१ लाख गाईभैँसीलाई खोप

समाधान संवाददाता २०८० साउन २४ गते ११:३८

गण्डकी ।
गण्डकी प्रदेशका १ लाख ३ हजार २ सय ३० गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । गाईभैँसीमा फैलिएको उक्त रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन गरिएको हो ।


प्रदेशमा ८ लाख ५४ हजार ९ सय २५ गाईभैँसी रहेकामा हालसम्म १२ दसमलव ०७ प्रतिशत गाईभैँसीलाई मात्र खोप दिइएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिए ।


प्रदेशका ११ वटै जिल्लामा लम्पी स्किनको सङ्क्रमण देखिएपछि गत आवको अन्तिममा प्रदेश सरकारले बजेट रकमान्तर गरेर खोपका लागि १ करोड बजेट छुट्याएको थियो । जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रमार्फत ५१ हजार ४ सय, स्थानीय तहबाट ४६ हजार ७ सय २ र किसानले आफ्नै खर्चमा ५ हजार १ सय २८ डोज खोप लगाएको मन्त्रालयले जनाएको छ ।

Advertisement

गण्डकीमा हालसम्म करिब ७० हजार गाईवस्तु लम्पी स्किनबाट संक्रमित भएका छन्


महाशाखा प्रमुख डा न्यौपानेका अनुसार गण्डकीमा हालसम्म ६९ हजार ८ सय ४१ गाईवस्तु लम्पी स्किनबाट संक्रमित भएका छन् । प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ स्थानीय तहका पशुचौपायामा सो रोगको संक्रमण देखिएको छ । मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड र मनाङको मार्फाभूमि गाउँपालिकामा अहिलेसम्म उक्त रोगको संक्रमण देखिएको छैन ।

Advertisement

यो रोग लागेर हालसम्म ३ हजार २ सय ४७ गाईवस्तुको मृत्यु भएको छ भने ३१ हजार ३ सय ५ निको भएका छन् । ३८ हजार ५ सय ३६ गाईभैँसी अहिले पनि संक्रमित अवस्थामा छन् ।


महाशाखा प्रमुख डा न्यौपानेले मनाङ र मुस्ताङ जिल्लामा भने उक्त रोग नियन्त्रणमा आएको जानकारी दिए । प्रदेशका बाँकी ९ जिल्लामा पनि संक्रमणदर घट्दै गएको छ । ‘जिल्लामा रहेका भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ, सङ्क्रमित पुश भेटिए तुरुन्त औषधोपचार गर्ने गरिएको छ’, महाशाखा प्रमुख डा न्यौपानले भने, ‘प्रकोप रोकथाम तथा नियन्त्रणका लागि जनस्तरमा सचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन भइरहेको छ ।’


संक्रमित गाईभैँसीको ओसारपसार नै यो रोग फैलिनुको मुख्य कारण रहेको पशु चिकित्सक बताउँछन् । चरिचरनमा लैजाँदा, एउटै पोखरीको पानी खुवाउँदा, साझा सुइँको प्रयोग, लामखुट्टे, किर्नाको टोकाइ आदिबाट ‘लम्पी स्किन’ गाईभैँसीमा सर्ने गरेको डा न्यौपानेले उल्लेख गरे ।

लम्पी स्किन रोगको औषधि पत्ता नलागेका कारण खोप नै बढी प्रभावकारी हुने अवस्था छ । ‘लम्पी स्किन’ रोग लाग्दा गाईभैँसीमा उच्च ज्वरो आउने, तौल घट्ने, छालामा गाँठागुँठी आउने जस्ता लक्षण देखिन्छन् ।

तपाईको प्रतिक्रिया