घरपझोङमा महिलाको भिआइए जाँच

समाधान संवाददाता २०८० असार ३ गते ११:००

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा र ठिनी गाउँमा महिलाको पाठेघरमा हुने मुखको क्यान्सरसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको छ । घरपझोङ गाउँपालिकाको आयोजना तथा मुस्ताङ अस्पतालको समन्वयमा प्रजनन स्वास्थ्य रुग्णता व्यवस्थापनबारे २ दिने पाठेघरको मुखको क्यान्सर पहिचान (भिआइए) परीक्षण शिविर गरिएको हो ।


महिलाको पाठेघरको मुखको क्यान्सर पहिचान तथा प्रजनन् रुग्णतासम्बन्धी समस्या भएका १ सय ४० महिला लाभान्वित भएको घरपझोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले जानकारी दिए । मुस्ताङ अस्पतालका चिकित्सक डा शिशिर पौडेलसहित घरपझोङ गापाको स्वास्थ्य शाखामा कार्यरत ५ स्वास्थ्यकर्मीको टोलीले शिविरमा आउने महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरेको स्वास्थ्य संयोजक थकालीले बताए ।


बिहीबार घरपझोङ २ मार्फाको मार्फा स्वास्थ्य चौकी भवनमा र शुक्रबार ठिनीको जोमसोम स्वास्थ्य चौकीमा (भिआइए) शिविर सञ्चालन गरिएको हो । घरपझोङ गाउँपालिकाद्वारा मार्फा र ठिनीमा आयोजित (भिआइए)शिविरलाई मुस्ताङकी सामाजिक अभियान्ता एवं महिला उद्यमी सूकुन रसाइलीले विशेष सहयोग पुर्‍याएकी थिइन् ।

Advertisement


मार्फा स्वास्थ्य चौकीमा पहिलाे दिन भएको पाठेघरको मुखको क्यान्सर (भिआइ) परीक्षणमा ८८ महिलाको स्वास्थ्य चेकजाँच गरिएको थियो । ठिनीमा दोस्रो दिन शुक्रबार भएको शिविरमा ५२ जना महिलाको परीक्षण गरिएको शिविर शिविर सहयोगी सुकुन रसाइलीले जानकारी दिइन् ।


मार्फा स्वास्थ्य चौकी मार्फामा ८८ महिला मध्ये ८५ जनाको पाठेघरको मुखको क्यान्सर( भिआइए) र स्तन परीक्षण गरिएको छ ।

Advertisement

१२ जना महिलाको (पिआईडी) परीक्षण गरिएको छ । शिविरमा १ जनाको पाठेघरको मुखको क्यान्सर(भिआइए)पोजेटिभ देखिएको छ भने अर्को एक जनाको पाठेघर पोलिप्स समस्या देखिएको छ ।


घरपझोङ ५ ठिनीको शिविरमा ५५ जना महिला सहभागी रहेकोमा ४६ जनाको भिआइए परीक्षण र ४ जनाको पिआइडी उपचार गरिएको घरपझोङ स्वास्थ्य शाखाले उल्लेख गरेको छ । भौगोलिक अवस्था,आर्थिक समस्या र कार्यव्यस्तताका कारण स्वास्थ्य लाभ लिन नसकेका महिलालाई शिविर सञ्चालनले राहत पुर्‍याएको सहयोगी रसाईलीले उल्लेख गरिन् ।

उनले महिलाको स्वास्थ्य अधिकारका रक्षाका लागि यसप्रकारको कार्यक्रम बर्सेनि सञ्चालन गर्न स्थानीय तहले पहल गर्नुपर्ने बताइन् । यसअघि मुस्ताङको थासाङ गाउँपालिका पनि लेते प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने महिलाको पाठेघरको मुखको क्यान्सरसम्बन्धी भिआइए शिविर सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया