बद्लियो जीवन, फेरिए घर

सुन्दरकुमार थकाली २०८० असार ३ गते १०:४०

जोमसोम ।
मुस्ताङको मुख्य मौलिकपन यहाँका सदियौं पुराना ढुंगा र माटोले बनेका परम्परागत घर हुन् । यिनै परम्परागत घरले मुस्ताङ पुग्नेहरुको मनमा फरक चित्र बनाइरहन्छ ।

Advertisement


तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङका सीमावर्ती गाउँसम्म मौलिक पहिचान झल्किने ढुंगा र माटोले बनेका घर छन् । गुजुमुच्ज बाक्लो बस्ती र ती बस्तीमा ढुंगा, माटोका घर यहाँको विशेषता नै हो । एकतले घरको छानामा लस्करै पठारको सख्खर माटो बिच्छ्याउने चलन छ ।


छतमाथि लस्करै दाउरा पाँजेर राख्छन् मुस्ताङी । पहिले जसको छतमाथि धेरै दाउरा हुन्थे, त्यो घर सम्पन्न मानिन्थ्यो । यसरी दाउरा पाँज्दा घरलाई चुहिने र भत्किने जोखिमबाट जोगाउन पनि सहयोग पुग्थ्यो । परम्परागत घरको छतमा बिस्कुनसमेत सुकाउने गरिन्छ । माटो बिच्छयाईएका घरमा २/३ वर्षको फेरोमा फेरि सख्खर माटो थप्दै सम्याईन्छ । यसो गर्दा पानी चुहिँदैन ।


मुस्ताङको सांस्कतिक पहिचान झल्किने ढुंगा र माटोले बनेका परम्परागत घर पर्यटकको रोजाइमा छन् । विदेशी पर्यटकहरु यहाँका पुराना घरहरु निकै रुचिपूर्वक अवलोकन गर्छन्, तस्बिर खिच्छन् । पृथक भूगोल, मौलिक कला, संस्कृति र सांस्कतिक पहिचान नजिकबाट नियाल्न मुस्ताङ आउने पाहुनको संख्या बढिरहेको छ ।


पछिल्लो दिनमा पुराना, मौलिक र परम्परागत घरहरु विस्थापित हुँदै जान थालेका छन् । अचेल नयाँ घर बनाउनेहरुले परम्परागत घर बनाउँदैनन । आरसिसी घर निर्माण गर्ने होडबाजी नै चलेको छ । पुराना घर मासिदै जाने र नयाँ घर आधुनिक खालका बनेपछि मुस्ताङको मौलिकता संकटमा पर्न सक्ने देखिएको छ ।

Advertisement


त्यसो त जलवायु परिवर्तनको प्रभाव जिल्लामा प्रत्यक्ष/परोक्ष रुपमा परेको विज्ञहरु बताउँछन् । तापक्रममा आएको फेरबदल, असमान प्रकारको मौसमले यहाँको कृषि र जैविक विविधितासँगै संस्कृतिमाथि पनि असर पर्न थालेको हो । हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि हुँदै छ भने हिउँ पर्ने समयमा हिउँ नपर्ने, हिउँ नपर्ने समयमा भारी हिमपात हुने र कुनै वर्ष हिउँ नै नपर्ने हुन थालेको छ ।


मुस्ताङ नेपालकै सबैभन्दा कम पानी पर्ने ठाउँका रुपमा चिनिन्थ्यो । पानी कम पर्ने, परे पनि ठूलो पानी नपर्ने भएकाले यहाँ माटोका घरमा खासै क्षति हुँदैनथ्यो । पछिल्लो समय हिमाली मुस्ताङमा पनि पानी पर्ने क्रम बर्सेनि बढ्न थालेको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन बताउँछन् । ‘मुस्ताङमा पनि अन्यत्रको जस्तै पानी पर्न थाल्यो । पानीकै कारण र आधुनिकतातर्फ ढल्किदा यहाँका पुराना घर लोप हुने संकेत देखिएको छ,’ लालचनले भने,‘ नयाँ घर बनाउनेले पनि पक्की निर्माण गर्न थाले ।’


वर्षामा बढी पानी पर्नु र सडक यातायातको सहज पहुँचले निर्माण सामग्री सजिलै पुग्न थालेपछि पछिल्लो समय आधुनिक घर बन्ने क्रम बढ्दो छ । जोमसोम, मार्फा, कागबेनी, मुक्तिनाथ लगायतका गाउँमा पनि बिस्तारै आरसिसी घरको बाहुल्यता देखिँदै छ ।


मौसमी असमानता र सडकको विकासले परम्परागत घरको मौलिकता र सम्भ्यता नै लोप हुने चिन्ता बढेको अध्यक्ष लालचन सुनाउँछन् । उनी पुराना घरलाई वातावरणमैत्री बनाउन र संस्कृति नबिग्रिने गरी परिमार्जन गर्न सुझाउँछन् । उनले मौलिकता जोगाउन र वातावरणमैत्री बनाउन घरहरुको डिजाइन मापदण्ड बनाउने गृहकार्य भइरहेको उल्लेख गरे ।


‘मैलेले मात्र चाहेर हुँदैन, सरोकारवालाको पनि साथ र समर्थन चाहिन्छ,’ लालचन भन्छन्, ,‘अब आधुनिक घर निर्माण गरे पनि अगाडि भागमा भने पुरानै सांस्कृति झल्किने ढाँचा राख्नु जरुरी छ ।’ उनले मौलिकता जोगाउन भवन मापदण्डको नयाँ नीति अख्तियार गर्ने योजना सुनाए ।


घरपझोङ ४ जोमसोमका बासिन्दा अजित थकाली समय परिवर्तनसँगै आधुनिक घर निर्माण हुने क्रम बढेको बताउँछन् ।

पछिल्लो समय स्थानीयको जीवन स्तर उकासिंनु र सडक पहुँचले आधुनिक घर बन्न थालेको उनले उल्लेख गरे । मुस्ताङीहरु वैदेशिक रोजगारमा युरोप र अमेरिका पुगेको र त्यहाँ आर्थिक उपार्जन गरेपछि पुराना घर मासेर आरसिसी बंगला बनाउन थालेको उनको भनाइ छ ।


सडक सहजताले गर्दा पुरानो शैली र आधुनिक शैलीको घर निर्माण गर्न खर्च उस्तै लाग्ने भएकाले परम्परा छोडेर आधुनिक घर निर्माणमा स्थानीयको रुचि देखिएको उनको तर्क छ । पछिल्लो समय उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत सडक निर्माण भइरहेकाले सडक मार्गमा नयाँ बन्ने पर्यटक लक्षित होटलहरु आधुनिक शैलीमा बनेका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ, चराङ, घमी आदिमा बनेका आधुनिक घर तथा पर्यटक लक्षित होटल भने स्थानीय संस्कृति भल्किने गरी कलात्मक शैलीका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया