२ करोडको बार्गेनिङले श्रेष्ठको सांसद पद धरापमा

रास्वपाले कारबाही गरी पार्टीबाट निस्कासित गरे पदमुक्त हुनेछन्

रिखिराम जिसी २०७९ चैत २७ गते १०:३२

रिखिराम जिसी, पोखरा
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले साढे २ करोड रुपैयाँ मागेको अडियो बाहिरिएको छ । २ करोड मागेको अडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

रास्वपाले सत्यतथ्य छानबिन गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशनसमेत दिइसकेको छ । छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन निर्देशन दिएको रास्वपाले जनाएको छ ।

सार्वजनिक भएको अडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईंलाई सुनाएका छन् । उनले प्रसाईंसँग २ करोड रुपैयाँ व्यवस्थापन गरिदिन पनि आग्रह गरेका छन् । उनले तत्काल १ करोड भए पनि मन्त्री बनाउन पार्टी सभापति रवि लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन् ।

Advertisement

प्रसाईंले २ करोड रुपैयाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने सर्त राखेको अडियोमा सुनिन्छ । रास्वपा सभापति लामिछानेले सांसद श्रेष्ठलाई ७२ घन्टाभित्र छानबिन गरी दोषी देखिए कारबाही गर्ने बताएका छन् ।

बारामा आयोजित चुनावी सभामा लामिछानेले भने, ‘मैले ७२ घण्टाको अल्टिमेटम दिएको दुई घन्टा बितिसक्यो, ७० घण्टा बाँकी छ । ७० घण्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न सकिन भने मलाई यही गढीमाईमा बली दिनुहोला ।’

९९ लाख हिनामिनाको आरोप
२ करोड रुपैयाँ मागेको अडियो बाहिरिएर विवादमा आएका सांसद श्रेष्ठलाई पोखराको साथी किसान सहकारी संस्थाको झण्डै १ करोड रुपैयाँ हिनामिना गरेको आरोपसमेत छ । उनी गत कात्तिक ७ गतेसम्म उक्त सहकारीको अध्यक्ष थिए ।

Advertisement

सहकारीले उनलाई ९९ लाख रुपैँयाको हिनामिना गरेको आरोप लगाएको छ । श्रेष्ठ सांसद भएपछि सहकारीको अध्यक्षमा सनी पाठक गत कात्तिक ८ गते अध्यक्ष भएका थिए । श्रेष्ठ हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप नयाँ कार्यसमितिका सदस्यहरु बताउँछन् ।

सहकारीले कुखुरापालन तथा मासु व्यवसायलाई सहयोग गर्दै आएको थियो । तर, कुखुरा खरिदबिक्रीबाट प्राप्त हुनुपर्ने ९९ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भइसकेको र त्यसको कुनै पनि बिल भर्पाइ नदेखिएको कार्यसमिति सदस्यहरु बताउँछन् ।

त्यो बेला सांसद श्रेष्ठले आफूलाई लगाएको आरोप निराधार रहेको प्रतिक्रिया दिएका थिए । ‘म निर्दाेष छु । मैले संस्थाबाट नाफा हुँदै र राम्रो अवस्थामा हुँदै छाडेको थिएँ । देशको समस्या समाधान गर्न सांसद भएँ । अहिले मलाई नै आक्षेप लगाइयो,’ उनले भनेका थिए ।

अर्कोतर्फ सहकारीका बचतकर्ताले पैसा फिर्ता नपाएको भन्दै गुनासो गरेका छन् । उनीहरु आफूले बचत गरेको रकम फिर्ता नपाएको भन्दै पुस अन्तिमतिर पोखरा महानगरपालिका पुगेका थिए । महानगरले बचतकर्तालाई ३ महिनाभित्र रकम फिर्ता गर्न सहकारीलाई निर्देशन दिएको थियो ।

तर, अहिले सहकारी नै बन्द छ । डा. ढाकासँग हिनामिनाको विषयमा छलफल भइरहेको सहकारीका सहसचिव हर्क नेपाली बताउँछन् । ‘डा. ढाकासँग हामी बसेको हो, उहाँले के भन्नुभएको थियो भने त्यही थाहा हुन्छ, तपाईं हामी गएर अख्तियारमा मुद्दा हालौं न भन्नु भएको थियो,’ उनले भने, ।

फसेको पैसा उठाउन आफूहरु लागिपरेको सहसचिव नेपालीको दाबी छ । उनी भन्छन्, ‘हामी बारम्बार बसिराखिएको छ, बजारमा फसेको पैसा उठाउन कस्सिएको हो । २०/३० लाखको चेक बाउन्स गरेर जिप्रका बुझाएका छौं ।’

हाल यो सहकारीमा १ सय ५ सेयर सदस्य छन् । बचत रकम ८२ लाख ७२ हजार रहँदा ९९ लाख रुपैयाँभन्दा बढी उठाउनुपर्ने हिसाब रहेको सहकारीको दाबी छ ।

चम्किन सक्छ मेघबहादुरको भाग्य
सांसद श्रेष्ठमाथि लागेको आरोप प्रमाणित भए उनी पार्टीबाटै निस्कासित हुन सक्छन् । पार्टीले निस्कासित गरेको खण्डमा उनी स्वतः सांसद पदबाट मुक्त हुन्छन् । तर, उनले अडिओ एडिट भएको दाबी गर्दै आफूले छानबिनमा सघाउने पार्टीमा जानकारी गराइसकेका छन् ।

सांसद पदमुक्त हुन उनलाई पार्टीले निस्कासित गरेको पत्र संसद सचिवालयमा पठाउनुपर्छ । संसद् सचिवालयमा आएको पत्र सभामुखले प्रतिनिधि सभाको बैठकमा पढेर सुनाएपछि उनको संसद पद जान्छ ।

सभामुखले उक्त पद रिक्त रहेको जानकारी गराइसकेपछि मात्रै निर्वाचन आयोगले नयाँ प्रक्रिया थाल्नेछ । श्रेष्ठ समानुपातिक कोटाबाट सांसद भएका हुन् । उनी आदिवासी जनजाति क्लस्टरबाट आएका थिए ।

उनी दोषी पाइएको अवस्थामा कारबाही गरेको पत्र प्राप्त भएपछि मात्रै आदिवासी जनजाति क्लस्टरबाट दोस्रो सूचीमा रहेका मेघबहादुर आले रास्वपाबाट सांसद बन्ने छन् ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया