‘पोखरामा ९ सय बाल श्रमिक’

समाधान संवाददाता २०८० जेठ ३१ गते ११:२२

पोखरा ।
बालश्रमलाई गम्भीर रुपमा लिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बालश्रम विरूद्धको विश्व दिवस २०२३ को अवसरमा पोखरा उद्योग बाणिज्य संघको आयोजना तथा बाल अधिकार मञ्च कास्कीको समन्वयमा सोमबार पोखरामा आयोजित बालश्रम उन्मूलन बिषयक अन्तरक्रियाका सहभागीले कानुनको फितलो कार्यान्वयनका कारण बालश्रम न्यूनीकरणमा कठिनाइ भएको तर्क गरे ।


कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता प्रिती पाण्डेले महानगरका ३३ वटै वडामा ७ सय १३ बालक र १ सय ८८ बालिका गरी ९ सय २१ बालबालिका श्रमिकका रुपमा भेटिएको तथ्यांक पेश गरिन् । होटल तथा रेस्टुरेन्ट, वर्कसप, फर्निचर, बालुवाखानी तथा निर्माण क्षेत्रमा बालश्रमिक बढी पाइएको उनको भनाइ छ ।

होटल, रेस्टुरेन्ट, वर्कसप, फर्निचर, बालुवा खानी र निर्माण क्षेत्रमा बढी बाल श्रमिक पाइएको छ

Advertisement


पोखरा महानगरपालिकाका सामाजिक विकास महाशाखाका बाल कल्याण अधिकृत विष्णुमाया पौडेलले महानगरले बालबालिकाका क्षेत्रमा काम गरे पनि अपेक्षाकृत उपलब्धि हाँसिल हुन नसकेको स्वीकारिन् । बालश्रम न्यूनीकरण संघको कार्य क्षेत्रभित्र पर्ने भए पनि महानगर यसप्रति सचेत रहेको उनको भनाइ छ ।


श्रम कार्यालय पोखराका अधिकृत लक्ष्मण बरालले प्रदेशका ११ वटै जिल्लामा कार्यालयले काम गर्दै आएको भन्दै २०५६ को कानुनमा परिमार्जन गर्नु आवश्यक भएको बताए । सानालाई काममा लगाउँदा न्यून तलब दिए पनि हुने तर ठूलालाई धेरै तलब दिनुपर्ने भएकाले पनि बालश्रम नघटेको उनले टिप्पणी गरे । २०५६ को कानुनमा परिमार्जन आवश्यक रहेको उनको भनाइ छ ।

Advertisement


पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले सरकारले बालश्रम न्यूनीकरणका लागि बजेट नै नछुट्याउँदा समस्या भएको गुनासो गरे । यसलाई सामूहिक एजेन्डा नै बनाएर लैजानुपर्नेमा उनको जोड छ । पोखरा उद्योग बाणिज्य संघ बालश्रम न्यूनीकरणका अध्यक्ष राजेन्द्रकुमार लालचनले २०५६ देखि औद्योगिक क्षेत्रबाट सुरू गरिएको यो अभियानले सार्थकता पाएको दाबी गरे ।


अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयोजक शिव खकुरेलले गरिबीका कारण बालश्रमिकको संख्यामा वृद्धि हुँदै गएको भन्दै स्थानीय सरकारले प्रभावकरी भूमिका निभाउनुपर्ने बताए । सरकारले कनिका छराई भन्दा पनि यति वर्षभित्रमा बालश्रम न्यूनीकरण गर्छौ भन्ने एकत्रित ढंगले बजेट विनियोजन गर्नुपर्नेमा उनको जोड थियो ।


कार्यक्रममा शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिलवाल, गैरसरकारी संस्था महासंघ गण्डकीका कार्यवहाक अध्यक्ष पदमराज पहारी, महासंघ कास्की अध्यक्ष बुद्धि थापा, नेपाल बाल संगठन कास्की अध्यक्ष बामदेव ढुंगाना, किडासा नेपालका प्रमुख कृपासुर निरौला, जिल्ला प्रहरी कार्यालय कास्कीका इन्सपेक्टर समीक्षा घिमिरे, बालमञ्च पोखराका अध्यक्ष सन्ध्या श्रेष्ठ लगायतले सबैको सामूहिक प्रयासले मात्र बालश्रम न्यूनीकरण सम्भव भएको बताए ।


स्पा, वर्कसप, फर्निचर तथा घरेलु कामदारका रुपमा कार्यरत बालश्रमिकले रोजगारदाताले समयमै तलब नदिने, दिए पनि निकै न्यून दिने, बिहानैदेखि बेलुका अबेरसम्म काम गर्नुपर्ने जस्ता गुनासा गरेका थिए । हरेक वर्ष जुन १२ तारिखमा विश्वव्यापी रुपमा यो दिवस मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया