दर्शकको रोजाइमा मौलिक फिल्म

समाधान संवाददाता २०८० साउन ७ गते ११:०२

काठमाडौं ।
चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९/८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रले गरेको कमाईको तथ्यांक सार्वजनिक गरिएको छ । सो तथ्यांकअनुसार नेपालमा स्वदेशी ५७ र विदेशी ७८ चलचित्र प्रदर्शन भएका छन् ।


स्वदेशी ५७ चलचित्र प्रदर्शन हुँदा ७६ करोड ७२ लाख ५७ हजारको व्यापार भएको छ । स्वदेशी चलचित्रतर्फ सर्वाधिक व्यापार गर्न सफल चलचित्रको सूचीमा हेमराज विसीले निर्देशन गरेको ‘छक्का पञ्जा ४’ पहिलो स्थानमा छ । ६ लाख २९ हजार ७ सय ५० टिकट बिक्री भएबापत ‘छक्का पञ्जा ४’ को १७ करोड ५२ लाख ९९ हजार एक सय ५९ ग्रस व्यापार भएको छ ।


हास्य कलाकारको समूहले टेलिशृङ्खलामा पाइरहेको लोकप्रियतालाई ठूलो पर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत चलचित्र निर्माण सुरु गरेका थिए । त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै शृङ्खलालाई अगाडि बढाइरहेको छ ।

Advertisement


सर्वाधिक कमाई गर्ने दोस्रो स्थानमा उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र ‘जारी’ छ । शनिबार प्रदर्शनको सय दिन पूरा गर्ने चलचित्रको गत असार ३१ सम्म बोर्डको विवरण अनुसार ६ लाख १९ हजार २ सय २१ टिकट बिक्री भएबापत १७ करोड १७ लाख ९९ हजार १८ ग्रस व्यापार भएको छ ।


सूचीको तेस्रो स्थानमा सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको ‘प्रेमगीत ३’ छ । ‘प्रेम गीत’ को तेस्रो शृंखलाका रूपमा ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो । चलचित्रको नेपाली भाषामा २ लाख ६९ हजार ८ सय ८ टिकट बिक्री भएबापत ७ करोड ७० लाख ३५ हजार ५ सय ५८ र हिन्दी भाषामा ८३ हजार १ सय ६९ टिकट बिक्री भएबापत २ करोड २७ लाख २९ हजार ८ सय ६७ को ग्रस व्यापार भएको छ ।

Advertisement


चौथो नम्बरमा प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेको चलचित्र ‘महापुरुष’ छ । चलचित्रको २ लाख ४७ हजार सात सय २८ टिकट बिक्री भएबापत ७ करोड ३८ लाख ९१ हजार ९ सय २० को ग्रस व्यापार गरेको छ । पाँचौँ स्थानमा रहेको दीपेन्द्र लामाले लेखन तथा निर्देशन रहेको चलचित्र ‘दुई नम्बरी’ को १ लाख ४१ हजार ७ सय १३ टिकट बिक्री भएबापत ३ करोड ८४ लाख ७५ हजार ७ सय ७० को ग्रस व्यापार भएको छ ।


छैटौँ स्थानमा रहेको रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ को १ लाख २६ हजार ५ सय ४९ टिकट बिक्री भएबापत ३ करोड ५३ लाख २० हजार चार सय ७९ को ग्रस व्यापार भएको छ ।


सार्वजनिक विवरणमा सर्वाधिक व्यापार गर्ने सातौँ स्थानमा रहेको ज्ञानेन्द्र देउजाले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘झिंगेदाउ’ को १ लाख २२ हजार ३ सय २७ टिकट बिक्री भएबापत ३ करोड ४१ लाख १३ हजार २ सय २३ ग्रस व्यापार गरेको छ । बोर्डले सार्वजनिक गरेको तथ्यांकले पनि दर्शकले स्वदेशी चलचित्रतर्फ मौलिक विषयवस्तुलाई रुचाएको प्रस्टिएको छ ।

तपाईको प्रतिक्रिया