जनजीविका सवाल लिएर जनतामा जान्छौंः विष्ट

समाधान संवाददाता २०८० असार ३ गते ११:२४

पोखरा ।
नेकपा (एमाले)ले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गरी नवीन सोच र योजनाका साथ जनतामा जाने निर्णय गरेको छ ।

भ्रष्टाचार नियन्त्रण तथा जनजीविकाका सवाललाई संसद तथा सडकमा सशक्त रुपमा उठाउने निर्णय गरेको पार्टीका केन्द्रीय कमिटीका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले जानकारी दिए ।


उनले प्रदेशका केन्द्रीय सदस्य प्रदेशका पदाधिकारी र जिल्ला अध्यक्षहरुको संयुक्त बैठकले जनताका सवाललाई ठीक ढंगले उठाएर समाधान गर्ने योजना बनाएको बताए । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा सचिव बिष्टले पार्टीभित्र देखिएका कमी, कमजोरीलाई सच्याएर जनतामा जाने सुनाए ।

Advertisement


उनले सुशासन प्रवद्र्धन र सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउन प्रभावकारी भूमिका खेल्ने उल्लेख गरे ।

‘राजनीतिलाई आधारभूत वर्गको जीवन रुपान्तरणको माध्यम बनाइनेछ । राजनीतिमा योग्य र इमान्दार व्यक्तिलाई आउने वातावरण बनाउन ध्यान दिइनेछ,’ उनले भने, ‘नवीन साेंच र योजनाका साथ जनतामा गएर पार्टीलाई स्थापित बनाउने योजनाअघि सारिएको छ ।’

Advertisement


उनले हरेक पालिका तथा निर्वाचन क्षेत्रको विकास तथा सुशासन प्रवद्र्धनका लागि योजनाबद्ध ढंगले काम गर्ने जानकारी दिए ।

उनले प्रणालीमार्फत सबै क्षेत्रलाई व्यवस्थित गर्ने बताए । आम युवाले सुशासन प्रवद्र्धन र तीव्र गतिमा परिवर्तन चाहेको उल्लेख गर्दै उनले युवालाई पार्टीमा आकर्षण गर्नका लागि ध्यान दिइने जनाए ।


कार्यकर्ताको मूल्यांकन विधिलाई व्यवस्थित गर्ने योजना सुनाउँदै उनले कार्यकर्ताको हरेक जिम्मेवारीलाई चार्ट निर्माण गरी कुन ढंगले कार्यसम्पादन भएको छ भनी हेरिने उल्लेख गरे । उनले कार्यसम्पादनमा योग्यता प्रदर्शन गर्ने कार्यकर्तालाई उत्साहित गर्ने योजना सुनाए ।


केन्द्रीय सचिव बिष्टले उन्नत स्तरको लोकतान्त्रिक अभ्यास र संस्थागत प्रणालीबाट पार्टी चलाउने दाबी गरे । फरक प्रसंगमा सचिव विष्टले प्रचण्ड नेतृत्वको सरकार जति लामो समय चल्छ, त्यति नै देशका लागि घाटा हुने जिकिर गरे । यो सरकार आफ्नै खुट्टामा नउभिएको दाबी गर्दै उनले सरकारको नीति, कार्यक्रम, बजेट, कार्यशैली र यसले जनतालाई दिइरहेको सेवालाई हेर्ने हो भने यो सरकार लामो समय चल्न नहुने तर्क गरे ।


‘यो सरकार जति लामो समय चल्छ । त्यति नै देशको अधोगति हुन्छ, त्यति नै देशको प्रगति रोकिन्छ । त्यस कारण यो सरकार लामो समय चल्नै हुँदैन,’ उनले भने ।


एमालेले समाजवादी मोर्चा बनाउने बारेमा केही नसोचेको सचिव बिष्टले सुनाए । उनले भने, ‘विभिन्न पार्टीले मोर्चा बनाउन लागेका समाचार आइराखेका छन्, उहाँहरुको कुरा हो । नेकपा एमाले पार्टीलाई सदृढ बनाउँछ, थप मजमुत बनाउँछ । आम जनताको मन जितेर एमाले अगाडि बढ्छ ।’


नेपालको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको १ दशमलब ६ प्रतिशत योगदान रहेकोमा त्यसलाई बढाएर ४ प्रतिशत पु¥याउने योजना विपरीत सरकारले समग्र पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याएको गण्डकी प्रदेशमा बजेट कटौती गरेको उनले उल्लेख गरे । कार्यक्रममा प्रेस चौतारी नेपाल गण्डकीका अध्यक्ष ईन्द्रप्रसाद पौडेल, सचिव कमल सुवेदी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया