‘लम्पी स्किन’को असरः दूध उत्पादन घट्यो

सञ्जय रानाभाट २०८० साउन ५ गते १०:५०

सञ्जय रानाभाट, पोखरा ।
शोभाखर भण्डारी किसान हुन् । २० वर्षअघि पोखरा ३३ स्थित बाघढुंगामा एउटा गाईबाट सुरु गरेको ‘कृषि फर्म’मा गत आर्थिक वर्षको वैशाखसम्म ७१ वटा गाई पुगेका थिए । तर, यो फर्म २ महिनाको बीचमै फेरि रित्तिदै गएको छ ।


विश्वमा फैलिएको ‘लम्पी स्किन’ रोगको असर ‘भण्डारी गाई फर्म’मा पनि परेको छ । यसकै कारण २५ गाई मरिसकेको भण्डारीले सुनाए । संक्रमणको दर बढिरहेकाले अझै यो संख्या कति पुग्ने हो थाहा छैेन । ‘सुरुमा एउटा गाईले मुखबाट फिज निकाल्यो । हामीले सामान्य लक्षण सोच्यौं । तर, एक, दुई दिनमा त शरीरभरी घाँउ देखिए,’ भण्डारीले भने, ‘यसलगत्तै पशु कार्यालयमा खबर पनि गरें । उहाँहरुले आएर हेरेपछि लम्पी स्किन रोग भएको पुष्टि भयो । त्यो गाईलाई छुट्टै राखेर उपचार गरियो । तर, अरु गाईमा सरिसकेको रै’छ । यसपछि खोप लगाए पनि गाईहरु भकाभक मर्न थाले ।’


बाच्छाबाच्छी र लैना गरी २५ वटा गाई मरेपछि २०/२५ लाखको क्षति पुगेको उनले सुनाए । ‘मर्ने त मरे’ बँचेका गाईले दिने दूध दिन ह्वात्तै घटेको छ । संक्रमित भएपछि ८० प्रतिशतसम्म दूध घटेको उनको भनाइ छ । ‘यसअघि ५ सय लिटर दूध उत्पादन हुन्थ्यो । अहिले २ सय लिटर पनि छैन,’ भण्डारीले भने । महामारीले २० औं वर्षदेखि गर्दै आएको फर्ममा ठूलो क्षति पुगेकाले पोखरा महानगर, प्रदेश र संघ सरकार मिलेर क्षतिपूर्ति बापतको रकम दिनुपर्ने उनको माग छ ।

Advertisement

केही किसानका गोठ रित्ता छन् । अझै खोप उपलब्ध नहुँदा थप पशु मर्ने र बँचेकाले पनि दूध अझै घटाउने जोखिम छ ।


संक्रमणका बारेमा ३ वर्षअघि देखि खोपका अभियान चले पनि यसबारे आफू अनविज्ञ भएको उनले सुनाए । ‘पशु निर्देशनालयले पनि खोप लगाउनुपर्छ भनेर भनेन । अहिले एकैचोटि बज्रपात भयो,’ भण्डारीले भने । भण्डारी फर्ममा मात्र होइन, गण्डकी प्रदेशका ११ वटै जिल्लामा लम्पी स्किन फौलिएको छ । प्रदेशभरी ४८ हजार १ सय ३९ गाईभैंसीमा यो रोगको संक्रमण देखिएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीका अधिकृत सुरज श्रेष्ठले बताए ।

Advertisement


कुनै कुनै किसानका त गोठ नै खाली हुने गरी रोगले गाईभैंसी मरेको श्रेष्ठले बताए । संक्रमितमध्ये करिब ४ प्रतिशत मृत्युदर भए पनि समयमा खोप नलगाउँदा केही किसानका फर्म नै रित्तिएका हुन् । संक्रमणकै कारण पोखरा अर्चलबोटका शिव पराजुलीका तीनमध्ये २ गाई मरे । बाँकी एउटा पनि संक्रमणको उच्च जोखिममा छ ।


गाईलाई खोप लगाए पनि बाच्ने ग्यारेन्टी नभएको पराजुली बताउँछन् । ‘अब एउटा सानो गाई छ । दुई वटा गाई लम्पी स्किनबाट मरे । एउटा गाई त ब्याउने थियो । अहिले गोठ खाली जस्तो भएको छ,’ उनले भने । गण्डकीमा यो रोगबाट १ हजार ८ सय १ वटा गाईभैंसी मरेको निर्देशनालयका अधिकृत श्रेष्ठले जनाए ।


‘प्रदेशभरि गाईभैंसीको संख्या ८ लाख छ । ६० हजार ६ सय ९९ जनावरमा मात्र खोप उपलब्ध गराउन सकिएको छ । त्यस कारण जोखिम टरेको छैन,’ अधिकृत श्रेष्ठले भने । संक्रमण र मृत्युदर हेर्ने हो भने पनि गण्डकीका ११ जिल्लामध्ये गोरखामा सबैभन्दा बढी संक्रमण देखिएको छ भने मृत्युको संख्या कास्कीमा बढी छ । गोरखामा १३ हजार ८ सय ३६ संक्रमण हुँदा १ सय १९ जनावर मरेका छन् । तर, १२ हजार २ सय ७८ जनावरमा संक्रमण देखिएको कास्कीमा ५ सय ५३ गाईभैंसी मरेको पशु विकास कार्यालय कास्की प्रमुख शम्भुराज पाण्डेले बताए ।


खोप अभाव
कास्की जिल्ला दूग्ध सहकारी संघका अध्यक्ष पुण्यप्रसाद पौडेलले संक्रमणका कारण जिल्लामा २५ प्रतिशत दूध उत्पादन घटेको बताए । लम्पी स्क्रिन रोगले गाईभैंसीको मृत्यु हुने र संक्रमण बढिरहेकाले दूधको उत्पादन घटेको हो । यो रोग लागेपछि गाईभैंसीले ८० प्रतिशतसम्म दूध घटाएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीको अनुमान उल्लेख छ ।

निर्देशनालयका अधिकृत सुरज श्रेष्ठ भन्छन्, ‘मर्ने त मरेर गए । दूध घट्ने नै भयो । यता, संक्रमण दर बढ्दा बाँच्ने गाईले पनि ८० प्रतिशतसम्म दूध घटाएको तथ्यांक आएको छ ।’ रोगले आक्रमण गरेपछि खानपानसँगै स्वतः दूध घट्ने गरेको कृषकहरु बताउँछन् ।


संक्रमणदर बढ्दै गए दूध उत्पादन अझै घट्ने पक्का छ । कृषकले गाईभैंसीमा पूर्ण खोप माग गरेका छन् । तर, बजेट अभावकै कारण प्रदेशमा आवश्यकता अनुसार खोप उपलब्ध हुन सकेको छैन । अघिल्लो आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले खोप किन्न १० लाख उपलब्ध गराए पनि यो पर्याप्त नभएको निर्देशनालयका अधिकृत श्रेष्ठ बताउँछन् ।


‘१० लाखको खोप खरिद त ग¥यौं तर, यो पर्याप्त भएन । त्यस कारण जहाँ अहिले रोग फौलिन सक्ने जोखिम उत्तिकै छ,’ अधिकृत श्रेष्ठले भने, ‘चालु आर्थिक वर्षमा पनि सरकारले १ करोड बजेट निर्देशनालयलाई खोपकै लागि दिएको छ । सोही अनुसार अब खोप खरिदको प्रक्रियामा जान्छ र खरिद गर्छौं ।’

अघिल्लो आर्थिक वर्षमा खरिद गरिएको खोप ६० हजार ६ सय ९९ गाईभैंसीमा लगाइएको छ । जब कि गण्डकी प्रदेशमा गाईंभैंसीको संख्या करिब ८ लाख छ । प्रदेशभरीका गाईभैंसीको तथ्यांक हेर्दा चालु आर्थिक वर्षका लागि विनियोजन भएको १ करोड रुपैयाँ पनि पूर्ण खोपका लागि अपुग हुने देखिन्छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया