महासंघको तालाबन्दी जारी राख्ने चेतावनी

समाधान संवाददाता २०८० साउन २३ गते १६:०९

पोखरा ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको प्रथम साधारण सभा ७ बुँदे पोखरा घोषणापत्र जारी गर्दै आइतबार सकिएको छ । सभाले नेपाल पत्रकार महासंघ सदस्यता शुद्धीकरण अभियानमा महासंघ गण्डकीले प्रेस चौतारी नेपालमा आबद्ध क्रियाशील पत्रकारलाई छानीछानी सदस्यता खारेज गरेको भन्दै आपत्ति जनाएको छ ।


उक्त निर्णय तत्काल सच्याउन माग गर्दै महासंघ प्रदेश समितिमा लगाएको तालाबन्दी कायम राखी अझ कठोर संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी चौतारीले दिएको छ । गण्डकी प्रदेश सरकारले प्रस्ताव गरेको आमसञ्चार विधेयकलाई मिडियामैत्री बनाएर यथाशीघ्र पारित गर्न माग गरिएको छ । लोक कल्याणकारी विज्ञापनको रकम घटाउने तथा वितरण प्रक्रियामा विभेद गर्ने परिदृष्य देखिएको भन्दै चौतारीले यस्तो कार्य तत्काल रोक्न आग्रहसमेत गरेको छ ।

पत्रकार महासंघले शुद्धिकरण गर्दा चौतारीका सदस्यलाई छानीछानी हटाएको र महासंघ सरकारको छायाँ बनेको आरोप

Advertisement


अनेक बाहानामा श्रमजीवी पत्रकारलाई सञ्चार माध्यमबाट निष्काशन गर्ने, काम छोड्न बाध्य पार्ने र समयमा पारिश्रमिक उपलब्ध नगराउने जस्ता गतिविधि जारी रहेकाले त्यसलाई तत्काल रोक्न र श्रमजीवी पत्रकारलाई पेशागत सुरक्षाको ग्यारेन्टीको गर्न माग गरिएको छ । सभाको उद्घाटन समारोहका अधिकांश वक्ताले अहिलेको सरकार नागरिकको हितमा नभएको र पत्रकार महासंघ सरकारको छायाँ बनेको टिप्पणी गरे ।


प्रेस चौतारी नेपाल केन्द्रीय अध्यक्ष गणेश बस्नेतले चौतारीका सदस्यलाई छानीछानी महासंघले हटाएको भन्दै विरोध जनाए । यदि चौतारीलाई घेराबन्दीमा पारिए महासंघका देशभरका शाखा तथा एसोसियट शाखामा तालाबन्दी गर्ने उनले चेतावनी दिए ।

Advertisement


एमाले स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रेस चौतारी इन्चार्ज राजेन्द्र गौतमले अहिलेको सरकार जनताको हितमा नरहेको दाबी गरे । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले अहिलेको गण्डकी सरकारले आफूहरुले सुरुआत गरेका कामलाई नै मुख्य उपलब्धि भन्नु हाँस्यास्पद भएको टिप्पणी गरे ।


प्रदेश समिति अध्यक्ष ईन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य डा. सूर्य पाठक, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्ट, एमाले गण्डकी प्रचार संयोजक राजीव पहारी, एमाले प्रदेश कमिटी उपाध्यक्ष मोहन रेग्मी, प्रदेश प्रचार विभाग प्रमुख रश्मि आचार्य, गण्डकी प्रदेश इन्चार्ज सुष्मा पौडेल, महासचिव आश गुरुङ लगायतले बोलेका थिए ।


सभामा चौतारी गण्डकी महासचिव आश गुरुङले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष भविश्वर पाण्डेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएका छन् । सो अवसरमा एमाले केन्द्रीय प्रचार विभाग सदस्यमा चयन भएका गणेश पाण्डे र रामकृष्ण ज्ञवालीलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया