रेडक्रस गण्डकीको सभा

समाधान संवाददाता २०८० वैशाख १७ गते १७:५०

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी गण्डकीको पाँचौ साधारण सभा भएको छ । सभामा मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सात सिद्धान्तले नै रेडक्रसको परिचय दिने बताए ।

उनले प्राकृतिक प्रकोप पूर्वतयारी र प्रकोप पछिको अवस्थामा रेडक्रसले खेलेको भूमिका प्रशंसनीय रहेको जनाए । गण्डकी प्रदेश पनि प्रकृतिक प्रकोपबाट बढी प्रभावित हुने क्षेत्र भएकाले रेडक्रसको ठूलो भूमिका रहेको उनको भनाइ छ । भूकम्पको अवस्थामा पनि रेडक्रसले उल्लेखनीय भूमिका निर्वाह गरेको उनले स्मरण गरे ।

मुख्यमन्त्री पाण्डेले रेडक्रसको केन्द्रीय अधिवेशन केही वर्षदेखि रोकिएको र रेडक्रसको नेतृत्व गर्नेमा समस्या देखिएको जनाए ।

Advertisement

६० वर्षसम्म मानवीय सहयोगका लागि काम गरेको संस्थालाई व्यवस्थित गर्नुपर्नेमा उनको जोड छ ।

रेडक्रस लुम्बिनी अध्यक्ष कृष्ण पंगेनीले रेडक्रसले खेलेको भूमिकालाई केही घटनाका आधारमा नजरअन्दाज गर्न नहुने विचार राखे । प्रदेश संरचना नयाँ भएकाले स्थापित गर्नका लागि सबैले पहल गर्नुपर्ने उनले बताए ।

Advertisement

रेडक्रस बागमगी महासचिव रामजी पौडेलले केन्द्रीय समितिको महाधिवशेनका लागि जिल्ला जिल्लाबाट दबाब दिनुपर्ने बताए ।

उनले रेडक्रसको असल प्रयासलाई धमिलो हुन दिन नहुनेमा जोड दिए । नेपाल रेडक्रस केन्द्रीय कार्यालयकी निर्देशक पूजा कोइरालाले नेपाल रेडक्रसको अन्तर्राष्ट्रिय पहिचान उत्कृष्ट रहेको बताइन् । कोइरालाले समितिविहीन भए पनि केन्द्रीय रेडक्रसले नियमित रुपमा सञ्चालन भइरहेका कार्यलाई निरन्तरता दिएको सुनाइन् ।

तनहुँ रेडक्रसका सभापति प्रडा कृष्णप्रसाद गौतमले रेडक्रसका गतिविधिलाई निरन्तर समाजसँग जेड्नुपर्ने बताए । युवा रेडक्रस सर्कल भनुभक्त क्याम्पस तनहुँका सभापति सुनिता तिवारीले रेडक्रसबाट आफूले सिक्ने अवसर पाएको बताइन् ।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमिल्सिनाले रेडक्रसको भूमिकालाई कमजोर हुन दिन नहुने विचार राखिन् ।

कार्यक्रममा रेडक्रस पर्वत र कास्की शाखाका कर्मचारीलाई दोसल्ला, प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा पर्वत रेडक्रस कार्यालय प्रमुख खेमबहादुर क्षेत्री र कास्की शाखा प्रमुख मोहनसिंह खड्का छन् ।

सभामा महासचिव रामदत्त पौडेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष नारायणप्रसाद घिमिरेले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक देवीलाल शर्मा तिमिल्सिनाले लेखा प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष सूर्यप्रसाद ढकालले प्रदेशको भूमिकालाई बढाउन आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया