहेको छ । बिक्रेताले सिजनका बेला बिक्री गर्ने मूल्यभन्दा दोब्बरमा भण्डारण गरिएको स्याउ बिक्री हुन्छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया