पत्रकार ज्ञवालीको निधनप्रति हुर्जाद्वारा शोक व्यक्त

समाधान संवाददाता २०८० साउन २३ गते १६:१२

पोखरा ।

मानवअधिकार पत्रकार संघ हुर्जाका संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीको निधनप्रति संस्थाले शोक व्यक्त गरेको छ । संघका महासचिव सुशील श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तिमा मानवअधिकार पत्रकार संघ हुर्जाका संस्थापक अध्यक्ष ज्ञवालीको ५५ वर्षको उमेरमा भएको निधनले संघलाई अभिभावकविहीन तुल्याएको उल्लेख छ ।


विज्ञप्तिमा ‘गुल्मीको थोर्गामा जन्मेका ज्ञवाली २०६० सालमा तत्कालीन विद्रोहीको गोलीबाट मृत्यु भएका आफ्नै बुबा भोजराज ज्ञवालीको ब्रेकिङ समाचार पढ्ने पत्रकारसमेत हुन्’ लेखिएको छ ।

Advertisement


शिक्षक सेवा आयोग उत्तीर्णपछि गुल्मीकै मनकामना प्राथमिक विद्यालयमा स्थायी शिक्षण सुरु गरेका ज्ञवालीले २०४५ सालदेखि ग्रामीण पत्रकारिता सुरु गरेका थिए । भावना दैनिक, आदर्श समाज दैनिक र जनसंघर्ष दैनिक, पाल्पा टाइम्स, स्पेसटाइम, पोखरा विमर्श, सम्बोधन साप्ताहिक र विभिन्न अनलाइन माध्यममा आबद्ध हुँदै उनले नेपाल ग्रामीण विकास बैंकको अधिकृतमा उत्तीर्ण भएसँगै शिक्षण छोडेका थिए ।


कवि, लेखक तथा गायकसमेत रहेका ज्ञवालीका पाल्पा रानीघाट, बगाले चरी, यसपाला पोखरा जाम्ला वरिलै, धरती फाट्ला आकाश फाट्दैन, यसपाला बटौली जाम्ला बरिलै, लामाचौरको भिलेज प्रोफाइल हाम्रो लामाचौर गीत र सिर्जनाका फूलहरू कवितासंग्रह प्रकाशित छन् ।

Advertisement


संघर्षमा कलम साहित्य समाजबाट उनको सिर्जनाकर्मको सम्मान गर्दै ऋषिराम रानाभाट स्मृति पुरस्कारबाट पुरस्कृत भएका थिए । पछिल्लो समय प्रेस चौतारीको सदस्यतासँगै उनलाई शहीद परिवारकारूपमा नेपाल कम्प्युनिस्ट पार्टी एमालेले २०७९ चैत १३ गते अभिनन्दन गरेको थियो । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपचारका लागि बुटवल झरेका ज्ञवालीको अस्पताल नपुग्दै शुक्रवार हृदयघातका कारण निधन भएको थियो ।


उनका एक श्रीमती, एक छोरा र छोरी छन् । छोरा नेपालमै १०+२ अध्ययनरत र छोरी असीम ज्ञवाली उच्च शिक्षाका लागि अस्टे«लिया थिइन् । छोरी नेपाल आएसँगै आइतबार साँझ ज्ञवालीको कालीगण्डकी तटमा अन्तिम संस्कार गरिएको छ । २०७८ सालमा आमा यमकला ज्ञवालीको निधनपछि गुल्मीको थोर्गा पुगेका उनी हाल जन्मथलोबाटै सञ्चारकर्ममा क्रियाशील थिए ।

तपाईको प्रतिक्रिया