फिर्के खोला खोज्दै पाेखरा महानगर

सञ्जय रानाभाट २०८० साउन ३ गते ११:३१

सञ्जय रानाभाट, पोखरा ।
पोखराको बिच भागबाट बग्ने ‘फिर्के खोलाको आकार खोज्न’ पोखरा महानगरपालिकाले प्रविधिक सर्वेक्षण टोली गठन गरेको छ । अतिक्रमणको चपेटामा परेको फिर्केखोलाको वास्तविक आकार पत्ता लगाउन महानगरले प्राविधिक टोली गठन गरेको हो ।


टोलीले नापी नक्सा बमोजिम फिर्के खोलाको सीमांकन गर्ने संयोजक बासुदेव पाडेलले बताए । उनकै नेतृत्वमा १८ सदस्यीय सर्वेक्षण प्राविधिक टोली गठन भएको हो । उक्त समितिले फिर्के खोलाको निरीक्षण गर्ने र नापी नक्सा बमोजिम सिमांकन गर्नेछ । टोलीमा महानगरका अमिन, प्राविधिक र कर्मचारी छन् । टोलीका संयोजक पौडेलले बुधबारबाट सर्वेक्षण सुरु गरिने बताए ।


‘बुधबारबाट हाम्रो २ वटा टोलीले खोला निरीक्षण गर्छौं । नापी नक्सा बमोजिम नै फिर्केको मापदण्ड हेर्छाैं । सोही बमोजिम सिमांकन चिन्ह लगाउँर्छौं,’ संयोजक पौडेलले भने, ‘सुरुमा हाम्रो उद्देश्य फिल्डको स्थिति पत्ता लगाउने र आकार निर्धारण गर्नेमात्र हो ।’

Advertisement


२४ मिटरसम्म फराकिलो यो फिर्के खोला यति बेला कतै देखिन्छ, कतै देखिँदैन । खोला नदेखिनुमा मुख्य कारण मानवीय अतिक्रमण नै हो । खोला आसपास र खोलामाथि समेत मानवीय अतिक्रमण बढ्दो छ । बर्खामा पानीको बहाब बढ्दा मापदण्ड विपरीत निर्मित संरचनाले पानीको निकास पनि हुन सकेको छैन । गत हप्ता फिर्के खोला माथिको वडा नम्बर ५ र ८ जोड्ने राधाकृष्ण मन्दिर नजिकैको पुलमा क्षति पुगेको छ । वर्षाका कारण पुलको तल्लो भाग बगाएको छ । पुल धराप बनेको छ । खोलाको पानीले उचित निकास नपाउँदा पुलमा क्षति पुगेको सरोकारवाला निकाय बताउँछन् ।


खोलामा अतिक्रमण बढ्न थालेपनि मेयर धनराज आचार्यले मापदण्ड विपरीतका संरचना छिट्टै भत्काउने बताउँदै आएका छन् । नवगठित टोलीले मापदण्ड विपरीतको बनेका संरचना र सीमांकन याकिन गर्नेछ । खोलाको वास्तविक जमिन कति हो ? यी सबै विषय निरीक्षण गरेर प्रविवेदन पेश संयोजक पौडेलले बताए । ‘बर्खाको समय छ । कति समय लाग्छ । याकिन छैन । हामी जति सक्दो छिट्टो सक्छाैं । मिलेसम्म खोला ‘वरी पारी’ गरेर ४ वटा टोली बनाएर काम गर्ने योजना छ,’ संयोजक पौडेलले भने ।

Advertisement


पोखरा १८ को अँधेरीकुनाबाट सुरु भएको फिर्के खोला वडा नम्बर १७ र ६ को गाईघाटमा पुगेर फेवातालमा मिसिन्छ । यसको लम्बाई करिब ८ किलोमिटर भएको अनुमान छ तर, चौडाइ भने निरन्तर घट्दै गएको छ । खोलाका किनारदेखि दायाँबायाँ १० मिटरभित्र कुनै संरचना बनाउन नपाइने भए पनि अतिक्रमण बढ्दै गएको छ । ०३२ सालको नक्सा अनुसार फिर्केखोलाले चर्चेको झन्डै १ सय ९२ रोपनी जग्गा विभिन्न व्यक्ति, शक्ति केन्द्र, शिक्षण संस्था, सामाजिक संस्था लगायत जातीय संघ, संस्थाबाट निर्वाधरूपमा अतिक्रमण गरेको अनुमान छ ।


निवर्तमान मेयर मानबहादुर जिसीको पालामा इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा गठिन रेखांकन समितिको प्रतिवेदनले खोला मिचेर १ सय ९२ वटा संरचना बनेको देखाएको थियो । तर, यो संख्या अहिले बढेको हुन सक्ने सरोकारवालाहरु बताउँछन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया