को बन्ला वर्ष उत्कृष्ट प्रशिक्षक ?

समाधान संवाददाता २०८० वैशाख १७ गते १०:५५

पोखरा ।
पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणको मिति नजिकिँदै छ । कार्यक्रम भव्य बनाउन आयोजकले मुल आयोजक समिति र तेह्र विभिन्न उपसमिति बनाएको छ । यही वैशाख २३ गते शनिबार दिउँसो पोखरा सभागृहमा कार्यक्रम हुनेछ ।

अवार्डमा वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ कडा प्रतिष्पर्धा देखिन्छ । यो विधामा आर्चरीका किशोरकुमार गुरुङ केके, टेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज मनोनयनमा परेका छन् ।

किशोरकुमार गुरुङ
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरीले गण्डकी प्रदेशलाई सर्वाधिक १३ पदक जिताउँदा किशोरकुमार गुरुङ प्रशिक्षकको जिम्मेवारीमा थिए । उनकै प्रशिक्षणमा रहेको आर्चरी टिमले गण्डकीलाई ७ स्वर्ण, ४ रजत तथा २ कास्यसहित १३ पदक दिलाएको हो ।

Advertisement

नेपाल आर्चरी संघका केन्द्रीय सदस्यसमेत रहेका किशोरले नेपालमै आर्चरी खेल भित्राएको आर्चरी संघ गण्डकी अध्यक्ष वसन्त थकालीको भनाइ छ । ६५ वर्षका किशोरा सिंगापुर पुलिस फोर्समा रहँदा उनले त्यहाँ पनि यो खेल सिकाएका थिए । सन् १९९८ तिर सिंगापुरमै रहँदा भारतीय प्रशिक्षक लक्ष्मणबाट उनले यो खेल सिकेका हुन् ।

नेपाल आएपछि सन् २००४ मा उनले यो खेल सिकाउन सुरु गरेका थिए । त्यसो त उनले आर्चरीभन्दा पहिला सुटिङ सुरु गरेका थिए । माओवादी द्वन्दका बेला सुटिङलाई निरन्तता दिन नसकेपछि आर्चरीतर्फ मोडिएका थिए । किशोर हाल पोखरा १५ लक्ष्मीटोलमा बस्छन् ।

Advertisement

निरज थापा
२ दशकअघि काठमाडौंबाट पोखरा आएका निरज थापाले पोखरालाई नै स्थायी भूमि बनाए । अहिले उनी आफ्ना दुई छोरा र अन्य थुप्रै शिष्यसहित पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा टेनिस सिकाइरहेका देखिन्छन् ।

निरजलाई पोखरेली टेनिस खेलाडी रसियन गुरु भन्छन् । २०५९ मा नदीपुरको रत्नश्री जिम टेनिस कोर्टमा उनले टेनिस सिकाउँदा पोखराका अग्रज टेनिस खेलाडीहरु समीर शेरचन, बुद्धि हिराचन, राजु श्रेष्ठ, अनिल गुरुङ, बिनोद कायस्थ, दोर्जे लामा लगायत त्यो कोर्टमा देखिन्थे ।

केही समयपछि कुमार अधिकारी, महेश्वर तिवारी लगायतका त्यहाँ आए । अहिले कास्कीमा टेनिस प्रशिक्षकका रुपमा चिनिने अनिल शाही, शक्ति शर्मा लगायतले निरजसँगै र्‍याकेट समात्न सिकेका थिए । लगातार ४ वर्षदेखि नेपालको शीर्ष वरियता प्राप्त प्रदीप खड्का निरजकै चेला हुन् ।

नवौंमा गण्डकीले ३ स्वर्ण, २ कास्य जित्दा निरज प्रदेशका प्रशिक्षक थिए । प्रदीपले यही वर्ष पोखरामा भएको माछापुच्छ्र्रे बैंक राष्ट्रिय टेनिस, सिटिजन कप राष्ट्रिय ओपन तथा बुटवलको मेयर कप गरी ५ स्वर्ण पदक हात पारेका छन् । छैठौं संस्करणको पोखरा स्पार्टस अवार्डमा उनले उत्कृष्ट प्रशिक्षकको उपाधि पाएका थिए ।

सुरज सुनार
४ डान प्राप्त तेक्वान्दो प्रशिक्षक सुरज सुनारको प्रशिक्षणमा रहेको गण्डकी प्रदेशको आइटीएफ तेक्वान्दो खेलाडीले नवौंमा १४ पदक दिलाउँदा यो प्रदेशलाई सर्वाधिक मेडल दिलाउने खेल बन्यो । आइटीएफ तेक्वान्दोले यो प्रदेशलाई ५ स्वर्ण, ७ रजत तथा २ कास्य पदक दिलाएको थियो ।

पोखरा २९ पटनेरीका सुनार २०६० बाट खेलाडीका रुपमा यो खेलमा आएका हुन् । भण्डारढिकको सैनिक आइटीएफ दोजाङमा प्रकाश थापामगरलाई गुरु मानेर ‘गी’ लगाएका उनले ०६४ देखि त्यही दोजाङमा प्रशिक्षकका रुपमा आफूलाई उभ्याए । उनले भरतपोखरी तेक्वान्दो दोजाङमा पनि सयौं विद्यार्थीलाई सिकाए ।

यसअघि उनले आइटीएफ जुनियरतर्फ राष्ट्रिय प्रशिक्षक, तथा आइटीएफ अन्र्तराष्ट्रिय रेफ्रीको भूमिका पनि निर्वाह गरिसकेका छन् । खेलाडीका रुपमा पनि उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइसकेका छन् ।

अवार्डमा वर्ष उत्कृष्ट प्रशिक्षकसहित वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव पौडेलले जनाए । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघ, संस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।

तपाईको प्रतिक्रिया