मदन पुरस्कारका लागि ५ कृति छनोट

समाधान संवाददाता २०८० साउन २५ गते १३:१५

काठमाडौं ।
मदन पुरस्कार गुठीले २०७९ सालको मदन पुरस्कारका लागि ५ कृति छनोट गरेको छ । विसं २०७९ मा गुठीलाई प्राप्त भएका ३ सय १३ पुस्तकमध्येबाट ५ पुस्तक छनोट गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


वर्णानुक्रमानुसार छनोट भएका पुस्तकमा सुविन भट्टराई (इजोरिया), विवेक ओझा (ऐँठन), द्वारिकानाथ ढुंगेल (चक्रब्यूहमा नेपालको जलस्रोत), प्रगति राई (थाङ्ग्रा) र सञ्जय विष्ट (माटाको घर) छन् । छनोटमा परेका ५ पुस्तकबाट छनोट गरी १ लाई २०७९ सालको मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ ।


मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट मदन पुरस्कारको स्थापना २०१२ सालमा भएको हो । मदन पुरस्कारको पहिलो घोषणा २०१३ सालमा भएको थियो । सम्मान कार्यक्रम भने २०१४ सालमा गरिएको हो । गुठीको निर्णय अनुसार प्रारम्भमा सम्मान पुरस्कारको रकम ४ हजार थियो । समयक्रममा बढ्दै २०७५ सालदेखि ४ लाख राशिको मदन पुरस्कार प्रदान गरिन्छ ।

Advertisement


विसं २०१३ मा पहिलो पटक ‘हाम्रो लोक संस्कृति’ का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापा’ का लागि चित्तरञ्जन नेपाली तथा ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गरेका जिए । जोशीले ३ पटक मदन पुरस्कार पाएका थिए ।


रानी जगदम्बाको निधनपछि उनकोस्मृतिमा गुठीले २०४५ सालमा ‘जगदम्बा–श्री’ सम्मान स्थापना गरेको थियो । १ लाख राशिको सम्मान २०४५ सालदेखि नै समर्पण गर्न थालिएको हो । ‘मदन पुरस्कार’ १ वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिमध्ये एक कृतिलाई सम्मान गरिने पुरस्कार हो । ‘जगदम्बा–श्री’ नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति वा संस्थालाई सम्मान गर्ने गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया