विद्यार्थीलाई पोशाक र स्टेसनरी

समाधान संवाददाता २०८० जेठ १६ गते १४:२०

पोखरा ।
असल छिमेकी सहयोग संघ (गोनेसा)नेपाल पोखराले जेहेन्दार, कठिन परिस्थिति तथा विपन्न वर्गका बालबालिकालाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत शुक्रराज बलभद्र माध्यमिक विद्यालय छिनेडाँडा, विन्ध्यवासिनी माध्यमिक विद्यालय बरपाटन, जानकी माध्यमिक विद्यालय महतगौंडा र मसिना आधारभूत विद्यालय पोखरा १४ का १ सय २५ विद्यार्थीलाई विद्यालय पोशाक, कापी, झोला, जुत्ता, मोजा लगायतका सामाग्री वितरण गरेको गोनेसा पोखरा अध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थी अनुस्का परियारलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै नेपालको संविधान अनुसार कुनै पनि बालबालिका शिक्षा प्राप्तिको अबसरबाट वञ्चित हुन नहुने बताए । ‘संविधान तथा कानुनले आधारभूत तहको शिक्षालाई अनिवार्य र निशुल्क गरेको छ,’ उनले भने, ‘त्यस्तो व्यवस्था नगरे अदालतमा मुद्दा हाल्ने र सरकारलाई दबाब दिइनेछ ।’

Advertisement

उनले माध्यमिक तहको शिक्षा स्थानीय तहलाई र विश्व विद्यालय तहको शिक्षाको जिम्मा संघीय सरकारलाई भएको उल्लेख गरे । अधिकारीले विद्यार्थीको प्रतिभा र क्षमता पहिचान गरेर सोही अनुसारको शिक्षाको व्यवस्था गर्नुपर्ने बताए ।

गोनेसा अध्यक्ष सुवेदीले शैक्षिक सत्र २०८०/०८१ मा ३६ नयाँ बालबालिका सहित ४ सय ३३ विद्यार्थीलाई शैक्षिक दातृ संस्था भिस्पे इटालीको आर्थिक सहयोगमा पोशाक तथा शैक्षिक सामग्री वितरण गर्ने बताए ।

Advertisement

उनले जाडो महिनाका लागि स्वेटरसहित वर्षमा २ पटक शैक्षिक सहयोग कार्यक्रम गर्ने जनाए । अध्यक्ष सुवेदीले विद्यार्र्थीले संस्कार परिवारबाट सिक्ने भएकोले उचित वातावरण मिलाउन अभिभावकसँग आग्रह गरे ।

कार्यक्रममा पोखरा महानगरपालिकाका नेकपा (एमाले)का सचेतक तथा वडा नम्बर १७ का अध्यक्ष राधिका शाही योगी, गोनेसा पोखराका निर्तमान अध्यक्ष तथा सल्लाहकार दिलबहादुर गुरुङ र कार्यकारी निर्देशक शिवराज शर्माले शैक्षिक सहयोगका बारेका बोलेका थिए ।

तपाईको प्रतिक्रिया