कवितावाचनमा रेम्बोकी जानुका प्रथम

समाधान संवाददाता २०८० असार ३ गते १२:५९

पोखरा ।
नेपाल भाषा शिक्षक परिषद्ले शनिबार आयोजना गरेको छन्दोबद्ध कविता वाचन प्रतियोगितामा रेम्बो एकेडेमिक होम्सकी जानुका श्रीष प्रथम भएकी छन् । उनले राष्ट्रकवि माधव घिमिरको मन्दाक्रान्ता छन्दको कविता ‘कलम र कलमवीर’ सुनाएकी थिइन् ।


फिस्टेल एकेडेमीकी सदिच्छा रानाभाट द्वितीय ठहरिइन् । उनले चेतन न्यौपानेको ‘झरी’ कवितावाचन गरिन् । तेस्रो बनेकी एक्स आर्मी स्कुलकी क्रिन्जडा पौडेलले कविशिरोमणि लेखनाथ पौडेलको ‘चरीको विलाप’ सुनाइन् ।


सान्त्वना विन्देश्वरी माविकी सुस्मिता विक र राष्ट्रिय माविका विश्व अधिकारी बने । प्रतियोगितामा ५५ विद्यार्थी सहभागी थिए ।

Advertisement

सहभागीहरुले शिखरिणी, शार्दूलविक्रीडित, मन्दाक्रान्ता, लोकलय, सुग्धरा, शालिनी लगायतका छन्दमा रहेका कवितावाचन गरेका थिए ।


कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ आचार्यले आफू पनि नेपालीको विद्यार्थी भएको र भाषा जोगाउने कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको सुनाए । उनले भाषा जोगाउने अभियानमा व्यक्ति र संस्थाको तर्फबाट सधैं सहयोग रहने प्रतिवद्धता गरे ।

Advertisement


संस्थाका सल्लाहकार सहप्रा डा पुण्यप्रसाद पौडेलले भाषा जोगाउन विद्यालय तहमा यस्ता खालका कार्यक्रम हुनुपर्नेमा जोड दिए । संस्थाका सल्लाहकार बोधराज ढकालले छन्द जोगाउन पाठ्यक्रममा छन्द कविता समावेश गर्नुपर्नेमा जोड दिए ।


निर्णायक प्राडा जगन्नाथ रेग्मीले विद्यार्थीले कविता वाचन गर्दा छन्दमा भएका कमजोरी औंल्याएका थिए । सँगसँगै उनले विद्यार्थीलाई वाचन गर्ने तरिकासमेत सिकाए । सहप्राडा यामनाथ तिमिल्सिनाले राज्यले भाषा जोगाउन विज्ञहरूलाई परिचालन गर्नुपर्ने विचार राखे ।


नेपाली भाषा शिक्षक परिषद् कास्की नेपाली भाषाको समग्र विकास गर्ने उद्देश्यले २०६६ मा स्थापना भएको हो । यसका संस्थापक अध्यक्ष माधवशरण उपाध्याय हुन् । यसअघि बोधराज ढकाल, लोकचन्द्र खनाल, डोलराज अर्यालले यसको नेतृत्व गरिसकेका छन् ।


संस्थाले शिक्षकलाई भाषा र पाठ्यक्रम बोविधिकरण गर्न पाठ्यक्रम विकास केन्द्रका राष्ट्रिय विज्ञहरू बोलाएर बिभिन्न चरणमा कार्यक्रम गरिरहेको संस्थाका अध्यक्ष डिल्लीराम अर्यालले बताए । संघीय सरकारले स्थानीय पाठ्यक्रम बनाउने अधिकार स्थानीय तहलाई दिए पनि भाषा विज्ञसँग सरसल्लाह नलिई पाठ्यक्रम निर्माण हुँदा समस्या देखिएको उनले सुनाए ।


संस्थाका कार्यसमिति सदस्य प्रेमनारायण ढकालले संयोजन गरेको कार्यक्रममा सूर्य लम्साल, बोधराज ढकाल, यामनाथ तिमिल्सिना, प्रेमनाथ ढकाल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया