मन्त्रिपरिषद् पूर्ण हुँदै

माओवादीबाट रेशम जुग्जालीले फेरि मौका पाउँदै

सञ्जय रानाभाट २०८० वैशाख २९ गते १०:१९

सञ्जय रानाभाट, पोखरा ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएपनि सत्तारुढ दलबिच झागबण्डाको किचलोका कारण पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला भएको हो । सत्ता गठबन्धनमा कुन दलले कति मन्त्रालय लिने भन्ने सहमति जुटेपछि शुक्रबार मुख्यमन्त्री पाण्डेले सरकारलाई पूर्णता दिने मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । ‘बिहीबारको क्याबिनेटले मन्त्रालयका कार्यक्षेत्र मिलान गरेको छ । बिहीबार नै राजपत्रमा पनि प्रकाशन भइसकेपछि शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्रीको तयारी देखिन्छ,’ स्रोतले भन्यो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारी नेतृत्व सरकारले बनाएका मन्त्रालयको नामसँगै कार्यक्षेत्र हेरफेर गरेको हो । मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभेको छ ।

आर्थिक मामिला, उद्योग पर्यटन वन तथा वातावरण, सामजिक विकास तथा स्वास्थ्य र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई भने यथावत राखेको छ । कृषि ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई फुटाएर दुइटा मन्त्रालयले बनाइएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालय र ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय बनाएको छ ।

Advertisement

तत्कालीन मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले १२ मन्त्रालयलाई घटाएर ७ मन्त्रालय बनाएको थियो । तर, माओवादीले तत्कालीन मुख्यमन्त्री अधिकारीले बनाएका मन्त्रालयको कार्यक्षेत्र न्यायोचित नभएको भन्दै मन्त्रालयको कार्यक्षेत्र हेरफर गर्नुपर्ने अडान राखेको थियो । यसअघि ३ मन्त्रालय दाबी गरेको माओवादीले अन्तिममा मन्त्रालयको कार्यक्षेत्र मिलान गरे दुई मन्त्रालयमा चित्त बुझाउने देखेपछि हेरफेर भएको हो ।

मुख्यमन्त्री पाण्डे उक्त कुरामा सकारात्मक देखिएपछि मन्त्रालयको नामसँगै कार्यक्षेत्र परिवर्तन गरेका हुन् । बिहीबार बेलुका नै प्रदेश राजपत्रमा नयाँ मन्त्रालय नाम प्रकाशित भएको छ । ‘अब मन्त्रालयको विस्तार गर्न मुख्यमन्त्रीज्यूलाई केही कुराले छेक्दैन । उहाँले अब सजिलै मन्त्रिपरिषद विस्तार गर्न सक्नुहुन्छ,’ माओवादीले एक सांसदले भने ।

Advertisement

यी हुन् माओवादीबाट हुने मन्त्री
माओवादी संसदीय दलको बैठकले बिहीबार सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ । बैठकले मन्त्रीलाई कुन मन्त्रालयमा पठाउने पनि निर्णय गरेको हो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानबिच मन्त्रालय बाँडफाँड टुंगिएपछि माओवादीले दलको बैठक डाकेर मन्त्रीको नाम टुंग्याएको हो । सोही अनुसार माओवादीले दुइटा मन्त्रालय पाउने छ ।

बिहीबार दलको बैठकले यसअघि विना विभागीय मन्त्री भएकी सुशीला सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा पठाउने निर्णय गरेको छ । तत्कालीन मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा उद्योग पर्यटन तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका रेशमबहादुर जुग्जालीलाई भौतिक पूर्वाधार मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

मनाङे र कांग्रेसका मन्त्रीको नाम गोप्य
एक जनामात्र सांसद रहेको नेकपा एकीकृत समाजवादीका राजीव गुरुङ (दीपक मनाङे) लाई पनि मन्त्री बनाउने लगभग निश्चित छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मनाङेलाई मन्त्री बनाउन मुख्यमन्त्री पाण्डे तयार थिएनन् । तर, केन्द्रको दबाबपछि पाण्डेले मनाङेलाई मन्त्री बनाउने तयारी गरेका हुन् ।

‘मनाङेलाई मन्त्री बन्ने लगभग पक्का छ,’ मुख्यमन्त्री स्रोतले भन्यो, ‘राजनीतिमा उथलपुथल भएन भने उहाँ मन्त्री हुनुहुन्छ ।’ यता कांग्रेसले पनि भित्री रुपमा मन्त्रीको नाम टुंग्याएको छ । यसअघि विना विभागीय मन्त्री सरस्वती अर्याल तिवारी मन्त्री छिन् । अब कांग्रेस सांसदहरु महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापालाई मन्त्री बनाउने टुंगो लागेको स्रोतले बतायो । यद्यपि कांग्रेसमा मन्त्री बन्न आकांक्षा राख्नेको लर्को छ ।

कांग्रेसबाट लमजुङका डा. टकराज गुरुङ, नवलपुरका जिसी, कास्कीका विन्दुकुमार थापा, कास्कीकै प्रकाश बराल, बागलुङका जीत शेरचन, कास्कीकी सरस्वती गुरुङ, पर्वतकी रेखा गुरुङ र बागलुङका डिल्लीराम सुवेदी र थापा मन्त्री बन्ने दौडमा हुन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया