मुस्ताङका कृषकलाई हाते ट्याक्टर

समाधान संवाददाता २०७९ चैत २१ गते ११:०८

जोमसोम ।
मुस्ताङका कृषकलाई ५० प्रतिशत सहुलियतमा हाते ट्याक्टर वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मुस्ताङले जोनमा सूचीकृत कृषि फार्म, समूह र सहकारीलाई हाते ट्याक्टर अनुदानमा दिएको हो ।

२०७९/०८० मा विनियोजित १८ लाख बजेटबाट जिल्लाका १२ कृषि फार्म, समूह र सहकारीलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको छ ।

परियोजनाका अनुसार जिल्लाका कृषकले पाउने उपकरण खरिदको अनुदान सुविधा नदोहोरिने गरी हाते ट्याक्टर कृषक समूह, फार्म र सहकारीलाई उपलब्ध गराएको हो । यसअघि अनुदान नलिईएका मध्येबाट घरपझोङ गापामा ७ थान, वारागुङ मुक्तिक्षेत्र गापामा ३ थान र थासाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा समान १/१ थान हाते ट्याक्टर र ५० प्रतिशत अनुदानमा वितरण गरिएको परियोजना इकाइका कृषि अधिकृत नेत्रप्रसाद भट्टले जानकारी दिए ।

Advertisement

परियोजनाले अनुदानमा उपलब्ध गराएका हाते ट्याक्टरमध्ये ८ वटा डिजेलबाट चल्ने र ४ वटा पेट्रोलबाट चल्ने छन् डिजेलबाट चल्नेको १ लाख २० हजार र पेट्रोलबाट चल्ने हाते ट्याक्टरको ८० हजार पर्छ । जिल्लामा ९० वटा संस्थालाई खेत जोत्ने हाते ट्याक्टर वितरण भइसकेको छ । अन्य १ सय ४७ वटा कृषि उपकरण वितरण गर्ने तयारी भइरहेको कृषि अधिकृत भट्टको भनाइ छ ।

कृषिमा यान्त्रिकीकरण गरी कृषि उत्पादन वृद्धि गर्ने र उत्पादन खर्चको लागत घटाउने उद्देश्यले परियोजना कार्यान्वयन इकाइ मुस्ताङले गत वर्ष जिल्लाका कृषक फार्म, समूह र सहकारीलाई २३ थान हाते ट्याक्टर अनुदानमा वितरण गरेको थियो । कृषि यान्त्रिकीकरण उपकरणमा अनुदान पाएपछि जिल्लाका कृषकलाई कृषि कर्म गर्न सहज भएको मार्फाका कृषक दीपक लालचन बताउँछन् ।

Advertisement

तपाईको प्रतिक्रिया