अनुसन्धानलाई प्राज्ञिक मूलधारमा ल्याउने प्रयास

समाधान संवाददाता २०८० जेठ ३१ गते १०:४६

पोखरा ।
गण्डकी प्रदेशले विश्वविद्यालय स्थापना गर्न खोज्दा औचित्य र आवश्यकतामाथि प्रश्न उठेका थिए । मुलुकमा विश्वविद्यालय संख्या धेरै भएको पनि भनिएको थियो । तिनै प्रश्नबिच स्थापित गण्डकी विश्वविद्यालयले सामना गर्नुपर्ने चुनौती धेरै छन् । त्यसैले अरुभन्दा पृथक विषय पठनपाठन र कार्य गर्दै अगाडि बढ्ने सिलसिलामा गण्डकीले अनुसन्धान र आविष्कारलाई प्राथमिकता दिएको छ ।


‘प्राज्ञिक मूलधारमा आविष्कार र अनुसन्धान’ विषयकमा गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन नै आयोजना गरेको छ ।

त्यसमा कोरियाको न्योनपुक नेसनल युनिभर्सिटी, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मनमोहन इन्स्टिच्युट अफ हेल्थ साइन्स, मदन भण्डारी एकेडेमीबाट सहभागी हुन ३ सय विद्यार्थी आएका छन् । सम्मेलन बिहीबारसम्म चल्दैछ ।

Advertisement


२० सत्रमा ९१ वटा कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा अनुसन्धानकर्ता, आविष्कारक प्राध्यापकहरुले प्रस्तुतीकरण दिने तालिका रहेको गण्डकी विश्वविद्यालयका रजिस्ट्रार डा कैलाश तिमिल्सिनाले जानकारी दिए । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सम्मेलनको मंगलबार उद्घाटन गरेका थिए ।


आयोजक समितिका संयोजक डा.राजकुमार थापाका अनुसार कार्यपत्र प्रस्तुतिका लागि डा.भगवान् कोइराला, युनिभर्सिटी अफ अक्सफोर्ड युकेका सौमित्र दत्त, थाइल्यान्डका योथिन सवांगी, जापानका योसी ओवायासी, नेपाल हेल्थ प्रोफेसनल काउन्सिका अध्यक्ष मोहनकृष्ण श्रेष्ठ, नर्वेका मार्टिन काइच, काठमाडौं विश्वविद्यालयका प्राडा भूपेन्द्र विमल क्षेत्री र डेनमार्कका एन्स एन्डर्सन लगायत आएका छन् ।

Advertisement


कार्यक्रम उदघाटन सत्रमा प्रदेश प्रमुख गुरुङ, गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङ, बोर्ड अफ ट्रस्टीका पूर्व अध्यक्ष कैलाशनाथ प्याकुरे र आविष्कार केन्द्रका संस्थापक महावीर पुन लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया