पाेखरामा वर्षकै सर्वाधिक वर्षा

ठाउँठाउँमा घर भत्किए, सडक भासिए

सञ्जय रानाभाट २०८० साउन १५ गते १३:२८
मुसलधारे वर्षापछि शनिबार राति पोखरा १६ मा भासिएको सडक । तस्बिर सौजन्यः सोनी पिक्चर्स लामाचौर

सञ्जय रानाभाट, पोखरा ।
सम्साँझै घर धन्दा सकेर शनिबार मैतकुमारी हमालको परिवार ओछ्यानमा पुग्यो । पोखरा १८ मिरुवा घर भएका हमालको परिवार ओछ्यानमा के पुगेका थिए—आकाशबाट मुसालधारे पानी पर्न थाल्यो । बर्खामा पानी पर्नु हमाल परिवारलाई अनौठो लागेको त थिएन, त्यसैले ढुक्कले सुते । तर, मध्यरात एक्कासि घरै बिछ्यौना नै हलचल गर्‍यो । ब्युँझेर हेर्दा उनीहरुको घरमाथि नै पहिरो परिसकेको थियो । पहिरोले ३ कोठे घरमा पूरै क्षति पुगेको छ । मैतकुमारीका १५ वर्षीय छोरा घाइते भएका छन् ।


शनिबार नै पोखरा १८ कै सुन्दरश्याम अधिकारीको घरमाथि पहिरो गयो । उनको घरमा पनि क्षति पुगेको छ । पहिरोमा परेर अघिकारी घाइते भएका छन् । शनिबार राति पोखरामा मुसलधारे पानी पर्‍यो । त्यही पानीले हमाल र अधिकारीको घरमा मात्रै क्षति पुर्‍याएन, धेरै बाटाघाटा भत्कायो र ठाउँठाउँमा पहिरो चलायो । शनिबार २४ घन्टामा भएको वर्षा पोखरामा सन् २०२३ कै सर्वाधिक वर्षा हो ।


अत्यधिक वर्षका कारणले पोखरा १६ स्थित डाँडाथोकमार्गको सडक शनिबार भासिएको छ । सडकमा कुदिरहेको ट्रक खाल्डोमा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक (डिएसपी) श्रवणकुमार विकले बताए । सडक भासिँदा ग१ख ५५०१ नम्बरको टिप्पर खाल्डोमा परेको हो ।

Advertisement


अत्यधिक पानीकै कारणले यस वर्ष पनि वर्षायामको सुरुआतसँगै प्राकृतिक दुर्घटनाबाट क्षति भएको छ । मनसुन सुरु भइसकेपछि कास्कीमा वर्षाजन्य ४२ वटा घटना भएको डिएसपी विकले बताए । डिएसपी विकका अनुसार बाढी ६, चट्याङ १२ वटा र हावाहुरी सम्बन्धी ४ वटा घटना दर्ता भएका छन् । पहिरोबाट १ जना व्यक्ति भएको मृत्यु भएको डिएसपी विकले जानकारी दिए । उनका अनुसार कास्कीमा चट्याङ १, पहिरो ३ जना र चट्याङबाट ६ जना घाइते भएका छन् ।


अत्यधिक वर्षका कारणले शनिबार नै महानगरपालिका १३ काहुँखोलास्थित विजयपुर खोलामा फसेका ४ जनालाई उद्धार गरिएको जानकारी वडाध्यक्ष किरण बरालले दिएका छन् । सेती नदी उर्लिएर आउँदा उनीहरुलाई उद्धार गर्नुपरेको हो । अत्यधिक वर्षपछि माछा मार्न गएका २३ वर्षीय प्रेम सुनार, ४० वर्षीय सुदीप गुरुङ, २८ वर्षीय अर्जुुन विक र १९ वर्षीय क्षितिज नेपालीको सकुशल उद्धार गरिएको थियो । ४ जनालाई नै नेपाल सशस्त्र प्रहरी (कालिका गण) बलको टोलीले उद्धार गरेको हो ।

Advertisement


वर्षाको ऐतिहासिक रेकर्ड
यस वर्षको मनसुन सुरु भएयता शनिबार पोखरामा सर्वाधिक पानी परेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट वर्षा मापन गरिएको हो । जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार शनिबार २४ घण्टामा १ सय ७४.४ मिलिमिटर वर्षा मापन भएको छ । यो सन् २०२३ सुरु भएयताको २४ घन्टामा नापिएको सबैभन्दा धेरै पानी परेको रेकर्ड हो ।


कार्यालयकी मेटिरियोलोजिस्ट रीताकुमारी महतोले यो वर्ष २ हजार २५.४५ मिलिमिटर पानी परेकोमा शनिबार एकै दिन १ सय ७४.४ मिलिमिटर वर्षा मापन गरिएको बताइन् । मेटिरियोलोजिस्ट महतोेका अनुसार पोखरामा सन् २००१ अगस्ट १६ तारिखका दिन सबैभन्दा बढी वर्षा मापन गरिएको छ । उक्त दिन पोखरामा ३ सय ५६ मिलिमिटर वर्षा भएको थियो ।


गत वर्ष सन् २०२२ मा एकै दिन २ सय ४९ मिलिमिटर वर्षा भएको रेकर्ड जल तथा मौसम विज्ञान कार्यालयमा छ । एक वर्षको अवधि हेर्ने हो भने २०२० मा सर्वाधिक धेरै वर्षा भएको रेकर्ड छ । त्यो वर्ष ५४ सय ५४.२६ मिलिमिटर वर्षा भएको महतोले बताइन् । यो ५० वर्षकै अत्यधिक धेरै पानी परेको रेकर्ड हो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया