‘सपना देख्न आँखा होइन, हिम्मत, आत्मबल चाहिन्छ’

सञ्जय रानाभाट २०८० साउन १६ गते १०:४४

सञ्जय रानाभाट, पोखरा ।
हावाको बेगमा आधा घन्टा हराएपछि भुइँमा झरेर नारायणी दवाडीले पहिलो कल गरिन्—‘बाबा म सकुशल उत्रेँ ।’ नारायणीको दोस्रो कल थियो, साथीलाई ‘ल्यान्डिङ भइसकेँ । प्याराग्लाइडिङ गरे अहिले पामे बजारमा ग्राउन्डमा छु । पाइलट दाइले आकाशबाट पोखरा घुमाइदिनुभयो । उडानसँग दाइले पोखराका विभिन्न ठाउँहरुको वर्णन गरिदिनुभयो । उहाँको वर्णले आकाशबाट मैले पोखरा फिल गरे । सम्झदा पनि अनौठो लागिरहेको छ । खुसीलाई व्यक्त गर्न सकिरहेको छैन ।


नारायणी प्रफूल्लित थिइन् । प्याराग्लाइडिङको अनुभव उनको अनुहारको चमकमा प्रष्ट देखिन्थ्यो । सोमबार प्याराग्लाइडिङ गरेका साथीहरु एक ठाउँमा जम्मा भएर खुसी साट्न थाले । नाराणणीले साथी सृष्टि केसीसँग सोधिन्—कस्तो अनुभव भयो ? ‘पाइलट दाइले बादलमाथि पुर्‍याइदिनुभयो । मैले बादल छोइरहेको थिएँ,’ सृष्टिले भनिन्, ‘मेरो यो प्याराग्लाइडिङ अनुभवमा जीवनमा सपना देख्न आँखा होइन । हिम्मत, आत्मबल चाहिन्छ भन्ने लाग्यो ।’

१० जना नेपाली र २ जना विदेशी दृष्टिविहीनले प्याराग्लाइडिङको मजा लिए

Advertisement


उनीहरु मात्र होइन, सोमबार मान्द्रेढुंगाबाट १० जना नेपाली र २ जना विदेशी दृष्टिविहीनले प्याराग्लाइडिङको मजा लिए । त्यो लहरमा क्रिस्टोफर जोन्स, थोमस सेइड लिङ विदेशी हुन् । अमृता खड्का, ओसिम अन्सारी, सेहबाज अन्सारी, समभवि दवाडी, सृष्टि केसी, नारायणी दवाडी, मीना भुजेल, मोमसरा सुनार, चाँदनी शर्मा र रोजिना घिमिरेले प्याराग्लाइडिङ गरेका हुन् ।


सृष्टिबाहेक अन्य ११ जनाको पहिलो अनुभव हो । सृष्टिकै नेतृत्वमा ब्लाइन्ड रक्स संस्थाले उनीहरुलाई प्याराग्लाइडिङ गराएको हो । टोलीमा थिइन्, सुनिता दवाडी । उनले आफूले जिन्दगीमा परिकल्पना पनि नगरेको कुरा खुसी लागेको बताइन् ।

Advertisement


‘हिजोसम्म के होला कसो होला भन्ने थियो । मैसमको कारणले धेरै जनाको धेरैथरी कुरा सुनियो,’ उनले भनिन्, ‘तर, उडान एकदमै सहज भयो । आकाशमा जब हावाको प्रेसरले तलमाथि हुन्थ्यो । त्यो बेला मजा आयो ।’ टोलीकै चाँदनी शर्माले पनि प्याराग्लाइडिङ गर्दा दिन जिन्दगीकै यादगार भएको बताइन् । ‘मैले प्याराग्लाइडिङ गर्ने सोचेको पनि थिइनँ । डर पनि थियो,’ उनले भनिन्, ‘अहिले अहिले त्यो अनुभव बताउन पनि सकिरहेको छैन ।’


अधिकांश उनीहरुले आकाशको उचाइमा पुग्ने सोचेका थिएनन् । सपना त थियो । तर, त्यो पूरा गर्न नसकिने सोचेका थिए । तर, प्याराग्लाइडिङ गरिसकेपछि उनीहरुलाई लागेको छ—हिम्मत गरेपछि जस्तोसुकै काम पनि गर्न सकिँदो रैछ ।’ ‘पोखराको सुन्दरतालाई मनबाट महसुस गरेँ । पाइलट दाइले आज हिमालमा बादल लागेको छ भन्नुभयो । मैले छेकिएको हिमाल पनि मनबाट तानीतानी हेरिरहेको थिए,’ श्रृष्टिले भनिन् ।


आफ्नो दोस्रो अनुभवमा धेरै कुरा फिल गरेको उनले सुनाइन् । ‘ब्लाइन्ड रक्सको मुख्य उद्देश्य नै एड्भेन्चर हो । एड्भेन्चर गर्दा मैले जिन्दगीमा उचाइमा पुग्न सफलतामा पुग्न दृष्टिविहीनले छेक्दैन भन्ने लाग्यो ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया