लाउरेले भने: पोखराका सडक बत्ती नागरिकको भविष्य जस्तै धमिलो छन्

समाधान संवाददाता २०८० असार २८ गते ११:४६

पोखरा।
चर्चित र्‍यापर आशीष रानामगर (लाउरे) ले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ११ बुँदे खुलापत्र लेखेका छन् । लाउरेले बुधबार सामाजिक सञ्जालमार्फत पोखराका मेयर आचार्यलाई खुलापत्र लेखेका हुन् । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जस्तै काम गर्न सुझाव दिएका छन् ।


र्‍यापर लाउरेले पोखराका लगभग हरेक सडक बत्ती नेपाली नागरिकको भविष्य जस्तै धमिलो भएको बताएका छन् । ‘कुनै पनि सडक बत्तीहरू रातको समयमा सुरक्षित र निर्धक्क भएर सवारी साधन चलाउन पर्याप्त उज्यालो छैन,’ उनले लेखेका छन् ।


संयोग कस्तो भने मंगलबार पोखराको न्युरोडमा जडान गरिएको स्मार्ट सडक बत्ती परीक्षणका क्रममा बालिएको थियो ।

Advertisement

उज्यालो पोखरा अभियान अन्तर्गत महानगरका विभिन्न क्षेत्रहरूमा जडान गरिएका १९ सय बढी स्मार्ट बत्तीहरूमध्ये न्युरोडमा जडान गरिएको बत्ती परीक्षण गरिएको थियो । त्यही बेला ¥यापर लाउरेको टिप्पणी सार्वजनिक भएको छ ।


यस सडकमा निर्माण गरिएको डिभाइडरमा रङ रोगनको काम अन्तिम चरणमा पुगेकाले अब केही दिनभित्रै बत्तीहरू नियमित बालिने नगरप्रमुख धनराज आचार्यले जानकारी दिए । सोमबारदेखि डिभाइडरमा एक्सोरा प्रजातिको फूलका बिरुवाहरू रोप्न थालिएको छ ।

Advertisement


महानगरलाई सुरक्षित र २४ सै घण्टा उज्यालो सहरका रूपमा विकास गर्ने गरी नेपाल विद्युत प्राधिकरणको सहकार्य तथा साझेदारीमा थालिएको स्मार्ट बत्तीहरू जडानको कार्य अन्तिम चरणमा पुगेको छ । सेन्सर सहितका यी बत्तीहरूको कन्ट्रोलिङ भने प्राधिकरणको केन्द्रीय प्रणालीले गर्नेछ ।


बजारबाट कुहिएको माछा र तरकारीको दुर्गन्धले पर्यटकलाई यस्तो नराम्रो माहोल दिने ¥यापर लाउरेले उल्लेख गरेका छन् ।

‘पोखरा नेपालको सुन्दर, सफा र पर्यटकीय सहर भनेर चिनिन्छ तर पोखराको प्रवेशद्वार (रंगशाला, चाइनिज पुल) नजिकैको बजारबाट कुहिएको माछा र तरकारीको दुर्गन्धले पर्यटकलाई यस्तो नराम्रो माहोल दिन्छ । जसरी उनीहरुले सबै फोहोर बेवास्ता गरेर सडकमा फाल्छन्,’ उनले लेखेका छन् ।


उनले मेयरलाई व्यक्तिगत रूपमा पोखराका प्रत्येक टोलमा खेल मैदान वा जनस्वास्थ्य तथा फिटनेस सेन्टर खोल्न आग्रह गरेका छन् । युवाहरूलाई खेलकुद र फिटनेसमा संलग्न गराउने जसले गर्दा बेचैन र उत्साही युवाहरूलाई उनीहरूको ऊर्जा र यो सानो पहलहरूले भविष्यका खेलकुद च्याम्पियनहरूलाई जन्मदिन सक्छ । र सबैभन्दा महत्वपूर्ण कुरा, यसले समाजमा लागुऔषधको समस्या, युवाहरूमाझ हुने गिरोह हिंसा उन्मूलन गर्नेछ,’ लाउरेले लेखेका छन् । मेयरलाई सघाउन आफूसमेत तयार रहेको लाउरेले स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया