कालीखोला किनारमा वृक्षारोपण

समाधान संवाददाता २०८० जेठ २४ गते १२:३६

पोखरा ।
विश्व वातावरण दिवसको सन्दर्भमा कर्मचारी मिलन केन्द्र कास्की र कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालयले मंगलबार पोखरा १६ को कालीखोला किनारामा वृक्षारोपण गरेका छन् ।


डिभिजन वन कार्यालय कास्की र वातावरण संरक्षण तथा पार्क सामुदायिक वन उपभोक्ता समूह पोखरा १६ को संयोजनमा भएको कार्यक्रममा बाँस, गुलमोहोर, ज्याकराण्डा, कल्की, म्यांगो स्टिन, कपुर लगायतका १ सय १० वटा विरुवा रोपिएको कर्मचारी मिलन केन्द्र कास्की अध्यक्ष केदार बरालले जानकारी दिए ।


डिभिजन वन कार्यालय कास्कीका प्रमुख डिभिजन वन अधिकृत बरालले वातावरणलाई सन्तुलित बनाउँदै विकास निर्माणका कामअघि बढाउनुपर्ने बताए । ‘वृक्षारोपण गरिएको स्थानलाई स्थानीय समुदायसँगको सहकार्यमा रोपिएको विरुवाको संरक्षण गरी हराभरा पार्क बनाइनेछ,’ उनले भने, ‘त्यसका लागि वन उपभोक्ता समूह र काली खोला टोल विकास संस्थाको भूमिका रहन्छ ।’ उनले ४० माइक्रोन भन्दा कमका प्लाष्टिकका झोला प्रयोग गर्न सरकारले प्रतिबन्ध लगाएको उल्लेख गरे ।

Advertisement


कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले रोपिएका विरुवा जोगाउन सकेमात्र वृक्षारोपण कार्यले सार्थकता पाउने बताए । ‘वृक्षारोपण सत्कार्य हो, संरक्षण महान् कार्य हो,’ उनले भने, ‘हामी धेरैजसो राम्रो कामको सुरुवात गर्छौ । त्यसलाई निरन्तरता दिन सक्दैनौं ।’ उनले हरेक औपचारिक कार्यक्रम सत्कर्मसँगै सुरुवात गर्न पाएकोमा आयोजकप्रति आभार प्रकट गरे ।


कृषि विकास बैंकका विभागीय प्रमुख मीनराज पोखरेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्मचारी मिलन केन्द्रसँग वृक्षारोपण कार्यमा सहकार्य गरेको बताए । उनले रोपिएका विरुवालाई हुर्काउने र संरक्षणको दायित्व पनि लिने जानकारी दिए ।

Advertisement

कृषि क्षेत्रमा लगानी गरी किसानको जीवन स्तर उकास्न योगदान गरेको बैंकले पछिल्लो समयमा सबै क्षेत्रमा लगानी गरेको उनले उल्लेख गरे ।


वातावरण संरक्षण तथा पार्क सामुदायिक वन उपभोक्ता समूह पोखरा १६ का अध्यक्ष चक्रपाणि सुवेदीले कालीखोलाको अतिक्रमण र भूक्षय रोक्नका लागि वृक्षारोपण आवश्यक भएको बताए ।


कर्मचारी मिलन केन्द्र कास्की उपाध्यक्ष तथा कृषि विकास बैंकका वरिष्ठ शाखा प्रमुख महेश पौडेलले वातावरणलाई सन्तुलन राख्न वृक्षारोपण गरेको जनाए । कार्यक्रममा कर्मचारी मिलन केन्द्र कास्कीले नवआगन्तुक कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेलाई स्वागत गरेको छ । कृषि विकास बैंकले वृक्षारोपणमा सहभागीलाई वातावरण मैत्री झोला वितरणसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया