पृथ्वीचोक–चाइनापुल नाे पार्किङ

फडिन्द्र अकिञ्चन २०८० साउन ७ गते १०:२९
शनिबार पोखराको पृथ्वीचोकमा छुट्नुअघि सडकमै पार्किङ गरी राखिएका गाडी ।

पोखरा ।
पोखरा महानगरको सौन्दर्य र व्यवस्थापनबारे आदर्श अनुमान गर्दै आउनेहरुको मन बसपार्कमा नउत्रिदै कुडिन्छ । बसपार्कको गाटैमा बाँयातर्फको अव्यवस्थित बस्तीले यो पनि अरु सहरझै राजनीतिको दुष्चक्रमा परेको सुइको दिइहाल्छ । त्यसमाथि सडकमै बसपार्क चलाइएको देखेपछि महानगरको बेथिति थप झल्किन्छ ।


आजबाट यस्तो बेथिति अन्त्य गर्न सुरु गरिएको छ । पोखराको अति व्यस्त चोकमध्ये पर्छः पृथ्वीचोक । पोखरा प्रवेश गर्ने र ओलर्नेहरुको जमघट यही हुन्छ । त्यतिमात्र होइन, बसपार्क, तरकारीको होलसेल, सस्तो बजार, संघ, संस्थाका कार्यालय र व्यापारिक मलसमेत यहाँ छन् ।


जिल्ला सुरक्षा समिति कास्कीको बैठकले पृथ्वीचोकदेखि चाइनपुलसम्म सडकको दुवैतर्फ पार्किङ निषेध गर्ने निर्णय गरेको हो । बसपार्क, व्यापारिक मल, तरकारीको होलसेल बजारसमेत रहेको यो क्षेत्रबाट गाडी बाहिरिने र आउने चाइनापुुल साँघुरो छ । जसका कारण यहाँ बारम्बार ट्राफिक जाम भइरहन्छ । पृथ्वी राजमार्ग विस्तार आयोजना अन्तर्गत चाइनापुलमा डबल लेनका २ पुल बनाउन टेन्डर आह्वान भइसकेको छ ।

Advertisement


पोखरा महानगरका मेयर धनराज आचार्यले पृथ्वीचोकदेखि चाइना पुलभित्रको सडकमा आइतबारदेखि कुनै खालका गाडी पनि पार्किङ गर्न नदिइने जनाएका छन् । उनले ड्राइभरबिनाका कुनै गाडी सडकमा पार्किङ गर्न नदिइने उल्लेख गर्दै भने, ‘जिल्ला सुरक्षा समितिले गरेको निर्णय हो । स्थानीय सरकारले दायित्व निर्वाह गर्ने हो । यसको सोझो अर्थ के हो भने अब बाटोलाई नै बसपार्क बनाउन पाइने छैन, बसपार्कभित्रै पुग्नुपर्छ ।’

आजबाट यो क्षेत्रमा ड्राइभरबिनाका कुनै गाडी सडकमा पार्किङ गर्न दिइने छैन । यसको सोझो अर्थ हो, अब बाटोलाई नै बसपार्क बनाउन पाइने छैन ।
धनराज आचार्य
मेयर, पोखरा महानगर

Advertisement


मेयर आचार्यले समाधानसँग भने, ‘न्युरोडमा जस्तो पछि फर्किने अवस्था छैन । सुरक्षा समितिले गरेको निर्णय हो । सबै यातायात व्यवसायी, अरु व्यवसायी, यात्रु र पोखरेलीको सहयोगको अपेक्षा गरेका छौं ।’ जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी गुरुदत्त ढकालले यो क्षेत्रको पार्किङ व्यवस्थापन गर्ने र त्यसका लागि महानगरलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । निर्णयपछि महानगरले शुक्रबार र शनिबार माइकिङ गरी सडकको दुवैतर्फ रहेका राखिएका गाडी हटाउन, मापदण्ड विपरीत बनाइएका संरचना भत्काउन अनुरोध गरेको छ ।


महानगर यायातात व्यवस्थापन समिति संयोजक अमृत तिमिल्सिनाले यो क्षेत्रको सडक व्यवस्थापनका लागि शुक्रबारबाट काम थालिएको जानकारी दिए । उनले भने, ‘जिल्ला सुरक्षा समितिले निर्णय गरेर महानगरलाई भन्यो । कार्यान्वयन गर्न बसपार्कको पूर्वाधार, बाटो नै राम्रो छैन । हिलो हुने, पानी जम्मा हुने खाल्डा पुर्न लागेका छौं ।’


पोखरा आउने र पोखरा बाहिर जाने लामो दूरीका बसलाई बसपार्कभित्रै लगिने भएको छ । यसअघि लामो दूरीका गाडीले पनि सडकमै यात्रु पर्खिने, चढाउने र ओराल्ने गर्दै आएका थिए । पोखरा १६ का वडाध्यक्षसमेत रहेका तिमिल्सिनाले स्थानीय सार्वजनिक सवारीलाई पिक एन्ड ड्रपमात्र गर्न दिइने उल्लेख गरे । पोखरा महानगरले पोखरा बसपार्क र बागलुङ बसपार्कलाई अस्थायी रुपमा व्यवस्थापन गर्न यो वर्ष १ करोड बजेट विनियोजन गरेको छ ।


ट्राफिक कार्यालय कास्की प्रमुख कृष्णबहादुर चन्दले आइतबारबाटै पार्किङ व्यवस्थापन सुरु गरिहाल्ने र केही कठिनाइ आए त्यसको समाधान खोजिने उल्लेख गरे । उनी भन्छन्, ‘आइतबारबाटै लामो दूरीका बस बसपार्कबाट छुटाउने तयारी छ । कतिसम्म धान्छ बसपार्कले हेरौं । केही कठिनाइ आए छलफल गरी समाधानका उपाय निकाल्छौं ।’


उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले निर्णय उचित भए पनि कार्यान्वयन महानगरको इच्छाशक्तिमा भर पर्ने उल्लेख गरे । सर्वसाधारणको भीड हुने सडकमै सवारी पार्किङ हुनु ठीक नभएको जनाउँदै उनले भने, ‘सबै मुख्य सडक र राजमार्गका सडकमै हुने पार्किङ हटाउनुपर्छ । सडकको पार्किङ हटाउन पूर्वतयारी चाहिन्थ्यो, जे होस्, काम सुरु गर्ने भनिएको छ । हुँदै जाला ।’


पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले पूर्वाधार र तयारीबिना बसपार्कबाट गाडी छुटाउने निर्णय गर्दा लागू हुन कठिन हुन सक्ने औंल्याए । उनले बसपार्क प्रवेशको बाटो निर्माण, बसपार्क व्यवस्थापन, शौचालय, प्रतीक्षालय जस्ता संरचना निर्माण गरी यात्रुलाई बसपार्कभित्र जाने वातावरण बनाउनुपर्नेमा जोड दिए ।


अध्यक्ष केसी भन्छन्, ‘हामी बसपार्कभित्रैबाट गाडी छुटाउने, यात्रु पनि बसपार्कमा ओराल्ने तर पूर्व–पश्चिम चल्ने गाडीले सडकबाटै यात्रु चढाए सहमति तोडिन्छ ।’ अहिलेसम्म सडकबाटै गाडी चढ्दै आएका यात्रुलाई बसपार्कभित्रसम्म पुर्‍याउन उचित संरचना, सडक निर्माण र बसपार्क व्यस्थित बनाउनु अत्यावश्यक हुने उनले औंल्याए ।

फडिन्द्र अकिञ्चन

अकिञ्चन समाधान दैनिकका वरिष्ठ उपसम्पादक हुन् । 

तपाईको प्रतिक्रिया