सहिद झपेन्द्र र ऋषिको सम्झना

समाधान संवाददाता २०८१ वैशाख १८ गते ११:०४

पोखरा ।
नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले सोमबार सहिद झपेन्द्र कार्की र ऋषि परियारको १७ औं स्मृति दिवस औपचारिक रुपमा पहिलो पटक मनाएको छ । पार्टीको पोखरा महानगर कमिटी, निजामति कर्मचारी संगठनले सहिद दिवस मनाउँदै आएकोमा जिल्ला कमिटी कास्कीको पहिलो बैठकको निर्णय अनुसार कार्यक्रम गरेको अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए ।


कार्यक्रममा झपेन्द्रका छोरा दीपक कार्की र ऋषिकी श्रीमती ईन्द्रमाया परियारलाई दोशल्ला ओढाएर सम्मान गरिएको छ । बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएपछि निरङकुश पञ्चायती व्यवस्थाका पक्षधरले तत्कालीन जिल्ला पञ्चायत कार्यालय कास्कीमा गरेको आगजनीको विरोधमा २०४७ वैशाख १७ गते भएको प्रदर्शनमा प्रहरीको गोली लागेर झपेन्द्र र ऋषिको निधन भएको थियो ।


त्यति बेला गोली लागेर पनि बाँचेका खेम पहारीलाई एमालेले जीउँदो सहिदको उपमा दिएको छ । अध्यक्ष अधिकारीले कास्कीका सहिदहरुको नाममा स्मृति प्रतिष्ठान गठन गर्ने निर्णय गरेको जनाए । उनले सबै प्रतिष्ठानका लागि २५ हजारको दरले बीऊ पुँजी प्रदान गर्ने उल्लेख गरे ।

Advertisement


पार्टीका स्थायी समिति सदस्य थममाया थापाले जनताको बहुदलीय जनवादको मर्मलाई पूरा गर्न मिसन ८४ को नारा तय गरेको जानकारी दिइन् । उनले पार्टीको प्रतिनिधि परिषद्को बैठकले राष्ट्रिय शक्तिको रुपमा पार्टीलाई स्थापित गरेर सुखी नेपाली समृद्ध नेपाल निर्माणको लक्ष्यलाई पूरा गर्ने जानकारी दिइन् ।


‘संगठन बलियो नभएसम्म पार्टीको लक्ष्य र योजनालाई पूरा गर्न सकिन्न,’ उनले भनिन्, ‘एकताबद्ध पार्टीले मात्र राष्ट्रिय आकांक्षा पूरा गर्न सक्छ ।’ उनले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न ध्यान दिने उल्लेख गरिन् ।

Advertisement


पार्टीका केन्द्रीय सदस्य कृष्ण थापाले इमान्दारीपूर्वक अविचलित भएर सहिदको सपनालाई साकार पार्न लाग्ने बताए । उनले पार्टी निर्माण र जोगाउन धेरै कठिन भएको उल्लेख गरे । जीउँदो सहिद खेमका दाइ बलराम पहारीले जनआन्दोलनपछि टोल टोलमा गस्ती गर्ने क्रममा तत्कालीन जिल्ला पञ्चायतमा धुँवाको मुस्लो देखेर निभाउन जाँदा गोली चलेको जानकारी दिए । पहिलो गोली खेमलाई लागेर ६ फिटको तार नाघेर भागेको स्मरण गर्दै उनले खेमलाई गोली लाग्दा लगाएको कपडा अहिले पनि सुरक्षित राखेको सुनाए ।


सहिद झपेन्द्रका छोरा दीपकले कार्यक्रम ल्याएर सहिद परिवारलाई सम्मान गरेकोमा आभार प्रकट गरे । उनले अब सक्रिय राजनीति गर्ने सुनाए । कार्यक्रममा जिल्ला कमिटी कास्कीका उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामाले सहिद दिवसका बारेमा बोलेका थिए । नेकपा (एमाले) वडा कमिटी पोखरा ७ ले सहिद झपेन्द्र स्मृति पार्कमा दीप प्रज्वलन गरेको छ ।

तपाईको प्रतिक्रिया