स्पोर्ट्स अवार्डका मनोनयन सार्वजनिक

समाधान संवाददाता २०८१ वैशाख १८ गते १०:४८

पोखरा ।
आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० का लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । स्पोर्टस् अवार्डका ४ विधाको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।


वैशाख २८ गते शुक्रबार पोखरा सभागृहमा हुने अवार्डअन्र्तगत मनोनयनको वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन् । मञ्चका महासचिव राजाराम पौडेलले वर्ष खेलाडी महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरले स्थान बनाएको जनाए ।


१७ वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा हुने उदीयमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, व्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की समावेश बने । उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु पर्न सफल भएका छन् ।

Advertisement


स्पोर्ट्स अवार्डमा कुल ७ विधामा अवार्ड प्रदान गरिनेछ । बाँकी विधा लाइफ टाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ वा क्लब र पत्रकारिता अवार्डको घोषणा पछि सार्वजनिक गरिनेछ ।


वर्ष खेलाडी पुरुष र महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । लाइफ टाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजारसहित ट्रफी पाउने छन् ।

Advertisement


उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकलाई मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । मञ्चले स्पोर्ट्स अवार्डलाई बृहत् बनाउन मञ्चका अध्यक्ष बरालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको जनाएको छ । मुल आयोजक समितिको सहसंयोजकमा मञ्च उपाध्यक्ष श्रेष्ठ छन् । यसका अलावा विभिन्न ११ वटा उपसमितिमार्फत् तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया