‘सरकारी कामकाजको भाषा गुरुङ बनाऊ’

समाधान संवाददाता २०८० साउन २५ गते ११:०७

पोखरा ।
तमु धिं नेपालले गण्डकी प्रदेशमा गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको छ । मातृभाषामा पठनपाठनको व्यवस्था गर्न आग्रह गर्दै गुरुङका गाँउठाँउको नाम पुनः गुरुङ भाषामै राख्न तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले माग गरे ।


२९ औं विश्व आदिवासी दिवसको अवसरमा तमु धिं नेपालले आयोजना गरेको कार्यक्रममा अध्यक्ष गुरुङले संविधानले प्रदान गरेको भाषिक अधिकार सुनिश्चित गर्न माग गरे । पूर्व मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य पञ्चराम गुरुङले गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन कानुन निर्माण गर्न आवश्यक रहेको बताए । भाषिक सामुदायिक, साँस्कृतिक अधिकारलाई कार्यान्वयनमा लैजान पनि आवश्यक कानुन निर्माण गर्नुपर्ने उनले उल्लेख गरे ।


गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङले लामो समयदेखिको आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत हुन नसकेको तर्क गरे । ‘संविधान तथा कानुनमा व्यवस्था भएका अधिकारलाई अनुभूत हुने गरी कार्यान्वयन गर्नका लागि दबाबमूलक कार्यक्रम आवश्यक पर्छ,’ उनले भने, ‘आदिवासी जनजाति सचेत र संगठित भएर नलागेसम्म भाषिक, सामाजिक, सांस्कृतिक लगायत मौलिक अधिकार सुनिश्चित हुन सक्दैनन् ।’

Advertisement


गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले आदिवासी जनजातिका अधिकार स्थापित गर्न आदिवासी जनजातिको एकता जरुरी रहेको औंल्याइन् । प्रदेश सभामा विधेयक, ऐन, कानुन बनाउन दबाबमूलक भूमिका खेलको दाबी गर्दै उनले आदिवासी जनजातिको भाषिक लगायतका अधिकार स्थापित गर्न विशेष भूमिका खेल्ने प्रतिवद्धता गरिन् ।


तमु प्ये ल्हु संघ केन्द्रीय समितिका कार्यवहाक अध्यक्ष ओमबहादुर गुरुङले मातृभाषाको अधिकार सुनिश्चित हुनुपर्ने बताए । बौद्ध अर्घौ सदनका उपाध्यक्ष चन्द्रप्रसाद गुरुङले भाषिक, सांस्कृतिक, धार्मिक अधिकारलाई कुण्ठित गर्न षड्यन्त्र भइरहेको दाबी गरे ।

Advertisement


नेपाल तामाङ घेदुङ कास्कीका सचिव मीनमाया तामाङले भाषा तथा संस्कृति मासिए भूगोलको अर्थ नहुने तर्क गरिन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी इन्चार्ज एमबी आस्थामगरले मातृभाषाको महत्वबारे चर्चा गरे ।


कार्यक्रममा तमु धिं नेपालकी महासचिव जुनाकुमारी गुरुङले सरकारी कामकाजमा मातृभाषाको अभ्यास र गण्डकी प्रदेशमा गुरुङ र मगर मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने आधारसहितको कार्यपत्र पेश गरिन् । कार्यक्रममा तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ र सचिव जुमकाजी गुरुङले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया