चन्द्रमा जस्ता चन्द्रबहादुर

मदन भण्डारी २०८० वैशाख ३ गते १२:५२

‘हजुर चन्द्रबहादुर ?’
‘हजुर, कामले त म बहादुर छैन, नामले चन्द्रबहादुर !’
एक जना विद्वानसितको चिनापर्चीका क्रममा डा. चन्द्रबहादुर गुरुङ भन्दैथे । उनको व्यक्तित्वले खिचिएँ । चियाको क्रम चल्दैथ्यो । मिडियाको प्रसंग आयो । ‘हामी जनपक्षीय मिडिया खोज्छौँ, नेपाली मिडिया नै छ जस्तो लाग्दैन !’ गुरुङ दाइको कथन थियो ।

विस २०७४ मै ‘मेम साहेब’ कथा संग्रह हात परेको हो । प्रणय, शिशुको जन्म र सँस्कार झल्किने आवरण आकर्षक छ । नाममा ‘अक्राङे’ पनि झुण्डिएको छ । चन्द्रबहादुर लाहुरे पनि रहेछन् । लाहुरे नेपाली मनको मीठो बिम्ब हो । पहिले पहिले छुट्टीमा गाउँ आएका लाहुरेलाई अर्कै लोकको प्राणी जस्तो मानिन्थ्यो ।

नेपाली धर्ती र आकासमा लाहुरेका अनेक कथाव्यथा व्याप्तिएको छ । ०७९ को अन्त्यतिर ‘मेम साहेब’लाई मायाले मुसारेँ । ८० काटेर बसी खाने बेलामा पनि डा. चन्द्रबहादुर गुरुङ प्रेरक व्यक्तित्वको रुपमा रहेका छन् । उनी जीवन बाँच्ने कलाका उज्ज्वल नमूना हुन् ।

Advertisement

१) लन्डन अन्डरग्राउन्ड– कथाले सुरुमै कौतुहलता जगाउँछ । आजभन्दा १८ वर्षअगाडि ब्रुनाइको सुल्तानको दरबार नजिकै गोर्खा पल्टन बोकेको हवाइजहाज उत्रियो । त्यो पल्टनले छापामारहरुद्वारा घेराबन्दीमा पारिएका सुल्तानलाई मुक्त गरायो ।

छापामारका नेता आजाहारीलाई हिरासतमा लिइयो ।

Advertisement

काम तमाम भएपछि ८ हजार गोर्खालाई परदेशबाट घरदेश फिर्ता पठाइयो । सकस पर्दै जाँदा सकसबहादुरले कामको खोजीमा फेरि भारत पुगेर पेपर मिलको पेन्सन पकाए । फेरि बेलायत जाने मौका आयो, गए । तर मनचरो उडेर स्याङ्जाको साल्मेमा रमाइरह्यो ।

नासोका कथाझैं मेम साहेबका १८ कथा पाठकलाई रुवाउँछन्; हसाउँछन्; इतिहास र वर्तमान पढाउँछन्

२) गाली भाउजू: यो कथाले दिनदिनै समाजमा घट्ने घटनालाई कलात्मक सम्प्रेषण गरेको छ । पौरखी गाली विधवा थिइन् ।

गाउँकै जण्ड मान्छे चित्रेको गर्भधारण गर्छिन् । ठालूहरुद्वारा सोधपुछ गरिँदा निर्धक्क सत्य कुरा ओकल्छिन् । चित्रे गालीको हत्या गर्ने ध्वाँस दिँदै हिँड्छ, ठालूहरु डराउँछन् । गालीले आफैं छोरी हुर्काउँछिन् ।

४) गोरा साहेबको इच्छा – एक जना गोराको नेपाली धर्म छोरोले नेपालमा निकै उधूम मच्चाए । उनी जस्तापाता बाँडेर चुनाव जित्थे । ‘प्रधानमन्त्री हुन कति पैसा चाहिन्छ ?,’ गोरा साहेब सोध्थे अरे । ती गोरा साहेबले बेलायतमा प्राण त्याग्दा पनि नेपाली सँस्कार खोजेका थिए । नेता छोरो बैगुनी निस्क्यो ।

४) विसर्जित नारा – अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद मुर्दावाद फलाकेरै डल्ले नेता बन्यो । डल्लेको नाम डबलबहादुरमा फेरियो, ऊ शिक्षा सहायक मन्त्री भयो । श्रीमती महङ्गो गहनाले छपक्कै भई । डल्लेको क्रान्तिकारी नारा विसर्जित भयो ।

५) कुरा त्यही हो, बुझै भैगो – हारपाखे गाउँको टाठो ठग थियो । ऊ सहर पसेर ज्योतिष शिरोमणि हरेराममा रुपान्तरित भयो ।

राति डनहरुको फोन आउँदा कुरा त्यै हो…को थेगो सम्झिन्थ्यो ।

६) राँगे साहेब– ‘छोलुवा साहेबले बिहान सजाय गरेको सिपाही ब्यारेक नजिकैको जङ्गलमा झुण्डिएर मरेछ तर घटना गुपचूप राखियो ।’ यो घटनाले हामीलाई गणतन्त्र नेपालमा फैलिएको आत्मदाहलाई सम्झाउँछ । हाम्रो सत्ताका राँगेहरु जस्तै सेनाका राँगे साहेब ‘आरएनजिई’ लाई राँगे पढ्छ र आफ्नो अपमान ठान्छ ।

७) पञ्चायती राजनीति– ‘राजाले जे भन्छन्, त्यही नै पञ्चायत हो !’ पञ्चायत यस्तो थियो । आज ४/५ जना नेताले जे भन्छन् त्यही नै गणतन्त्र हो । पञ्चायतमा अनेक पञ्चहरु जनसेवी थिए । ती मर्दा महिलाहरु धर्धती रुँदै तीजे गीत गाउँथे, आज नेतालाई सत्तोसराप गरिन्छ ।

८) ट्यापे– ‘आफूलाई पैसा दिन रोक्यो भन्ने आरोपमा ट्यापेले आफ्नै भाइलाई छुरी हानी मारिदियो । सज्जन छोरो मारिए भने ट्यापे जेलमा छ !’ टुप्पाबाट पलाएका नेता–मन्त्रीको हालत कथामा सुन्दर ढंगले वर्णित छ ।

९) मेम साहेब– ‘मेम साहेबको कुराले कान्छाले पनि लख पायो !’ मेम साहेबहरु ‘लख’ दिन्छन् । प्रकृतिमा भालेले फकाउँछ । कुकुरले हप्तौँ, महिनौँ फकाएको हामी देख्छौँ । भाले मजुरको पोथी फकाउने नाँच युगौँ युगदेखि विख्यात छ । मान्छेको समाजमा चाहिँ उच्च घरानियाँहरु भुसतिघ्रेलाई लख दिन्छन् ।

१०) मोटेको फुर्लुङ– माछा मार्दाका सहभागीमा मोटे अतिरिक्त काम गथ्र्यो । माछा बाँडिँदा चोथ्र्यो । अरुले नदेखेझैँ गरिदिन्थे । हाम्रा महान कविहरु आफ्ना काला कर्तूत अरुलाई थाहा छैन ठान्छन् ।

११) राणाकालीन न्याय– सन् १९०१ जूनमा देव शमशेरलाई लखेटेर चन्द्र शमशेर श्री ३ भए । उनको हत्याको षडयन्त्रमा लागेका खड्गको रिस केही निरीहमा थोपरेर ज्यान सजायको फैसला गरियो । एक जना सुनारले चन्द्रसमक्ष सत्य बक्ने मौका पाउँदा सबैले ज्यान सजायबाट मुक्ति पाए ।

१२) मनोदशा– वण्र्य कथामा अमेरिकी जुम्ल्याहा भवन ध्वस्त पारिँदाको मनोदशा चित्रित छ । आतङ्कारी आफ्नो ज्यानको परवाह नगरेरै अरुको आदेश पालना गर्छन् । आँखामा आजको नेपालका सत्तासीन आतंककारी झल्झली हुन्छ ।

१३) बालमन्दिर– यहाँ बालमन्दिर स्थापनाको उद्देश्य, इतिहास र वर्तमानको चित्रण छ । ‘पञ्चायतको अन्त्यपछि हरेक जिल्लाका बालमन्दिरहरु गोदाममा परिणत भएका छन् ।’ दरबारका रखैलहरु बालमन्दिरमा परोपकारी आमा हुन्थे, आज नेताका लभहरु मानव अधिकारका उच्च तहमा जागिरे हुन्छन् ।

१४) घर– सहरमा मागी खाने अन्धाअन्धीको प्रेम बिहे हुन्छ । छोरो पाउँछन् । ऊ होटलमा भाँडा माझ्छ, बाबुआमा पाल्छ । ‘घरको परिभाषा सायद शान्ति हो । उनीहरुको घरमा सधै शान्ति छ ।’

१५) गोरु मेजर– श्रमको पर्याय जस्तै शब्दलाई हामीले गाली बनाएका छौँ । अर्कालाई गोरु भन्ने मेजरलाई अरुले पनि गोरु भन्थे । सोझा मेजरका फलफूल खेती दुष्ट छिमेकीले बिनास गरिदिन्छन् ।

१६) झाँक्री बाजे– दूध चोरलाई झाँक्री बाजेको जोखानाले देख्दैन, बरु बिचारीले आफैं गोठ कुरेर चोर भेट्टाउँछ ।

१७) विचलन– ‘सुब्बा जीवनको अन्तिम घडीमा पनि भगवानको नाम लिन छाडेर घरमा आउनेहरुलाई हप्काउँथे ।’ यो सामन्तकालीन कुरा हो, आजका नवसामन्त ती सुब्बा जस्तै छन् ।

१८) म्होँसी– नेपाली भाषा साहित्यको सर्वोत्तम ८/१० ओटा कथा छानिँदा म्होँसी पक्कै पर्ला । कालुकी प्रेमीकाले ‘त्यो फेरि फर्कला ?’ लाई सम्झाउँछ ।

नासोका ११ कथा झैँ मेम साहेबका १८ कथा पाठकलाई रुवाउँछन्/ हसाउँछन्; इतिहास र वर्तमान पढाउँछन् । मरेर स्वर्ग जाने चाहनाभन्दा बढी मेम साहेबले पाठकमा जिउँदै साल्मे जाने हुटहुटी बढाउँछ । लेखकको यही शक्तिलाई डा. सुरेन्द्र केसी भन्छन्, ‘सैनिक पृष्ठभूमि भए पनि बौद्धिक अभ्यासमा सिद्धहस्त !’

श्यामल भन्छन्, ‘लाहुरे सँस्कृति चियाउने आँखीझ्याल !’ डा. चन्द्रबहादुर गुरुङ विरलाकोटीका बौद्धिक हुन् । जीवन व्यवहारमा शिष्टताप्रति फूलझैँ कोमल छन् । जूनझैँ शीतल छन् । एक सम्मानित स्रष्टाप्रति नयाँ वर्ष २०८० को शुभकामना भन्नुमात्रै पनि गर्ववोध हुन्छ । खोट खोज्दै रौँचिरा कुरा गरिँदा राजसंस्थाको दुर्बल पक्ष देख्नेले सबल पक्षप्रति अनदेखा गरेजस्तो लाग्छ ।

गोरु खालि बन्नुपर्ने गोर्खालीको नियतिलाई राम्ररी बुझेका दाइ हजुर जीवनको उत्तरार्धमा हुनुहुन्छ, अझै यहाँबाट ठोस र मौलिक विचार आउने आशा र विश्वास लिन सकिन्छ ।

मदन भण्डारी

साहित्यकार भण्डारी राजनीतिक क्षेत्रमा पनि विश्लेषणात्मक कलम चलाउँछन् 

तपाईको प्रतिक्रिया