श्रमिक सूचीकरण गर्न माग

समाधान संवाददाता २०८० असार ६ गते १३:०९

पोखरा ।
नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदूर युनियन (क्युपेक) नेपालले श्रमिकको पञ्जीकरणका लागि श्रम डेस्क स्थापना गर्न सबै स्थानीय तहसँग माग गरेको छ ।


पालिकाले श्रमसँग सम्बन्धि योजना तथा कार्यक्रम ल्याउन सहज हुने भएकाले श्रम डेस्कमार्फत सूचीकरण व्यवस्था गर्न क्युपेक नेपाल अध्यक्ष शान्ता बस्नेतले माग गरिन् । क्युपेक नेपाल कास्की जिल्ला कमिटीको प्रथम परिषद बैठकको उद्घाटन गर्दै अध्यक्ष बस्नेतले श्रमसम्बन्धी नीति, योजना तथा कार्यक्रम ल्याउन श्रमिकको यकीन तथ्यांक भए सहज हुने उल्लेख गरिन् ।


‘श्रमिकको पञ्जीकरणका लागि हरेक स्थानीय तहले श्रम डेस्क स्थापना गरेर श्रमिकको वास्तविक तथ्यांक सकलन गर्नु पर्छ,’ उनले भनिन्, ‘श्रम डेस्कमार्फत श्रमसँग सम्बन्धित सबै सवाललाई सम्बोधन गर्नु आवश्यक छ ।’ अध्यक्ष बस्नेतले नेपाल सरकारले २०७५ सालमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुन नसकेको बताइन् ।

Advertisement


उनले स्थानीय तहले श्रम समिति गठन गरेर परिचयपत्र वितरण गरे सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सहज हुने जानकारी दिइन् । अनौपचारिक क्षेत्रका मजदूरलाई औपचारिक बनाएर योजनामा समेट्ने नीति बनाएको जानकारी दिँदै उनले स्थानीय तहले सूचिकरण गरेर परिचयपत्र दिएपछि सबै श्रमिक औपचारिक हुने दाबी गरिन् । उनले बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १३ तथा मकवानपुरले श्रमिकलाई योजनामा समेट्ने नीति ल्याएको जानकारी दिइन् ।


क्युपेकका महासचिव राजेन्द्र बिष्टले श्रमिक सचेत र संगठित भएर राज्यलाई दबाब दिन सके सबै माग पूरा गर्न सकिने बताए ।

Advertisement

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले २०८० सालदेखि अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई समेत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्न लागेको जानकारी दिए । कास्कीमा ५० हजार श्रमिक निर्माण क्षेत्रमा रहेको दाबी गर्दै उनले धेरैभन्दा धेरै श्रमिकलाई संगठनमा गोलबद्ध गर्ने योजना बनाउन सुझाव दिए । संस्थाका उपमहासचिव सोमबहादुर आलेले श्रमिकका अधिकार सुनिश्चित गर्न योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुनुपर्ने बताए ।


कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य पार्वती तामाङ, प्रतिनिधि परिषद प्रमुख हरिभक्त श्रेष्ठ, कास्की अध्यक्ष तीर्थराज मगर, सचिव जीवन लामा लगायतले अनौपचारिक क्षेत्रमा काम गरेका मजदूरलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्न कठिनाइ भएको उल्लेख गरे । कार्यक्रममा ४४ सदस्य थप गर्न सफल सुरेश घर्तीमगरलाई खादा ओढाएर सम्मानपत्र प्रदान गरिएको छ ।

क्युपेक पोखरा ८ का विशाल चौधरीले क्युपेकको गीत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया