देवव्रतको नयाँ पुस्तक सार्वजनिक

समाधान संवाददाता २०८० वैशाख ३१ गते १२:५३

काठमाडौं ।
कवि देवव्रतको कवितासंग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ शनिबार सार्वजनिक भएको छ । काठमाडौंको सर्वनाम थिएटरमा कवि श्रवण मुकारुङ, निबन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले संग्रह विमोचन गरे ।

कवि मुकारुङले देवव्रतको कवितामा लयविधान भएको बताए । ‘पछिल्लो पुस्तामा नयाँ शैलीमा लेख्ने कविहरू छन् । त्यसमध्ये देवव्रत पुगेका छन् । यो संग्रहमा मैले असाध्यै इन्जोय गरेका कविता छन् । कतिपय कविता पढ्दा ईष्या पनि लाग्यो,’ उनले भने, ’उनका प्रत्येक कविता पढ्दा संगीत गुन्गुनाए जस्तो छ ।’

निबन्धकार सापकोटाले देवव्रतका कविता आज र भोलि जस्तै बिलाइजाने पानीको थोपा जस्ता नभएको उनले बताए ।

Advertisement

‘देवव्रतका कवितामा उसको उपस्थिति टाढाबाट देखिने गुलमोहर जस्तो छ,’ सापकोटाले भने ।

देवव्रतका कवितामा हजारौं वर्षदेखिको पुरानो घाउ, मधेसका दलित र कर्णालीका आम मान्छेका जीवन समेटिएको बताए ।

Advertisement

लेखक वन्दनाले देवव्रतका कविताले अहिलेको चरम उपभोक्तावादी समय बोलेको बताइन् । ‘उनका कविताले मृत्यु बोलेका छन् । आत्महत्या बोलेका छन् । चरम उपभोक्तावादी समय पनि बोलेको छ । कर्णालीमा भएको अभाव बोलेको छ,’ उनले भनिन्, ‘देवव्रतको कविताले भविष्यमा हस्तक्षेपकारी भूमिका खेल्छन् ।’

कार्यक्रममा देवव्रतले शीर्ष कवितावाचन गरेका थिए । संग्रहलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो । पुस्तकको मूल्य २ सय ९९ रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया