मर्सानीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

समाधान संवाददाता २०८० वैशाख १८ गते ११:०३

पोखरा ।
सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङ खेलका वरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्डका लागि गठन गरेको प्रतिभा छनोट उपसमितिले गरेको सिफारिसको आधारमा ३५ वर्ष प्रशिक्षक भएरै खेलकुदमा जीवन अर्पण गरेका मर्सानीलाई अवार्ड प्रदान गर्न लागिएको हो ।

उपसमितिको सिफारिसलाई मञ्चको २३ औं बैठकले अनुमोदन गरेको हो । यस अगाडि कृष्ण थापा, खड्क बहादुर रानाभाट, डा वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित र गणेश बहादुर भट्टराईले यो विधाको पुरस्कार पाएको मञ्चका महासचिव राजाराम पौडेलले खुलाए ।

शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिनेछ ।

Advertisement

विस २०१९ असार १३ गते तनहुँको बन्दीपुरमा विद्याप्रसाद मर्सानीको जन्म भएको हो । ३ जना भाइ र १ जना बहिनीमा जेठो सन्तान हुन् उनी ।

मर्सानीलाई बक्सिङ खेलमा रस पसेको १५ वर्षको उमेरदेखि हो । जागिरे बुवाको प्रेरणामा २०३४ सालअघि नै साथीहरुसँग बक्सिङ खेल्न थालें । बुवाको नोकरीको सिलसिलामा जर्मनी प्रोजेक्ट अन्तर्गत खैरहनी क्वार्टरमा रहँदा ननलिस्टिङ प्रतियोगिता एनसिसीबाट खेलेका थिए ।

Advertisement

त्यो समयमा पोखराकै आशबहादुर गुरुङ, जसको सहयोगमा महेन्द्रपुल युथ क्लब मार्फत् बक्सिङका लागि प्रशिक्षण लिने दिने काम पोखरामा सुरु भयो ।

मर्सानीले बक्सिङ प्रतियोगितामै भाग लिएको भने २०३७ देखि हो । भैरहवामा बक्सिङकै पहिलो राष्ट्रिय प्रतियोगिता भयो, जहाँ गण्डकी अञ्चलबाट उनी छनोट भए । पहिलो सहभागितामै काँस्य जिते पनि । त्यसपछि २०३८ सालमा काठमाण्डौमा वृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाए ।

वीरगञ्जमा भएको सातौं राष्ट्रिय बक्सिङ प्रतियोगितामा सिल्भर मेडल जिते । २०४१ मा नवौं बक्सिङ प्रतियोगितामा भने गोल्ड मेडल हात पारे । त्यसपछि मर्सानी पढ्नका लागि २०४२ सालमा सहायक प्रशिक्षकका रुपमा खेलकुद विकास समितिमा प्रवेश गरें । दुई वर्ष भारत पढेर फर्किसकेपछि पूर्ण प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय बक्सिङ टिमको नेतृत्व गरें । बक्सिङ खेलको प्रशिक्षकका रुपमा ३५ वर्ष जागिरे भएर २०७७ साल असारमा अनिवार्य अवकास पाएका थिए ।

सहायक प्रशिक्षक भएपछि उनले गण्डकीका विभिन्न जिल्ला पुगेर प्रशिक्षणका लागि बक्सिङ खेलाडी खोज्दै हिँडे । प्रशिक्षणका क्रममा उनले थुप्रै तीतामीठा क्षणको अनुभव गरे । आठौं राष्ट्रिय खेलकुदमा १० पदकमा ९ पदक जित्न सफल भए । २ स्वर्ण, ५ रजत र २ काँस्य प्राप्त भएको थियो । त्यसपछि, नवौं सागमा प्रशिक्षक भई इस्लामावाद पुगेर फर्किए ।

२०५७ मा अन्डर नाइन्टिन साफ गेम खेलाउँदा उत्कृष्ट प्रदर्शनपश्चात् शिक्षा पुरस्कारबाट पुरस्कृत भए । मर्सानीले अमेरिका, कोरिया, जापान, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया, मलेसिया, श्रीलंका, भारत, पाकिस्तानको भ्रमण गरेका छन् । गण्डकी प्रदेश र नेपालकै बक्सिङ खेललाई माथि पु¥याउन तथा खेलको विकास र विस्तार गर्न उनको योगदान अतुलनीय छ ।

वैशाख २३ गते हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् ।

भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य, डेमोस्ट्रेसन लगायतले अवार्ड कार्यक्रममा रौनक थप्नेछ । प्रवेश निःशुल्क रहेको कार्यक्रममा उपस्थित हुन आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया