लामेआहालमा फोहोर व्यवस्थापन गर्न स्थानीयसँग सहमति

समाधान संवाददाता २०८० साउन २५ गते ११:१७

पोखरा ।
पोखरा ३२ लामेआहालका बासिन्दा अब डेढ वर्षसम्म पोखरा महानगरको अस्थायी ल्यान्डफिल साइट त्यहाँ चलाउन दिन सहमत भएका छन् । पोखरा महानगरपालिका र लामेआहालमा फोहोर विसर्जनविरुद्ध गठित संघर्षसमितिबीच सहमति जुटेपछि बुधबार बिहान यसबारे औपचारिक हस्ताक्षर गरिने तय भएको छ ।


पोखरा ३२ का राजनीतिक दलका प्रतिनिधि एवं प्रभावित क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधिको रोहबरमा सहमति जुटेको हो । स्थानीयसँग सहमतिका लागि महानगरको कार्यपालिका बैठकले फोहोरमैला व्यवस्थापन समितिका संयोजकसमेत रहेका पोखरा ३३ का अध्यक्ष रामचन्द्र अधिकारी र पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले पहल गरेका थिए ।


सहमतिपछि महानगरले डेढ वर्षसम्म त्यहाँ फोहोर व्यवस्थापन गर्न पाउनेछ । सो अवधिमा पनि खाडल नपुरिएमा स्थानीय र महानगरले अर्काे सहमति गर्न सक्ने छन् । स्थानीयसँग सहमति जुटाउन महानगरले सो क्षेत्रका ४ स्कुललाई ठूलो रकम दिने भएको छ । कालिका आधारभूत स्कुललाई ७ लाख, गोगन माविलाई २५ लाख, हिमालय आधारभूत स्कलुलाई ५ लाख र सीता आधारभूत स्कुललार्य ५ लाख अनुदान मागिएको छ ।

Advertisement


फोहोरका गाडीहरु बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म ल्याडफिलमा प्रवेश गरिसक्नुपर्ने र त्यसपछि तत्कालै माटोले फोहोर पुर्ने प्रावधान सहमतिपत्रमा छ । त्यसरी ल्याइएको फोहोर वर्गीकरणबिनै व्यवस्थापन गर्ने र कवाडीजन्य पदार्थ संकलन गर्न रोक्न दुवै पक्ष सहमत भएका छन् । महानगर र स्थानीय लेखनाथमा क्षेत्रीय बसपार्क निर्माणको सुनिश्चिता गर्नसमेत एक मत भएका छन् ।


फोहोर फाल्न दिएपछि महानगरले तत्कालै पोखरा ३२ को सहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य प्रवद्र्धन केन्द्रमा स्तरोन्नतिसँगै २ अनमी र १ अहेवको तत्काल व्यवस्था गर्ने भएको छ । प्रभावित क्षेत्रका स्थनीयको स्वास्थ्य बिमा गरिने भएको छ । फोहोर व्यवस्थापन गरिएको क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन तत्काल महानगरले गर्ने छ भने फोहोर विसर्जन स्थलबाट दुर्गन्ध नआउने गरी किटनाशक औषधी छर्किइनेछ । स्थानीयलाई सीपका आधारमा रोजगारीमा प्राथमिकता दिने र अहिलेको संघर्ष समिति विघटन गरी वडामा क्रियाशील राजनीतिक दलका प्रमुखसमेत सम्मिलित अनुगमन समिति बनाइने भएको छ ।

Advertisement


पोखरा महानगरको फोहोर १२ दिनपछि मंगलबारबाट उठाउन थालिएको हो । पोखरामा दैनिक १ सय टन जति फोहोर संकलन हुन्छ । पोखरा ३२ का रविन केसीसहित ३ जनाले लामेआहालमा फोहोर फाल्न रोक्न माग गर्दै पोखरा महानगरविरुद्ध रिट दायर गरेका थिए । रिटमा उच्चले फोहोर फाल्न रोक्न अन्तरिम आदेश दिनु आवश्यक नहुने आदेश सुनाएको थियो ।


महानगरले पुस दोस्रो साता पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लामेआहालस्थित सेती नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको छ । फोहोर व्यवस्थापन उचित तवरले नहुँदा दुर्गन्ध फैलिएको, सडक कच्ची हुँदा हिलो र धुलोले सास्ती दिएको भन्दै स्थानीयले फोहोर फाल्न अवरोध गरेका थिए ।


पोखरा ३३ मा महानगरले आधुनिक फोहोर प्रशोधन केन्द्र बनाउँदै छ । यो केन्द्र बनेर सञ्चालनमा आउन अझै कम्तीमा २ वर्ष लाग्ने बताइन्छ । सोमबार बसेको जिल्ला सुरक्षा समिति कास्कीको बैठकले फोहोर विर्सजनको काममा भएको स्थानीय अवरोधलाई समन्वयात्मक ढंगले हटाउँदै फोहोर बिसर्जन गर्ने निर्णय गरेको थियो ।


फोहोरमैलाको दिगो समाधानका लागि स्थायी प्रशोधन केन्द्र सञ्चालनका लागि जग्गा प्राप्तिको प्रक्रिया भएको छ । पोखरा महानगरका मेयर धनराज आचार्यले स्थानीयसँग भएका सहमति अक्षरंश लागू गर्ने प्रतिवद्धता जनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया