कास्कीमा १ वर्षमा ४ करोड ३५ लाखको साइबर ठगी

सञ्जय रानाभाट २०८० साउन १७ गते १०:२०

सञ्जय रानाभाट, पोखरा ।
इन्टरनेटको प्रयोग गरेर अनाधिकृत रुपमा एक व्यक्तिको खाताबाट अर्कोको खातामा पुर्‍याई चोरी गरेर कास्कीमा करोडौं ठगी भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले गत आर्थिक वर्ष २०७९/८० मा ४ करोड ३५ लाख रुपैयाँको साइबर ठगी भएको जनाएको छ । फेसबुकमा फेक आइडी बनाएर नजिकैको मान्छे बन्ने र आपत परेको भन्दै पैसा माग्ने जस्ता साइबर क्रियाकलापमा संलग्न भएर करोडौं ठगी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक श्रवणकुमार विकले बताए ।


उनका अनुसार जिल्लामा उजुरी गर्नेहरु सामाजिक सञ्जालबाट झुक्याइएका बढी छन् । ‘साइबर अपराधको प्रकृति हेर्दा विशेष गरी फेसबुक आइडी बनाएर पैसा माग्ने, आइडी ह्याक गर्ने, गाली बेइज्जत, अश्लील वा अमर्यादित कुराकानी गरेर ठगी भएको छ,’ डिएसपी विकले भने ।

फेसबुक आइडी बनाएर पैसा माग्ने, आइडी ह्याक गर्ने, गाली बेइज्जत, अश्लील वा अमर्यादित कुराकानी गरेर ठगी भएको छ

Advertisement


अनलाइनबाट गठी हुनेको संख्या आर्थिक वर्ष ०७८/७९ मा भन्दा गत आर्थिक वर्ष २०७९/८०को संख्या दोब्बर हो । यी दुई वर्षको तथ्यांक हेर्दा अनलाइन ठगीबाट कास्कीमा ७ सय १६ जना पीडित भएका छन् । अनलाइनबाट ठगी भएको भन्दै आर्थिक वर्ष ०७८/७९ मा २ सय ९७ वटा उजुरी परेका थिए । गत आर्थिक वर्षमा ४ सय १९ वटा उजुरी परेका थिए ।


गत आर्थिक वर्षका ४ सय १९ वटा उजुरीको रकम जोड्दा कास्कीमा ४ करोड ३५ लाख ठगी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निवेदन परेकामध्येबाट प्रहरीले समन्वय गरेर ५७ लाख ५२ हजार ७ सय ७० रुपैयाँ पीडितले फिर्ता गराइसकेको डिएपी विकले बताए ।

Advertisement


‘धेरै रकम ठगी हुनेहरु पनि हुनुहुन्छ । हामीहरुले यसको खोजी गरिरहेका छौं । यहाँबाट तालुक कार्यालयमा पनि निवेदनहरु पठाइएको छ,’ डिएसपी विकले भने । जिल्लामा दर्ता भएका उजुरी माथि छानविन भइरहेको डिएसपी विकले बताए । डिएसपी विकका अनुसार निवेदन दिएर आफैं बन्द गर्ने संख्या पनि छ । जसमध्ये आर्थिक वर्ष २०७८/७९ मा १ सय ८० जना थिए । गत आर्थिक वर्ष २०७९/८० मा ७६ जना छन् । यीमध्ये प्रहरीले आवश्यक कारबाहीका लागि आर्थिक वर्ष ७८/७९ मा १ सय १७ वटा तालुक कार्यालयमा पठाएको छ । आर्थिक २०७९/८० का २ सय १९ वटा निवेदन तालुक कार्यालयमा पठाएको छ ।


यसरी अनलाइनबाट ठगी हुने सबैभन्दा बढी महिला छन् । प्रहरीले प्रस्तुत गरेको तथ्यांकमा कास्कीका कुल अंकको २ सय २६ जना महिलामात्र ठगिएका हुन् । यसरी ठगिनेमा महिलाको तुलनामा पुरुषको संख्या भने कम छ । ठगी भएका ४ सय १९ मध्ये १ सय ६६ जना पुरुष हुन् । यसरी ठगिनेमा बालबालिका पनि छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को तथ्यांकमा बालक ४ र बालिका २३ जना छन् । आर्थिक वर्ष २०७९/८० मा बालक ११ र बालिका १४ जना छन् ।


यसरी विद्युतीय तथ्यांक आदान–प्रदानको माध्यमबाट हुने कारोबारलाई भरपर्दो र सुरक्षित बनाउन जिल्ला प्रहरी कार्यालय कास्कीले गत आर्थिक वर्षमा जिल्ला सामुदायिक प्रहरी मार्फत १ सय ४ वटा कार्यक्रम गरेको छ । तर पनि अनलाइन ठगीका क्रियाकलाप झनै बढ्दो छ । विद्युतीय अपराधका घटनाहरू बढ्नुमा राज्यको विद्युतीय सुरक्षा नीति र व्यवस्थापन पक्ष नै फितलो भएको जानकारहरु बताउँछन् ।

विद्युतीय अपराधविरुद्धको अभियानमा राज्यको नीति र लगानीको खाँचो देखिएको उनीहरुले भनाइ छ । सूचना प्रविधि प्रयोगको सबैभन्दा उत्तम प्रयोग र उपयोग गरेर मात्रै यसको जोखिम न्यूनीकरण सकिने उनीहरुको भनाइ छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया