सीताजी भूमिगत भइन् !

मदन भण्डारी २०८० असार ३१ गते १२:१२

सीता रामको शक्ति हुन् । राम हराम भैदिँदा सीताले अनन्त कष्ट भोग्नु पर्‍यो । भगवान्को लीला भनिनु छुट्टै कुरा, मान्छेका रुपमा रामले सीतामाथि घोर अन्याय गरेका छन् । गर्भिणी सीताको वनको बिचल्ली रामायणको सबभन्दा पीडापूर्ण दृश्य हो । हिजो सुगौली सन्धिका बेला नेपाली जनतालाई सीताको यही दुःखले मन बुझाउन सघायो । यही करुण पक्षले रामायणलाई महाभारतभन्दा लोकप्रिय बनायो ।


रामायणलाई हृदयको र महाभारतलाई बुद्धिको महाकाव्य मानिन्छ । महाभारतले राजनीति र रामायणले मान्छेलाई सांसारिकता सिकाउँछ । जीवनमा राजनीति अनिवार्य भए पनि यसको विकृतिले रुखिएको नेपाली मनमा अहिले पनि रामयणकी सीताले शीतलता प्रदान गर्छिन् । रामको राजनीतिले वाक्कदिक्क भएकैले सीता भूभिगत भइन् । धर्ती फाट्नु पर्‍यो; नेपाल आमाको अवस्था यस्तै छ ।


ब्लिया बलिया मान्छेले उचाल्न नसक्ने शिव धनु बालिका सीता टुप्पा टुप्पा समातेर उचाल्दै लिपपोत गर्थिन् । जनकले छोरीको प्रतिभा बुझ्दै आए । विहेपछि सीताले अयोध्यावासीमा राम्रो प्रभाव पारिन् । ‘सीता पतिसँगै वन गइन्…!’ सीतालाई रानीको रुपमा हेर्न चाहने जनता विह्वल बनेका थिए । आमाले यी पंक्ति पढ्दा बालक वालकृष्ण सम रुन्थे अरे । सीताको व्यक्तित्व बुझ्नेहरुले ‘सीतायण’ महाकाव्य लेखेका छन् ।

Advertisement


वन डँढेलोले कालाम्य हुन्छ । सीता परित्याग गर्न लगिएको वन नेपाली वनै हो । ०३७ सालमा सूबथा(सूर्यबहादुर थापा)ले वन बिमाख पारे, त्यसपछिका प्रधानमन्त्रीहरुले सूबथालाई झनै उछिने । अहिले त डँढेलो लगाउने जागिरै दिइन्छ रे । अपवादका मान्छेबाहेक पदक, पुरस्कार पाउने भाँडहरु नै छन् । लक्ष्मण ज्यादै मलिन हुन्छन्, चूँक्क बोल्दैनन् ।

भगवान्को लीला भनिनु छुट्टै कुरा, मान्छेका रुपमा रामले सीतामाथि घोर अन्याय गरेका छन्

Advertisement


‘मेरो दक्षिण नेत्र फुर्छ बहुतै, अहिले कुलक्षण गरी… !,’ सीता भन्छिन्, ‘हे भगवान, जत्ति आपत्ति पर्छ मैलाई परोस्; रामलाई क्यै नपरोस् !’ यस्ती सीताले पटक पटक आफ्नो चरित्रको सफाई दिँदा पनि सुख पाइनन् । अग्नि परीक्षा पास गर्दासमेत धर पाइनन् ।

यसले मान्छेको यौन मनोविज्ञानलाई अत्यन्तै राम्ररी छर्लँग्याउँछ । ‘चोखी’कै खोजमा नेताहरु बाल बलात्कार गर्छन् । निर्मला पन्तको बलात्कारपछिको हत्या टड्कारो उदाहरण हो । मदन राई ससाना नानीरूलाई लिंग देखाउँछ । लोकमान प्ले ब्वाइकै धन्धाले विशाल घर बनाएको बताउँछ । रक्षा नेपालकी मेनुका यस्ता अनेक प्ले ब्वाइको प्रामाणिक कथा सुनाउँछिन् । ससाना खाजा घरमा ससाना तहका मान्छे पक्राउ परिरहन्छन् । यस्तै घटनाको सानो झल्को देखउँदा प्रकाश सपूत झण्डै मारिए !


‘राम मेरा पति हुन् भनेर तिमी पो भन्छ्यौ ती भन्छन् कहाँ
मेरी हुन् यदि भन्दथ्या पनि भन्या आउनु पथ्र्यो यहाँ
मैलाई पति मान आज तिमीले हुन्छु म तिम्रो पति…!’
रावणले फकाउँदा सीता लत्तक्क लत्रिनन्; बरु बघिनी बनेर गर्जिइन्ः
‘पाजी रावण बोल्दछस् कति बहुत् दुर्वाच्य बक्बक् गरी
राघवदेखि डराई छल्न भनी एक सन्यासीको रुप धरी
जस्तै यज्ञविषे हवि कुकुरले हर्छ सोही चालले
राम लक्ष्मण नहुँदा हरिस् तँ बुझिले मर्लास् यसै कालले !’


सीताको यस गर्जनमा नेपाली भाषाको शक्ति पनि प्रदर्शित भएको मानिन्छ । रिसको जुन आवेग यहाँ झल्किन्छ; त्यो मननयोग्य छ । अपहरणकै बेला पनि सीताले विमानबाट गरगहना भुइँमा फालेर बाटोको संकेत गरेकी थिइन् । जटायुले रावणको बाटो रोक्न खोजे; सकेनन् । अहिलेसम्म नेपाली जनताले चुच्चोमा नदीको पानी ओसारेर डँढेलो निभाउन खोज्ने फिस्टे चरीको जस्तो प्रयत्न गरिहेका छन्; अब जटायु बन्नुपर्ने बेला आएको छ । सीताको त्यागले त्यही हुटहुटी दिन्छ ।


लंकाबाट अयोध्या फर्केपछि सीता गर्भवती हुन्छिन् । केहीले राजा रामको आलोचना गर्छन् । राजनीतिमा यस्तो भइरहन्छ ।

रामलाई रावणको भुँडी ततेरेको सम्मको बात लाग्छ । रामले सीतालाई त्याग्छन् । वनमा सीता बारम्बार मूर्छा पर्छिन् ।

रामायणका पाठकको आँसु थामिँदैन । सीताप्रति अपार संवेदना जाग्छ । वाल्मीकिको आश्रममा सीताले लव, कुश २ छोरा हुर्काउँछिन् । रामको अश्वमेध यज्ञको घोडा कुशले रोक्छन् । ब्राह्मण थरका मान्छेहरुले यहीँको एउटा सन्दर्भ सम्झिदिए देशकै लागि ठूलो योगदान हुने थियो ।


घोडाको रखवारी गर्ने फौजको नायक कालजित हुन्छन् । उनले कुशलाई घोडा छाड्न फकाउँछन् । कुश मान्दैनन् । उनी युद्धको हाँकलाई स्वीकार्छन् । अन्त्यमा कालजित भन्छन्, ‘म रथमा छु, तिमी भुइँमा छौ । युद्धै गर्ने भए म तिमीलाई एउटा रथ उपलब्ध गराउँछु; रथमा बसेर लड !’ कुश जवाफ फर्काउँछन्ः


‘ब्राह्मण होइन म दान लिएर कसरी तिम्रा रथैमा चडूँ
फेर् तिम्रै रथमा चडेर कसरी तिम्रा सँगैमा लडूँ
हे कालजित सामथ्र्य छ भने मेरा अगाडि रहू
घोडा दिन्न भन्यो भनेर कि त गई शत्रुघनलाई कहू !’


यहाँ गाँठी कुरा के भने ब्राह्मणको काम पढ्ने, पढ्ने र पढाउने हो । दान लिने र खाने हो, बँच्यो भने बाँडिहाल्ने हो । अहिले मासु, छाला र फलामको काम गर्ने बढी बाहुन नै भए, समय क्रममा यसलाई ठीकै मान्न सकिँदो हो तर थुपार्नकै लागि लुट्ने काममा ब्राह्मणहरु नै अग्रणी छन् । ललिता निवासको लुटपाटमा उच्च स्तरका मानिने ब्राह्मणहरुकै मुख्य भूमिका ठहरियो ।


सीताजीले आफ्ना सन्तानलाई न्यायप्रियताकै पाठ पढाएकी थिईन् । किन त आफैंले त्यत्रो अन्याय खप्नु पर्‍यो ? नीति श्लोक अनुसार लोग्ने मान्छेका लागि पैसाको अभाव दुःख हो; रोग त्योभन्दा ठूलो दुःख हो र चरित्रहीन श्रीमती व्यहोर्नु झनै ठूलो दुःख हो । महान् नेपाली चेली सीताले सम्पूर्ण रुपमा रामलाई खुसी दिइन् । हामी ‘सीताले सारा फिँजाइन्द/क्षिण लंका भारत…’ गीत गाउँछौँ ।


अन्तमा, सीताले फेरि आफ्नो सत्चरित्रताको सफाई पेश गर्नुपर्ने भयो । अपमान बोधले तिनी क्लान्त भइन् । सीताले धर्ती मातालाई आफूलाई समाहित गर्न गुहारिन् र भूमिगत भइन् । अनेक सन्दर्भका कारण यत्तिखेर मिडियामा सीताको नाम चर्चामा छ । हामी सीता माताप्रति अनुगृहित छौँ, नमन गर्दछौँ ।

मदन भण्डारी

साहित्यकार भण्डारी राजनीतिक क्षेत्रमा पनि विश्लेषणात्मक कलम चलाउँछन् 

तपाईको प्रतिक्रिया